काठमाडौं । इजरायल र अमेरिकाले संयुक्त रुपमा इरानमाथि आक्रमण गरेपछि खाडी मुलुकमा समेत तनाव बढेको छ । इरानले प्रत्याक्रमण स्वरुप खाडी मुलुकमा रहेका अमेरिकी बेसक्याम्पमा आक्रमण गरेपछि तनाव बढेको हो ।
नेपाल सरकारले सम्भावित खतरालाई मध्यनजर गर्दै खाडी मुलुकको यात्रा नगर्न ट्राभल एडभाइजरी जारी गरेको छ ।
नेपालीहरु समेत रहेको कुवेतको पछिल्लो अवस्थाबारे नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्लसँग अनलाइनखबरले कुराकानी गरेको थियो । मल्लको भनाइ जस्ताको तस्तै–
म अहिले साल्मिया भन्ने ठाउँमा छु । यो राजधानीबाट नजिकै पर्दछ । अहिलेसम्म कुवेतमा अवस्था सामान्य देखिएको छ ।
बहराईन, दुबई र कतारमा एकैचोटी हवाई आक्रमण भएपछि कुवेतको डिफेन्स सिस्टमले बिहान ११ बजेको समयमा साइरन बजाएको थियो ।
तर त्यो साइरन नर्मल खालको थियो, इमर्जेन्सी साइरन थिएन । नर्मल र इमर्जेन्सीको साइरनको टोन फरक–फरक हुन्छ ।
अहिलेसम्म कुवेतको कुनै पनि ठाउँमा आक्रमण भएको आधिकारिक सूचना हामीले पाएका छैनौं ।
अहिले हाम्रो कुरा भइरहेको बेला यहाँको तीन बजेको छ । केहीबेर अघि मैले कुवेतका लागि नेपालका राजदूत घनश्याम लम्साल सरसँग पनि कुरा गरेको थिएँ । उहाँले पनि अहिलेसम्म अवस्था सामान्य रहेको बताउनु भएको छ ।
‘अहिलेसम्म स्थिति स्टेबल नै छ । केही पर्यो भने सूचना जारी गर्छौं,’ भन्नुभएको छ ।
अरु देशहरुले के गर्छन् भनेर पनि हामीले पछिल्लो अवस्थालाई नजिकबाट नियालीरहेका छौं भन्नुभएको छ । हामी पनि दूतावास र कुवेत सरकारको आधिकारिक निकायको सूचना पछ्याइरहेका छौं ।
अहिलेसम्म प्राप्त जानकारी अनुसार कुवेत सरकारले आफ्नो एयर डिफेन्स सिस्टम एक्टिभ गराएको छ । कुवेतको अरबजन भन्ने ठाउँमा अमेरिकाको एयरबेस क्याम्प छ । त्यहाँको अवस्था पनि सामान्य रहेको भन्ने जानकारी छ ।
अहिलेसम्म समग्र कुवेतको अवस्था सामान्य नै देखिन्छ । मानिसहरुको दैनिकी पहिलेको जस्तै सामान्य रुपमा चलिरहेको छ ।
आतंकित नहुन म सबैलाई अनुरोध गर्दछु । तर चनाखो चाहिँ रहनुपर्दछ । पछिल्लो अवस्थाको अध्यावधिक सूचनाका लागि कुवेत सरकार र नेपाली दूतावासलाई फलो गर्न म सबैलाई अनुरोध गर्दछु ।
प्रतिक्रिया 4