News Summary
Generated by OK AI. Editorially reviewed.- सन् १९२५ मा अलास्काको नोममा डिफ्थेरिया महामारी फैलिँदा स्लेज कुकुर टोगोले जोखिमपूर्ण ४२० किलोमिटर यात्रा गरी औषधि ढुवानीमा सहयोग गर्यो।
- टोगोको नेतृत्वमा स्लेज टोलीले हिमपहिरो, आँधीबेहरी र फुट्न सक्ने बरफ पार गर्दै औषधि सुरक्षित रूपमा नोम पुर्यायो।
- टोगोले आफ्नो जीवनको सर्वोच्च कार्य गरे पनि श्रेय अर्को कुकुर बल्टोलाई दिइयो र टोगोले जस पाएन।
यो एउटा कुकुरको कथा हो, जसले मानव इतिहासमा कहिल्यै नभुल्ने गुण लगाए । कुकुरको नाम हो, टोगो । लगभग बुढो भइसकेको यो कुकुरले अत्यन्तै जोखिमपूर्ण र लामो यात्रा गरेर औषधि ढुवानीमा सहयोग गरे, जसका कारण डिप्थीरिया महामारीबाट सैयौं बालबच्चाको ज्यान जोगियो । दुःखलाग्दो कुरा चाहिँ के भने, टोगोले कहिल्यै यसको जस पाएनन् ।
यही सत्य कथामा आधारित रहेर डिज्नीले एउटा फिल्म बनाएको थियो, टोगो । फिल्मले त्यो समयखण्डको सरसर्ती कथा मात्र भन्दैन, मान्छे र कुकुरबीचको घनिष्ठतालाई एउटा उचाइमा लगेर परिभाषित गर्छ ।
कथा सन्, १९२५ अर्थात ठ्याक्कै १०० वर्ष अघिको हो । अमेरिकको एक राज्य, अलास्काको हो । कथा यसरी सुरु हुन्छ ।
…………….
सन् १९२५ मा अलास्काको नोम नामक शहरमा डिप्थीरिया महामारी फैलिन्छ । त्यो समय त्यहाँको चिसो मौसम, दुर्गम भूगोल र यातायातको अभावले औषधि पुर्याउनु लगभग असम्भवजस्तै थियो । शहरमा रहेका बालबालिकाको ज्यान जोखिममा थियो । जीवन बचाउन आवश्यक औषधि छिटोभन्दा छिटो पुर्याउनुपर्ने अवस्था आयो ।
हिमपहिरो, आँधीबेहरी र शून्यभन्दा धेरै तलको तापक्रमका बीच औषधि ल्याउन एउटै उपाय बाँकी थियो, स्लेड कुकुरको प्रयोग । हिमाली सतहमा केही कुकुरले तानेर मान्छे वा सामान ढुवानी गर्ने साधन हो यो।
त्यहाँ यस्तै स्लेड कुकुरहरूको रिले टोली बनाइयो । यो ऐतिहासिक घटनालाई पछि ‘ग्रेट रेस अफ मर्सी’ भनेर चिनियो । चलचित्रले यसै घटनालाई भावनात्मक र साहसिक ढंगले प्रस्तुत गर्छ ।

टोगो : चन्चल तर कमजोर बच्चा
फिल्मका एक पात्र छन्, लियोनहार्ड सेप्पाला । उनी अनुभवी स्लेड चालक हुन् । उनले घरमा एउटा सानो कुकुर ल्याउँछन्, जुन जिद्दी र चकचके हुन्छ । त्यो चकचके कुकुरले सुरुमा उनीहरूलाई हैरान बनाउँछ । साथै सो कुकुर अरूभन्दा सानो हुन्छ । त्यसैले स्लेड टोलीका लागि उपयुक्त हुँदैन ।
तर, टोगो बाँधिएको ठाउँबाट भागेर सेप्पालालाई पछ्याउँछ । सेप्पालाले उनलाई जति टाढा राख्न खोजेपछि टोगो अझ नजिक पुग्छ । किनभने टोगो जिद्दी छ । यसको यही जिद्दीपन नै अन्ततः स्लेड तान्नका लागि बढी उपयोगी हुनपुग्छ ।

