News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको सिलिकन भ्यालीस्थित बल्क इंकले करिब ४ हजार कर्मचारी कटौती गरेको छ, जुन कुल जनशक्तिको करिब ४० प्रतिशत हो।
अमेरिकाको सिलिकन भ्यालीमा फेरि एकपटक ठूलो हलचल देखिएको छ । सोसल मिडिया प्लेटफर्म ट्वीटर (हालको एक्स) का सह-संस्थापक ज्याक डोर्सीले आफ्नो वित्तीय प्रविधि कम्पनी बल्क इंकमा कर्मचारी कटौतीको आश्चर्यजनक कदम चालेका छन् ।
जस अनुसार कम्पनीले करिब ४ हजार जना कर्मचारीलाई जागिरबाट हटाएको छ । यो भनेको उक्त कम्पनीका कुल कर्मचारीहरुको करिब ४० प्रतिशत हो।
अनौठो त के भने सो कम्पनी कुनैपनि आर्थिक संकटमा नरहेको भए पनि सिइओ डोर्सीले हजारौँ कर्मचारी हटाएका हुन् ।
स्वयं ज्याक डोर्सीले नै कम्पनी घाटामा नरहेको भन्दै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोगका कारणले गर्दा अब कम जनशक्तिबाट बढी काम सम्भव भएको बताएका छन् । सोही कारण देखाउँदै कम्पनीले ठूलो मात्रामा कर्मचारी कटौती गरेको हो।
सामान्यतया प्रविधि कम्पनीहरूले कर्मचारी कटौती गर्दा लागत कटौती, आर्थिक मन्दी वा पुनर्संरचनाजस्ता कारण देखाउने गर्छन् । तर बल्क कम्पनीले यसपटक स्पष्ट रूपमा एआई नै कर्मचारी कटौतीको मुख्य कारण भएको स्वीकार गरेको छ । प्रविधि अत्यन्त तीव्र गतिमा परिवर्तन भइरहेको र समयमै एआईलाई अबलम्बन गर्न नसक्ने कम्पनीहरू पछि पर्ने ज्याक डोर्सीले बताएका छन् ।
बल्क कम्पनीले हाल आफ्नो कार्यप्रणाली र व्यवसायिक मोडेललाई एआई केन्द्रित बनाउँदैछ । कम्पनीले क्यास एप र स्क्वायर जस्ता लोकप्रिय सेवाहरू सञ्चालन गर्छ, जहाँ अटोमेसन र एआईको प्रयोग निरन्तर बढिरहेको छ ।
सेयर बजारको सकारात्मक प्रतिक्रिया तर कर्मचारीका लागि झट्का
कर्मचारी कटौतीको निर्णय बाहिरिएसँगै शेयर बजारमा सो कम्पनीको शेयर मूल्यमा तीव्र उछाल देखियो । रिपोर्टअनुसार सेयर मूल्य करिब २० देखि २५ प्रतिशतसम्म बढेको छ । एआईको प्रयोगले लागत घट्ने र दीर्घकालमा नाफा बढ्ने विश्वास लगानीकर्ताहरूमा छ ।
तर कर्मचारीहरूका लागि भने यो निर्णय निकै पीडादायी बनेको छ । एकैचोटि हजारौँको रोजगारी गुम्दा प्रविधि क्षेत्रभर चिन्ता बढेको छ । पछिल्ला वर्षहरूमा विश्वभर प्रविधि कम्पनीहरूले कर्मचारी कटौती गर्दै आएका छन् । तर यसपटक भने एआईलाई कर्मचारी कटौतीको कारकका रूपमा प्रस्तुत गरिनु विशेष चासोको विषय बनेको छ ।
उता कम्पनीका सिइओ ज्याक डोर्सीले भने जागिर गुमाएका कर्मचारीहरूलाई नियमअनुसार क्षतिपूर्ति र केही समयसम्म आर्थिक सहयोग उपलब्ध गराइने बताएका छन् । विभिन्न देशका श्रम कानुन फरक भएकाले उक्त सहयोग प्याकेज पनि कर्मचारीको देशअनुसार फरक हुन सक्ने बताइएको छ ।
ज्याक डोर्सीको कम्पनी ब्लकको पछिल्लो कदमले एउटा गम्भीर प्रश्न उठाएको छः के एआले वास्तवमै मानिसहरूको रोजगारी खोस्दैछ ? विज्ञहरूका अनुसार एआईले रोजगारी पूर्णरूपमा समाप्त गर्दैन । बरू कामको स्वरूप परिवर्तन गर्छ । दोहोरिने र नियमित प्रकृतिका कामहरूमा एआइको प्रयोग तीव्र रुपमा विस्तार भइरहेको छ। तथापि यो निर्णयले आगामी दिनमा अन्य कम्पनीहरू पनि यस्तै दिशातर्फ जान सक्ने संकेत दिएको विश्लेषण हुन थालेको छ ।
एजेन्सी
प्रतिक्रिया 4