News Summary
Generated by OK AI. Editorially reviewed.- बढ्दो सुरक्षा चिन्ता र अन्तर्राष्ट्रिय तनावका कारण आगामी फिफा विश्वकप २०२६ मा इरानको सहभागिता अन्योलमा परेको छ।
- फिफा महासचिव मातियास ग्राफ्सट्रोमले विश्वकप सुरक्षित र सफल बनाउन अवस्थालाई नजिकबाट निगरानीमा राखिएको बताएका छन्।
- इरान फुटबल महासंघ अध्यक्ष मेहदी ताजले अमेरिकी आक्रमणपछि विश्वकप सहभागिता \'असम्भव\' हुन सक्ने बताएका छन्।
१८ फागुन, काठमाडौं । आगामी फिफा विश्वकप २०२६ मा इरानको सहभागिता अन्योलमा परेको छ। बढ्दो सुरक्षा चिन्ता र हालैका अन्तर्राष्ट्रिय तनावका कारण इरान प्रतियोगितामा सहभागी हुने–नहुनेबारे प्रश्न उठेको हो।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले इरानको अवस्थालाई नजिकबाट निगरानीमा राखिएको जनाएको छ। विश्वकप सन् २०२६ को समरमा अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुँदैछ।
फिफाका महासचिव मातियास ग्राफ्सट्रोमले हालै भएको वार्षिक साधारणसभामा बोल्दै विश्व परिस्थिति नजिकबाट हेरिएको तर अहिले नै ठोस निर्णय गर्ने समय नभएको बताएका छन्। उनले विश्वकप ड्र सार्वजनिक भइसकेको र छनोट भएका सबै टोली समावेश गरिएको उल्लेख गर्दै फिफाको पहिलो प्राथमिकता सुरक्षित र सफल प्रतियोगिता आयोजना गर्नु रहेको स्पष्ट पारे।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पछिल्ला अभिव्यक्ति र निर्णयहरूले पनि विश्वकपको वातावरण थप संवेदनशील बनाएको छ । ट्रम्पले केही युरोपेली देशहरूमाथि १० प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका छन्। साथै ग्रिनल्याण्डलाई लिएर दिएको अभिव्यक्ति र इरानसँग सम्बन्धित सैन्य कारबाहीले अन्तर्राष्ट्रिय सम्बन्धमा तनाव बढाएको छ।
इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजले हालैको अमेरिकी आक्रमणपछि इरानको विश्वकप सहभागिता ‘असम्भव’ हुन सक्ने बताएका छन् । उनले भनेका छन्, ‘आज जे भयो र अमेरिकाबाट भएको आक्रमणपछि हामी विश्वकपबारे आशावादी हुन गाह्रो छ, तर अन्तिम निर्णय खेलकुद निकायहरूले गर्नेछन्।’
हालसम्म इरानले प्रतियोगिताबाट नाम फिर्ता लिएको वा प्रतिबन्ध लगाइएको कुनै आधिकारिक घोषणा भएको छैन। तर यदि कुनै टोलीले विश्वकप सुरु हुनुअघि नाम फिर्ता लियो भने फिफा नियमअनुसार अर्को टोलीलाई प्रतिस्थापनका रूपमा समावेश गर्न सकिने प्रावधान छ। प्रायः त्यस्तो अवस्थामा सोही महासंघअन्तर्गतको टोलीलाई प्राथमिकता दिइन्छ।
ड्र अनुसार इरान समूह ‘जी’ मा इजिप्ट, बेल्जियम र न्युजिल्यान्डसँग परेको छ। इरानले पहिलो खेल न्युजिल्यान्डसँग लस एन्जलसमा खेल्ने तालिका छ। त्यसपछि बेल्जियमसँग पनि सोही सहरमा प्रतिस्पर्धा गर्नेछ भने समूह चरणको अन्तिम खेल इजिप्टविरुद्ध सियाटलमा खेल्ने कार्यक्रम छ।
विश्वकप सुरु हुन केही महिना मात्र बाँकी रहँदा इरानको अन्तिम निर्णय के हुन्छ भन्ने चासो विश्व फुटबल समुदायमा बढ्दो छ।
प्रतिक्रिया 4