+

चिन्ता र पेटको स्वास्थ्यबीच के सम्बन्ध छ ?

२०८२ फागुन  १८ गते १५:१९ २०८२ फागुन १८ गते १५:१९
चिन्ता र पेटको स्वास्थ्यबीच के सम्बन्ध छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गट र मस्तिष्कबीचको जडानले चिन्ता, तनाव र पाचनसम्बन्धी समस्याहरू एकअर्कासँग जोडिएका छन् भन्ने अध्ययनहरूले देखाएका छन्।
  • गटमा ९० प्रतिशत सेरोटोनिन उत्पादन हुन्छ, जसले मस्तिष्कमा पुगेर चिन्ता र खुसीलाई प्रभावित गर्छ भन्ने डा. खलील मियाले बताउनुभयो।
  • गट–ब्रेन एक्सिस द्विपक्षीय जडान हो जसले एन्जाइटी बढ्दा गटमा नकारात्मक असर पुर्‍याउँछ र पाचनसम्बन्धी समस्या निम्त्याउन सक्छ।

स्वस्थ रहनका लागि केवल शारीरिक स्वास्थ्य मात्र पर्याप्त हुँदैन, मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यदि शारीरिक वा मानसिक कुनै पनि पक्षमा समस्या देखियो भने समग्र स्वास्थ्य प्रभावित हुन्छ । गट (आन्द्रा) को स्वास्थ्य र एन्जाइटी (चिन्ता) बीचको सम्बन्धबारे जान्नु जरुरी हुन्छ ।

यस सम्बन्धलाई बुझ्नुले दुवैलाई नियन्त्रण गर्न मद्दत गर्छ । गट र मस्तिष्कबीचको जडानले चिन्ता, तनाव र पाचन सम्बन्धी समस्याहरू एकअर्कासँग जोडिएका छन् भन्ने कुरा अध्ययनहरूले समेत देखाएका छन्।

जब तनाव बढ्छ, पेटमा समस्या आउन सक्छ, र पेटमा समस्या हुँदा पनि तनाव बढ्न सक्छ । हामीमध्ये धेरैले यो अनुभव गरेका हुन्छौँ ।

विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’को रिपोर्ट अनुसार विश्वभरि करिब २६४ मिलियन मानिसहरू डिप्रेसनबाट पीडित छन् । डब्लुएचओले डिप्रेसनलाई सामान्य मानसिक विकार मानेको छ, तर यो बढ्दै गएमा गम्भीर समस्या बन्न सक्छ । एन्जाइटी पनि लामो समयसम्म रहिरहँदा मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्छ । यसबाहेक, हालका अनुसन्धानहरूले देखाएका छन् कोभिड–१९ महामारीपछि चिन्ता र डिप्रेसनका घटनाहरू बढेका छन्, जसमा गट स्वास्थ्यको भूमिका महत्वपूर्ण छ ।

यस महामारीले आर्थिक समस्या, पारिवारिक वेमेल र तनाव बढाएको छ, जसल गट माइक्रोबायोमलाई असर पार्छ र मानसिक स्वास्थ्यलाई प्रभावित गर्छ ।

गट के हो ?

गट भनेको ग्यास्ट्रोइन्टेस्टाइनल ट्र्याक्ट हो, जुन मुखबाट सुरु भएर मलद्वारसम्म फैलिएको लामो नली हो । यसमा लाखौं लाख ब्याक्टेरिया, फंगस र परजीवीहरू बस्छन्, जसलाई सामूहिक रूपमा ‘माइक्रोबायोम’ भनिन्छ । अन्ननली, पेट र आन्द्राहरू मिलेर खाना पचाउने काम गर्ने पेट तथा कलेजो रोग विशेषज्ञ डा. खलील मिया बताउँछन् ।

उनका अनुसार गट हेल्थ भनेको यसमा रहेका ब्याक्टेरियाको सन्तुलन र कार्यक्षमता हो । यो माइक्रोबायोमले पाचन मात्र होइन, रोग प्रतिरोधक क्षमता र हर्मोन उत्पादनमा पनि भूमिका खेल्छ । गटमा ९० प्रतिशत सेरोटोनिन मूड नियन्त्रण गर्ने हर्मोन उत्पादन हुन्छ, जसले मस्तिष्कमा पुगेर चिन्ता र खुसीलाई प्रभावित गर्छ । यदि माइक्रोबायोममा असन्तुलन भयो भने, यसले मानसिक स्वास्थ्यमा समस्या निम्त्याउछ ।

एन्जाइटी के हो ?

