+
+
Shares

‘क्राइसिस म्यानेजमेन्ट’ भन्दै दुबईमा ठगी प्रयास, यूएई पास र एमिरेट्स आईडी विवरण नदिन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते १२:०८

१८ फागुन, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा ‘क्राइसिस म्यानेजमेन्ट’ भन्दै ठगीको प्रयास हुन थालेका छन् । इरानले यूएईस्थित अमेरिकी सैन्य बेस क्याम्पमा हवाई आक्रमण गरिहेको बेला ठगीका घटना बाहिर आउन थालेका हुन् ।

दुबई प्रहरीले त्यस्ता घटना बढेको भन्दै सचेत रहन आग्रह गरेको छ । केही व्यक्तिहरूले आफूलाई दुबई क्राइसिस म्यानेजमेन्ट विभागसँग सम्बन्धित कर्मचारी भएको दाबी गर्दै र दुबई प्रहरीसँग सम्बन्ध रहेको झुटो परिचय दिँदै सर्वसाधारणबाट संवेदनशील विवरण असुल्ने प्रयास भइरहेको दुबई प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यस्ता ठगहरूले विशेषगरी यूएई पासका लगइन विवरण र इमिरेट्स आईडीसम्बन्धी जानकारी माग्ने गरेका छन् । यस्ता गोप्य विवरण सार्वजनिक गर्दा अपराधीहरूले सिम-स्वाप (SIM swap) जस्ता प्रविधि प्रयोग गरी मोबाइल बैंकिङ एपमार्फत बैंक खातामा अनधिकृत पहुँच जमाउन सक्ने चेतावनी दिइएको छ ।

दुबई प्रहरीले कुनै पनि अवस्थामा टेलिफोन कल वा एसएमएसमार्फत गोप्य व्यक्तिगत जानकारी वा भेरिफिकेशन कोड नदिन अनुरोध गरेको छ । अपरिचित व्यक्ति वा अप्रमाणित स्रोतलाई व्यक्तिगत वा बैंकिङ विवरण नदिन सर्वसाधारणलाई आग्रह गरिएको हो ।

कुनै पनि शंकास्पद गतिविधि वा ठगी प्रयास देखिएमा तुरुन्तै आधिकारिक माध्यमबाट उजुरी दिन आग्रह गरिएको छ । यसका लागि ९०१ नम्बरमा सम्पर्क गर्न वा साइबर अपराधसम्बन्धी उजुरीका लागि बनाइएको ई-क्राइम प्लेटफर्ममार्फत जानकारी गराउन सकिने प्रहरीले जनाएको छ ।

यूएईस्थित नेपाली दूतावासले समेत त्यस्ता ठगीका घटनामा पर्न सक्ने भन्दै यूएईमा रहेका नेपालीहरूलाई सचेत गराएको छ । दुबई प्रहरीको सूचनालाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै दूतावासले त्यसतर्फ सचेत रहन आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?