१९ फागुन, हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए ।
आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतदाताहरू गाउँ फर्किएसँगै सिमकोट पनि सुनसान बनेको हो ।
सामान्यतया कर्मचारी, विद्यार्थी, व्यापारी तथा विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ताले भरिभराउ रहने सिमकोटमा अहिले सुनसानजस्तै देखिएको हो ।
अध्ययन र रोजगारीका लागि अन्य गाउँपालिका तथा वडाबाट आएर बसोबास गर्दै आएका धेरैजसो नागरिक मतदानका लागि आ–आफ्नो गाउँ फर्किएका छन् ।
बाहिरी जिल्लाबाट व्यापार–व्यवसाय गर्न आएका व्यापारीहरू समेत मतदान गर्न गाउँतिर लागेका छन् ।
यसरी नागरिकको चाप घटेसँगै सदरमुकामका अधिकांश होटल, पसल र चिया नास्ता होटेल बन्द जस्तै देखिन्छन् ।
निर्वाचनको मिति घोषणा भएर उम्मेदवार छनोट गरेसँगै जताततै सुनिने चुनावी चर्चा अहिले निकै कम भएको छ ।
यता, विभिन्न कार्यालयका कर्मचारीहरू पनि आ–आफ्ना मतदान केन्द्रमा खटिएकाले कार्यालयहरूमा उपस्थिति न्युन छ ।
प्रतिक्रिया 4