एन्जाइटी भनेको चिन्ता हो । नयाँ ठाउँमा जाने, नयाँ काम सुरु गर्ने वा परीक्षा दिने जस्ता अवस्थामा चिन्ता हुनु सामान्य हो, जसले मेहनत गर्न प्रेरित पनि गर्छ । तर भविष्यको बारेमा निरन्तर चिन्ता, डर वा बेचैनी रहिरहँदा यो समस्याको रूपमा देखापर्ने मानोरोग विशेषज्ञ डा. सुमन प्रसाद अधिकारी बताउँछन् ।

केहीले एन्जाइटी कम गर्न रक्सी खाइन्छ, खानुपर्छ भन्ने सोच बोकेका हुन्छर तर यो पूर्ण रूपमा गलत धारणा भएको डा. अधिकारी बताउँछन् । उनका अनुसार चिन्ता भएका बेला रक्सी खाँदा यसले अझ बढी समस्या निम्त्याउछ ।

गट र एन्जाइटी बीचको सम्बन्ध

नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेसन (एनसीबीआई) र अस्ट्रेलियाको स्वास्थ्य विभाग लगायतका अनुसन्धानहरूले देखाएका छन् कि- मस्तिष्क र केन्द्रीय स्नायु प्रणालीले शरीरमा नियन्त्रण गर्छन्, तर गटको आफ्नै ‘ब्रेन’ हुन्छ जसलाई एन्टेरिक नर्भस सिस्टम भनिन्छ । यो एन्टेरिक नर्भस सिस्टम मस्तिष्कसँग भेगस नर्भमार्फत जोडिएको हुन्छ र दुवैबीच निरन्तर सञ्चार हुन्छ । यसलाई ‘गट–ब्रेन एक्सिस’ भनिन्छ।

यो जडान द्विपक्षीय छ, अर्थात् एन्जाइटी बढ्यो भने गटमा नकारात्मक प्रभाव पर्छ । यसले ग्यास्ट्रिक, कब्जियत वा पखाला जस्ता पाचनसँग सम्बन्धित समस्या निम्त्याउन सक्छ । गट अस्वस्थ हुँदा माइक्रोबायोमको असन्तुलन वा डिस्बायोसिस मस्तिष्कमा असर पर्छ र एन्जाइटी, डिप्रेसन बढ्न सक्छ । उदाहरणका लागि, गट सुन्निदा मूड परिवर्तन हुन्छ, किनकि यसले सिग्नलहरू मस्तिष्कमा पठाउँछ जसले चिन्ता ट्रिगर गर्छ ।

गट ब्याक्टेरियाले न्यूरोट्रान्समिटरहरू जस्तै सेरोटोनिन उत्पादन गर्छन्, जसको कमीले चिन्ता बढाउँछ । यस सम्बन्धलाई बुझेर, प्रोबायोटिक्स जस्तै ल्याक्टोबेसिलस र बिफिडोब्याक्टेरियम र प्रिबायोटिक्स फाइबरयुक्त खानाले चिन्ता कम गर्न मद्दत गर्छ भन्ने कुरा अध्ययनले प्रमाणित गरेको छ ।

गटलाई स्वस्थ राख्न के गर्ने ?

–एकै पटक धेरै खाना खानु भन्दा समय-समयमा थोरै-थोरै खाना खाने ।

–नियमित समयमा सुत्ने र उठ्ने बानी बसाल्ने ।

–शरीरलाई सक्रिय राख्ने तथा नियमित व्यायाम गर्ने ।

–खानालाई राम्ररी चपाएर बिस्तारै खाने ।

–खानापछि तुरुन्त पानी पिउनु नपिउने ।

–सुत्नुभन्दा २–२.५ घण्टा अघि खाना खाने अर्थात खाना खानेबित्तिकै नसुत्ने ।

–प्रशस्त पानी र तरल पदार्थ पिउने ।

–आवश्यकताभन्दा बढी नखाने र सधैं ताजा खाना खाने ।

–साँझको खाना अलि कम खाने ।

–दैनिक आहारमा स्वस्थ चिल्लोको सेवन गर्ने, खराब चिल्लोबाट बच्ने ।

फाइबरयुक्त खाना जस्तै फलफूल, तरकारी, दाल, गेडागुडी र ताजा अन्नले माइक्रोबायोमलाई सन्तुलित राख्छ । फर्मेन्टेड खाना जस्तै: दही, किम्ची आदिले राम्रा ब्याक्टेरिया बढाउने पेट तथा कलेजो रोग विशेषज्ञ डा. मिया बताउँछन् । । प्रशोधित खाना र चिनीबाट बच्नुपर्ने उनको भनाइ छ ।

एन्जाइटीबाट बच्न के गर्ने ?

-चिया/कफी र रक्सी कम सेवन गर्ने वा सेवन नै नगर्ने ।

-हरेक दिन निद्रा पुग्नेगरी सुत्ने ।

-नियमित व्यायाम वा योग गर्ने ।

-गहिरो श्वास लिने र छाड्ने व्यायाम गर्ने

-नियमित ध्यान गर्ने ।

-आफूलाई मनपर्ने क्रियाकलाप गर्ने ।

-धूम्रपान नगर्ने ।

-स्वस्थ खानपान र जीवनशैली अपनाउने ।

यी टिप्सहरू अपनाउँदा एन्जाइटी कम हुन सक्छ । यसबाहेक, कग्निटिभ बिहेभियरल थेरापीले चिन्ता व्यवस्थापनमा मद्दत गर्छ, जसले गट स्वास्थ्यलाई पनि सुधार्ने मनोरोग विशेषज्ञ डा. अधिकारी बताउँछन् ।

यदि यी उपायहरूबाट फाइदा नभएमा ढिलो नगरी डाक्टरसँग परामर्श लिनुपर्छ । ढिलो गर्दा शारीरिक र मानसिक दुवै समस्या गम्भीर हुन सक्छन् ।

एन्जाइटी गट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय