काठमाडौं । भारतको केद्रीय मन्त्रिपरिषद्ले ‘केरल’ राज्यको नाम परिवर्तन गरी ‘केरलम’ राख्ने प्रस्तावलाई स्वीकृति दिएको छ । यस निर्णयले मलयालम भाषामा प्रचलित राज्यको मौलिक नामलाई औपचारिक मान्यता दिने बाटो खोलेको छ ।
नाम परिवर्तनको विषय पछिल्ला केही वर्षदेखि चर्चामा थियो । यससँग पौराणिक कथा, ऐतिहासिक सन्दर्भ र भाषिक तर्कहरू परशुरामको कथादेखि मौर्य सम्राट अशोकका शिलालेखसम्म जोडिएका छन् ।
‘केरल’बाट ‘केरलम’ किन ?
२४ जुन २०२४ मा केरल विधानसभाले ‘केरल’लाई ‘केरलम’ परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो । प्रस्तावमा लेखिएको छ– राज्यको नाम मलयालम भाषामा ‘केरलम’ नै हो । १ नोभेम्बर १९५६ मा भाषिक आधारमा राज्यहरूको पुनर्गठन हुँदा केरल गठन भएको थियो र प्रत्येक वर्ष १ नोभेम्बरमै केरल पिरावी दिवस मनाइन्छ । तर भारतीय संविधानको पहिलो अनुसूचीमा भने ‘केरल’ नै उल्लेख छ । त्यसैले संविधानिक नाम र स्थानीय भाषिक पहिचानबीचको भिन्नता सच्याउने प्रयासका रूपमा यो पहल अघि बढाइएको हो ।
भाषिक पहिचान र मलयालम
केरल भाषिक आधारमा बनेको राज्य हो । यहाँको मातृभाषा मलयालम हो । मलयालममा राज्यलाई ‘केरलम’ भनिन्छ । स्थानीय बोलिचालीमा ‘केरलम’ प्रचलित भए पनि अंग्रेजीमा ‘प्भचबबि’ प्रयोग हुँदै आएको छ । नाम परिवर्तनले यही स्थानीय पहिचानलाई औपचारिकता दिन खोजेको देखिन्छ ।
परशुरामको कथा : समुद्रबाट निस्किएको भूमि
पौराणिक कथाअनुसार भगवान विष्णुका छैटौं अवतार परशुरामसँग केरलको सम्बन्ध जोडिन्छ । केरोलपोथी (केरलको लोक कथाको ग्रन्थ) लगायत विभिन्न पुराणहरूमा यसको वर्णन गरिएको छ ।
भनिन्छ धरतीमा क्षेत्रीयहरुलाई नाश गरेका परशुराम लगातारको संघर्षबाट क्रोधित र थकित भए तब उनले ठूलो यज्ञ लगाए । यस यज्ञमा उनले सारा धरती महादेवलाई दान गरे । यसप्रकार धरतीमाथि अब उनको कुनै अधिकार रहेन । परशुरामसँग अब हतियारको रुपमा एउटा बन्चरो मात्र बाँकी रह्यो ।

परशुरामले सबै भूमि दान गरिसकेपछि तपस्याका लागि बस्न चाहिने अलिकति भए पनि भूमि मागे । तर परशुरामले सबै धरती पहिल्यै महादेवलाई दान दिइसकेकाले फिर्ता पाउन सक्ने अवस्था भएन ।
त्यसपछि महादेवले वरुण देवतालाई यो समस्याको समाधान निकाल्न भने । वरुणले परशुरामलाई समुद्र किनारमा लगे र भने– यहाँबाट जति भूमि चाहिन्छ, त्यति लैजाउनुस्, समुद्र पछि हट्ने छ ।
त्यसपछि परशुरामले आफ्नो बन्चरो उठाएर समुद्रमा फ्याँके । बन्चरो खसेको ठाउँबाट समुद्रको पानी पछि हट्यो । जमिन देखियो । जलबाट निस्किएको त्यही भूमिलाई ‘केरल’ भनिएको हो । ‘केर’ अर्थात् जल र ‘अलम’ अर्थात् भूमि (जलबाट निस्किएको भूमि)को रुपमा ‘केरल’ नाम रहन गएको विश्वास गरिन्छ ।
अशोकका शिलालेखमा ‘केरलपुत्र’
इतिहासतर्फ हेर्दा, मौर्य सम्राट अशोक (अशोका) का ईसा पूर्व तेस्रो शताब्दीका शिलालेखहरूमा ‘केरलपुत्र’ शब्द भेटिन्छ । यसको अर्थ ‘केरलको पुत्र’ वा ‘केरलका शासक’ हुन्छ । इतिहासकार आरसी मजुमदारले पनि आफ्नो किताब ‘एनसेन्ट (प्राचीन) इण्डिया’ मा पनि केरेलपुत्र शब्द प्रयोग गरेका छन् ।
चेरा वंश र नामको विकास
दक्षिण भारतका प्राचीन चेरा, चोल र पाण्ड्य वंशमध्ये चेरा वंशसँग ‘केरल’ नाम जोडिएको मानिन्छ । कतिपय विद्वानका अनुसार चेरा शासित क्षेत्र समयसँगै ‘चेरालम’ भनियो, जुन क्रमश: ‘केरलम’ मा रूपान्तरित भयो । द्रविड भाषाहरूमा ‘च’ र ‘क’ ध्वनिको अदल–बदल पाइने भएकाले ‘चेरा’ बाट ‘केरा’ र त्यसपछि ‘केरल’ बन्नु असम्भव मानिँदैन ।
‘केरा’ अर्थात् नरिवल
‘केरा’ शब्दको अर्थ नरिवलको रूख र ‘आलम’ को अर्थ स्थान भन्ने व्याख्या पनि प्रचलित छ । यस हिसाबले ‘केरल’ को अर्थ ‘नरिवलको भूमि’ हुन्छ । तटीय भूगोल र नरिवलको प्रचुर उत्पादनका कारण यो व्याख्या लोकप्रिय छ, यद्यपि यसलाई ठोस ऐतिहासिक प्रमाणका रूपमा स्वीकारिँदैन ।
पर्वतीय ढलान र भूगोल
पश्चिमी घाट पर्वतमालाको समुद्रतर्फ झर्ने ढलान र तटीय मैदानलाई स्थानीय रूपमा ‘चराल’ भनिने विश्वास पनि छ । ‘चराल’ बाट ‘चेराल’, ‘चेरालम’ हुँदै ‘केरलम’ बनेको हुनसक्ने भाषिक तर्क प्रस्तुत गरिन्छ ।
यसरी ‘केरल’ नाम दुई हजार वर्षभन्दा लामो ऐतिहासिक, सांस्कृतिक र भाषिक यात्राको परिणाम मानिन्छ ।
‘केरल’ बाट ‘केरलम’ मा रूपान्तरण केवल एक अक्षर थप्ने विषय होइन; यो स्थानीय भाषा र पहिचानलाई संवैधानिक मान्यता दिने प्रयासका रूपमा हेरिएको छ ।
प्रतिक्रिया 4