१९ फागुन, धनकुटा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।
जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी तथा निर्वाचन सामग्री सुरक्षित रुपमा पुर्याइएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले जानकारी दिए ।
उनका अनुसार सोमबार सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृतहरूले निर्वाचन सामग्री बुझेर कर्मचारी र सुरक्षाकर्मीसहित आआफ्नो केन्द्रतर्फ प्रस्थान गरेका थिए ।
जिल्लाभरिका सबै मतदान केन्द्रमा सामग्री पुगिसकेको र मतदान कार्य सञ्चालनका लागि आवश्यक व्यवस्थापन मिलाइएको उनको भनाइ छ ।
मतदान केन्द्रमा खटिएका कर्मचारीले सोमबार नै मतदान केन्द्रमा पुगेर मतदान केन्द्रको क्षेत्र तोक्ने, प्रचारप्रसार निशेध गर्ने सूचना जारी गर्ने, मादक पदार्थ बिक्री वितरण र सेवन निषेधको सूचना र हातहतियार निषेधको सूचना जारी गरेका थिए ।
मंगलबार मतदान केन्द्रमा सर्वदलिय बैठक तथा मतदान केन्द्र निर्माणको काम हुने मुख्य निर्वाचन अधिकृत इङनामको भनाइ छ । यस्तै बुधबार स्वयंसेवक नियुक्ति लगायतको काम गरिने भएको छ ।
धनकुटामा प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको छ । उक्त क्षेत्रमा १ सय १९ मतदान स्थलअन्तर्गत १ सय ६६ मतदान केन्द्र तोकिएका छन् । प्रत्येक मतदान केन्द्रमा ६ जनाका दरले कर्मचारी खटाइएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायत आवश्यक जनशक्ति परिचालन गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा कुल १ लाख १८ हजार ४ सय २५ मतदाता रहेका छन् । तीमध्ये ५९ हजार ४ सय ८३ जना पुरुष र ५८ हजार ९ सय ४२ महिला मतदाता रहेका छन् ।
धनकुटामा ३ जना स्वतन्त्र उम्मेदवारसहित १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
प्रतिक्रिया 4