News Summary
Generated by OK AI. Editorially reviewed.- रियल मड्रिडले ला लिगाको उपाधि दौडमा १–० ले पराजित भई शीर्षस्थानमा रहेको बार्सिलोनाभन्दा ४ अंकले पछाडि परेको छ।
- गेटाफेका मार्टिन सात्रियानोले पहिलो हाफमा निर्णायक गोल गर्दै टोलीलाई १८ वर्षपछि बर्नाबेउमा पहिलो जित दिलाए।
- रियलका प्रशिक्षक आल्भारो अर्बेलोआले अझै ३६ अंकका लागि खेल बाँकी रहेको र हार नमान्ने बताएका छन्।
१९ फागुन, काठमाडौं । रियल मड्रिडले ला लिगाको उपाधि दौडमा महत्त्वपूर्ण अंक गुमाएको छ। घरेलु मैदान सान्टियागो बर्नाबेउमा गेटाफेसँग १–० ले पराजित भएपछि रियल शीर्षस्थानमा रहेको बार्सिलोनाभन्दा ४ अंकले पछाडि परेको छ।
गेटाफेका लागि निर्णायक गोल पहिलो हाफमा मार्टिन सात्रियानोले गरेका थिए। उनले करिब ३५औं मिनेटमा शानदार प्रहार गर्दै टोलीलाई अग्रता दिलाए। सो गोल नै खेलको एकमात्र निर्णायक गोल बन्यो।
रियलले खेलभरि धेरै अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन। दोस्रो हाफमा दबाब बढाए पनि गेटाफेको रक्षापंक्ति मजबुत देखियो। यो गेटाफेको बर्नाबेउमा १८ वर्षपछि पहिलो जित हो।
खेलको अन्त्यतिर तनावपूर्ण अवस्था देखिएको थियो। अन्तिम सिठ्ठी बजेपछि दुवै टोलीका खेलाडीबीच टचलाइनमा विवाद भएको थियो।
९५औं मिनेटमा रियलका फ्रान्को मास्तान्तुओनोले रेफ्रीप्रति असन्तुष्टि जनाउँदै केही बोलेपछि रातो कार्ड पाएका थिए।
रियलका प्रशिक्षक आल्भारो अर्बेलोआले उपाधि दौड समाप्त नभएको बताएका छन्। ‘अझै ३६ अंकका लागि खेल बाँकी छ, हामी हार मान्दैनौं। चार अंकको दूरी पूरा गर्न सकिन्छ’ उनले भने।
रियलको लगातार दोस्रो हार पनि हो। यसअघि फेब्रुअरी २१ मा ओसासुनासँग २–१ ले पराजित भएको थियो।
रियलको २६ खेलबाट ६० अंकमै सीमित छ । शीर्षस्थानको बार्सिलोनाको ६४ अंक छ ।
हाल रियलका स्टार फरवार्ड किलियन एम्बाप्पे घुँडाको चोटका कारण अनुपस्थित छन् भने मिडफिल्डर जुड बेलिङअम पनि चोटका कारण टोलीबाहिर छन्।
प्रतिक्रिया 4