१२ फागुन, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिङ्गो दलित समुदायको उत्थानका लागि शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेकपा मुख्यालय पेरिसडाँडामा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीले प्रतिबद्धतापत्रमा शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्ने विषयलाई उच्च प्राथमिकता दिइएको बताएका हुन् ।
‘त्यो प्राधिकरणले दलित समुदायको समग्र विकासलाई मार्गनिर्देश गर्नेछ,’ उनले भने । संयोजक दाहालले राज्यका सबै तहमा दलित समुदायलाई विशेषाधिकार हुनुपर्ने कुरामा आफू लड्दैआएको बताए ।
‘संविधानसभाबाट जारी नेपालको संविधानमा दलितका हकअधिकार लिपिबद्ध गरिएको छ,’ उनले भने, ‘त्यो अझै पर्याप्त छैन, हामीलाई विशेषाधिकार प्राप्त गर्नुछ ।’
विगतमा आफ्नो नेतृत्वमा सरकार रहेका बेला दलित विकास प्राधिकरण बनाउने निर्णय भएको पनि प्रचण्डले सुनाए । ‘कार्यान्वयनका लागि बजेट पनि विनियोजन गरेको थिएँ, पछि बनेको सरकारले त्यसलाई अघि बढाएन,’ उनले भने ।
प्रतिक्रिया 4