+
+
Shares

इरानमाथि अमेरिका–इजरायली हमलाको झलनाथ खनालले गरे भर्त्सना

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते १२:४९
फाइल तस्वीर

१८ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले इरानमाथि अमेरिका र इजरायली हमलाको भर्त्सना गरेका छन् ।

प्रेस नोट निकालेर उनले अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त सैनिक आक्रमणको भर्त्सना गरेका हुन् ।

आक्रमणका क्रममा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी तथा अन्य उच्च पदस्थ अधिकृतहरूको निधन भएको छ । यसलाई निर्मम हत्याको संज्ञा दिँदै खनालले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘यो घटना मानव अधिकारको ठाडो उल्लंघन, मानवीय विवेकको पूर्ण परित्याग र अन्तर्राष्ट्रिय कानुनको खुल्लमखुल्ला धज्जी उडाउने कार्य हो,’ उनले भनेका छन्, ‘एक सार्वभौम राष्ट्रका सर्वोच्च नेताको हत्या गरेर तथा विद्यमान सबै प्रकारका अन्तर्राष्ट्रिय वैधानिकतालाई कुल्चँदै, अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तहरू र संयुक्त राष्ट्र संघको बडापत्रसमेतको उल्लंघन गरेर इरानमाथि गरिएको यो ‘नग्न र जंगलीु आक्रमणको हामी कडा शब्दमा निन्दा र भर्त्सना गर्दछौं ।’

नेपाली कम्युनिस्ट पार्टीका नेता समेत रहेका पूर्वप्रधानमन्त्री खनालले अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा भएको इरानमाथिको संयुक्त आक्रमणले विश्वलाई असाधारण रूपले ‘जंगली राज’को युगतर्फ धकेल्ने दुस्साहस गरेको बताएका छन् ।

उनले लेखेका छन्, ‘यस कदमले विश्वका आम जनता, हामी जस्ता साना तथा विकासमा पछि परेका राष्ट्रहरू र विशेषगरी तेस्रो विश्वका मुलुकहरूको स्वतन्त्रता, स्वाभिमान र सार्वभौमसत्तामाथि अभूतपूर्व खतरा पैदा गरेको छ ।’

अब विश्व शक्तिहरू, मझौला र साना शक्तिहरू बस्न नहुने उनको आग्रह छ । ‘यस प्रकारको निर्मम, कठोर र साम्राज्यवादी आक्रमणका विरुद्ध अब विश्व शक्तिहरू, मझौला र साना शक्तिहरू पनि मौन बस्ने अवस्थाको अन्त्य भएको छ’ उनी लेख्छन्, ‘तसर्थ, हामी सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई यो दादागिरी र गैरकानुनी हिंस्रक आक्रमणका विरुद्ध एकताबद्ध हुन हार्दिक आह्वान गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?