News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री तथा राजनीतिमा सक्रिय निशा अधिकारीले काठमाडौं–५ बाट गतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएकी छन्।
- उम्मेदवारीपछि आफूविरुद्ध भइरहेको गालीगलौज र दुव्र्यवहारप्रति निशा अधिकारीले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी छन्।
- उनले महिलाले नेतृत्व लिन खोज्दा निजी जीवन र चरित्रमाथि प्रश्न उठाइने सामाजिक समस्यालाई सार्वजनिक जीवनमा रहेका महिलाको साझा पीडा भनेकी छन्।
काठमाडौं । अभिनेत्री तथा राजनीतिमा सक्रिय निशा अधिकारीले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध भइरहेको गाली गलौज र दुव्र्यवहारप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । उनी गतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट काठमाडौं–५ बाट उम्मेदवार हुन् ।
उम्मेदवारी दर्तापछि आफूलाई लक्षित गरेर व्यक्तिगत आक्रमण बढेको उल्लेख गर्दै उनले ‘अति नगर्नु, अत्याचार नगर्नु’ भन्दै चेतावनीसमेत दिएकी छन् । यसअघि विभिन्न अन्तर्वार्तामा पनि उनले यस्तो गुनासो राख्दै आएकी थिइन् ।
बुधबार बिहान उनले सामाजिक सञ्जालमार्फत आफूलाई गाली गर्ने केही व्यक्तिहरूको स्क्रिनसट सार्वजनिक गरेकी छन् ।
पोस्टमा उनले लेखेकी छन्, “यसपालि मैले नामहरू लुकाएकी छैन । किनकि कहिलेकाहीँ घृणा गुमनाम भएर होइन, खुलेआम सामान्यीकृत भएर फैलिन्छ ।’
महिलाहरू नेतृत्वमा आउन खोज्दा समाजले उनीहरूको क्षमता भन्दा बढी निजी जीवन र चरित्रमाथि प्रहार गर्ने गरेको गुनासो उनले गरेकी छन् । उनले यसलाई सार्वजनिक जीवनमा रहेका धेरै महिलाले भोग्ने साझा पीडाको रूपमा चित्रण गरेकी छन् ।
उनी लेख्छिन्, “महिलाले नेतृत्व लिन खोज्दा सबैभन्दा पहिले किन उनको नीति होइन, निजी जीवन छानिन्छ ? किन उनको क्षमता होइन, चरित्रमाथि प्रश्न उठाइन्छ ?”
यी गालीगलौजले आफू विचलित नहुने बताउँदै उनले राजनीतिक संस्कृतिबारे पनि प्रश्न उठाएकी छन् । “हामी कस्तो राजनीतिक संस्कृति निर्माण गर्दैछौं ? असहमति राख्ने तर सम्मान जोगाउने, कि असहमतिलाई अपमानमा बदल्ने ?”
सामाजिक सञ्जालमा प्रयोग हुने भाषाले लोकतन्त्रको स्तर झल्काउने उनको भनाइ छ । साथै उनले यो पोस्ट मत माग्ने उद्देश्यले नभएको पनि स्पष्ट पारेकी छन् ।
प्रतिक्रिया 4