सेप्पालाले टोगोलाई स्लेड तान्ने कुकुरको समूहमा सामेल गराउँछ । जिद्दी र जुझारुपनकै कारण टोगो स्लेड कुकुरमध्येको अगुवा बन्छ । स्लेजमा अक्सर अगुवा कुकुरले बाटो देखाउने र अरूको नेतृत्व गर्ने हुन्छ।
टोगो जवान हुँदै जाँदा स्लेड कुकुरहरूको एक कुशल अगुवा बन्छ । उसको निर्णय क्षमता, दिशाबोध र कठोर परिस्थितिमा अडिग रहने स्वभावले टोलीलाई सुरक्षित मार्गतर्फ डोर्याउँछ । यही काम गर्दागर्दै ऊ पाको पनि हुँदै जान्छ । अब टोगो जवान होइन, बुढ्यौलीतर्फ ढल्किसकेको हुन्छ ।
साहसिक यात्रा : मृत्युको मुखबाट जीवनतर्फ
ठीक यहीबेला अलास्काको नोममा महामारी फैलिन्छ । बालबालिका रोगले थलिन्छन् । कतिले ज्यान गुमाउँछन् । सर्वत्र हाहाकार हुन्छ । अब के गर्ने त ? हिउँको साम्राज्य छ सबैतिर । कुनैपनि सवारी साधन चल्न सम्भव छैन । यस्तो अवस्थामा धेरै टाढाबाट त्यहाँ औषधि ल्याउनुपर्ने हुन्छ । यही बाध्यत्मक कामका लागि कुकुरहरूको प्रयोग गर्ने तयारी हुन्छ ।
अन्ततः केही स्लेज कुकुरहरूको टोलीसँगै सेप्पालालाई पनि यो जोखिमपूर्ण यात्राका लागि जिम्मा दिइन्छ । यसक्षण उनले आफ्नो त्यही कुकुरको साथ खोज्छ, जो बुढो हुँदै गएको छ । अर्थात टोगो नै यतिबेला भरपर्दो हुन्छ भन्ने ठान्छन् ।
आखिर उनी टोगोलाई अगुवा बनाएर त्यहाँबाट एउटा लामो र जोखिमपूर्ण यात्रामा निस्कन्छन् । उनीहरूले करिब ४२० किलोमिटरभन्दा बढी दूरी पार गर्छन्, यो सम्पूर्ण यात्राको सबैभन्दा लामो र खतरनाक भाग हो ।
हिउँको आँधी, जमेको समुद्र, फुट्न सक्ने बरफ र दिशाविहीन सेतो अँध्यारोबीच टोगोले नेतृत्व गर्छ । एक दृश्यमा उनीहरू अलास्काको पश्चिमी तटमा रहेको एउटा विशला खाडी ‘नोर्टन साउन्ड’ पार गर्छन्, जहाँ बरफ टुक्रिन सक्ने जोखिम हुन्छ । आँधीले बाटो हराउँदा टोगोले आफ्नै सूझबूझ प्रयोग गरी सही दिशा समात्छ ।
सबैभन्दा भावुक क्षण त्यतिबेला आउँछ, जब बरफको ठूलो टुक्रा छुट्टिन्छ र टोली समुद्रतर्फ बग्न थाल्छ । यस क्षण सेप्पाला केही गर्न सक्दैनन् । तब, टोगोले साहस देखाउँदै डोरी तानेर टोलीलाई सुरक्षित किनारमा ल्याउँछ ।
तर टोगोले पाएनन् जस
यसरी टोगो नेतृत्वको कुकुरले अत्यन्तै जोखिमपूर्ण यात्रा गर्दै औषधि ढुवानी गर्न सफल हुन्छ । त्यसले अलास्कामा अनियन्त्रित फैलिएको महामारी रोक्न मद्दत गर्छ । सयौँ बालबालिका मृत्युको मुखबाट बाँच्छन् ।
तर, यसको जस टोगोलाई दिइएन ।
बरु श्रेय प्रायः अर्को कुकुर बल्टोलाई दिइयो, जसले अन्तिम खण्ड पार गरेर नोममा औषधि पुर्यायो । किनभने अनेकौ असजिलो खण्ड पार गर्दै जहाँसम्म टोगोले सो औषधि ढुवानी गरिदिन्छ, त्यसपछिको यात्रा बल्टोले पूरा गर्छ ।
अन्ततः बल्टोलाई त्यहाँ सम्मान गरिन्छ । टोगोप्रति कसैको ध्यान जाँदैन । किनभने ऊ बुढो पनि हुँदै गएको छ ।
वृद्धावस्था र विदाइ
कठोर यात्रापछि टोगो बिस्तारै कमजोर बन्छ । उसले आफ्नो जीवनको सर्वोच्च क्षण पार गरिसकेको हुन्छ ।
सेप्पाला र उनकी पत्नीका लागि टोगो केवल कुकुर होइन, परिवारको सदस्य थियो । टोगोको अन्तिम समय नजिकिँदै गर्दा सेप्पालाको मनमा गहिरो द्वन्द्व हुन्छ– उसलाई पीडाबाट मुक्त गर्ने कि केही समय अझै साथमा राख्ने ?
उनको जीवनको सबैभन्दा ठूलो सम्मान, सबैभन्दा ठूलो उपलब्धि, त्यो सानो कुकुर थियो, जसलाई उनले एक समय अस्वीकार गरेका थिए ।
१६ वर्षको उमेरमा १९२९ मा टोगोलाई इच्छामृत्यु दिइयो । त्यतिबेला न्यूयोर्क सन-टाइम्सले लेखेको थियो– ‘डग हिरो राइड्स टु हिज डेथ’
उसको शरीरको छाला निकालेर जीवित जस्तै देखिने गरी अलास्काको इडिटारोड ट्रेल स्लेड डग रेस हेडक्वार्टर म्युजियममा राखियो।
…….
टोगो केवल ऐतिहासिक घटनाको पुनर्कथन होइन, यो विश्वास, साहस र मित्रताको काव्य हो । यसले देखाउँछ, कसैको बाहिरी रूपले उसको क्षमताको मापन हुँदैन । कहिलेकाहीँ सबैभन्दा कमजोर देखिने अस्तित्व नै संकटको घडीमा सबैभन्दा बलियो सावित हुन्छ ।
मानव र पशुबीचको सम्बन्ध यहाँ केवल उपयोगितामा सीमित छैन, यो आत्मिक सहयात्रा हो । टोगोले केवल स्लेज तानेन, उसले मानवताको भार पनि बोकेको थियो । आज टोगो बुद्धि, सहनशीलता, वफादारी, बहादुरी र अटल भावनाका लागि विश्वभरि नायक मानिन्छ।

प्रतिक्रिया 4