१५ फागुन, काठमाडौं । नेकपा एमालेका तर्फबाट झापा–२ मा प्रतिनिधिसभा उम्मेदवार रहेका पूर्व सभामुख देवराज घिमिरेले महाकाली सन्धिबारे आफू स्पष्ट रहेको दाबी गरेका छन् । पछिल्लो समय आफू सामाजिक सञ्जालमा ‘अल्गोरिदम बायस’बाट पीडित भएको भन्दै पूर्व सभामुख घिमिरेले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
‘महाकाली सन्धिका विषयमा सामाजिक सञ्जाल र कतिपयले व्यक्तिगत रूपमा पनि जिज्ञासा राख्नुभएको छ । मैले यस विषयलाई धेरै गम्भीरता साथ लिएको थिइनँ । धेरैमा भ्रम पनि देखियो,’ घिमिरेले लेखेका छन्, ‘महाकाली सन्धिबारे म स्पष्ट छु । जो प्रश्न सोधिरहनुभएको छ, मैले जवाफ पनि दिइहरेको छु ।’
‘घृणाको राजनीति गर्नेलाई’ एक पटक सन्धिको अध्ययन गर्न उनले आग्रह गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘जसले घृणाको राजनीति गर्न खोजिरहनुभएको छ, उहाँहरूलाई कम्तीमा सन्धिबारे अध्ययन र विश्लेषण गर्न अनुरोध गर्दछु ।’
केही दिनअघि आफूलाई एक व्यक्तिले ‘भाइरल बनाउने नियतले’ भिडियो खिचेर त्यही कुरा सोधेको घिमिरेले लेखेका छन् । ‘मैले नियोजित हो भन्ने थाहा पाएपछि जवाफ नदिएको हो । अहिले त्यो भिडियो अमुक दलको प्रचार सामग्री बनेछ,’ पूर्व सभामुख घिमिरेले लेखेका छन् ।
आफूले कुनै पनि सन्धिमा हस्ताक्षर नगरेको उनले दाबी गरेका छन् । ‘म उक्त समयमा सांसद थिइनँ, मन्त्री थिइनँ र राज्यको कुनै पनि ओहदामा थिइनँ,’ उनले लेखेका छन्, ‘लोकतान्त्रिक पार्टीमा बहस र छलफल हुन्छ । पार्टीमा मेरो मत जाहेर गरेको हुँ । मसँगै थुप्रै नेताले पक्ष विपक्षमा बहस गरेका थियौँ । भएको यत्ति हो ।’
पार्टीको वैकल्पिक केन्द्रीय सदस्यले कुनै हैसियतमा छिमेकी देशसँग सन्धि गर्दछ भन्ने पनि नबुझेको देख्दा आफूलाई दिक्दारी लागेको घिमिरेले भनेका छन् ।
‘म ५० वर्षदेखि राजनीति गरिरहेको छु । राजनीति मेरो पेसा होइन, सेवा हो । बिना श्रमको पैसा एक रुपैयाँ लिएको छैन । मैले ओहोदा र प्राप्तिका लागि राजनीति गरेको छैन,’ उनले भनेका छन् ।
तीन वर्षअघि राजकीय जिम्मेवारी(प्रतिनिधिसभाको सभामुख) प्राप्त हुँदा आफूले इमानदारिताका साथ काम गरेको र झापा–२ का लागि आफूले दिनेसम्म योगदान दिएको उनले दाबी गरेका छन् ।
प्रतिक्रिया 4