+

म्याक्सवेलले भने- सन्यास लिने योजना छैन, फिट रहे २०२८ सम्मै खेल्छु

२०८२ फागुन  २० गते १४:३० २०८२ फागुन २० गते १४:३०
म्याक्सवेलले भने- सन्यास लिने योजना छैन, फिट रहे २०२८ सम्मै खेल्छु

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाका स्टार क्रिकेटर ग्लेन म्याक्सवेलले २०२८ सम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्न इच्छुक रहेको र सन्यास लिने योजना नरहेको बताएका छन्।
  • म्याक्सवेलले २०२८ को टी–२० विश्वकप र लस एन्जलस ओलम्पिक खेल्ने सम्भावना खुला राखेका छन् र अहिले फिटनेस अनुसार निर्णय लिने बताए।
  • उनी मेलबर्न स्टार्ससँग दुई वर्षको सम्झौतामा छन् र पाकिस्तान सुपर लिग, मेजर लिग क्रिकेट र युरोपियन टी–२० लिगमा पनि खेल्ने तयारीमा छन्।

२० फागुन, काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर ग्लेन म्याक्सवेलले आफू अझै टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्न इच्छुक रहेको र सन्यास लिनेबारे कुनै योजना नरहेको बताएका छन्।

३७ वर्षीय म्याक्सवेलले बुधबार मेलबर्नमा भएको पत्रकारसँगको कुराकानीमा २०२८ मा अस्ट्रेलियामै हुने टी–२० विश्वकप र त्यसअघि हुने लस एन्जलस ओलम्पिकलाई पनि सम्भावनाबाट नहटाएको स्पष्ट पारेका हुन्। त्यसबेलासम्म उनी ३९ वर्षको हुनेछन् ।

उनी २०२८ सम्म बिग ब्यास लिग (बीबीएल) टोली मेलबर्न स्टार्ससँग दुई वर्षको सम्झौतामा छन्। साथै यस वर्ष पाकिस्तान सुपर लिग (पीएसएल), मेजर लिग क्रिकेट (एमएलसी) र युरोपमा सुरु हुने नयाँ टी–२० लिगमा पनि खेल्ने तयारीमा छन्। उक्त युरोपियन लिगमा उनी एक फ्रेन्चाइजका सह–मालिक समेत हुन्।

हालै सम्पन्न टी–२० विश्वकपमा अस्ट्रेलिया समूह चरणमै बाहिरिएपछि म्याक्सवेलको भविष्यबारे प्रश्न उठेको थियो। पूर्व कप्तान रिकी पोन्टिङले समेत म्याक्सवेल २०२८ को टोलीमा नहुन सक्ने टिप्पणी गरेका थिए। म्याक्सवेलले भने अहिल्यै कुनै निर्णय नगर्ने बताएका छन्।

‘अहिले नै भविष्यबारे औपचारिक घोषणा गर्नुपर्ने अवस्था छैन। आगामी १२ महिनामा धेरै टी–२० अन्तर्राष्ट्रिय खेल पनि छैनन्। शरीरको अवस्था र फिटनेस हेरेर अघि बढ्छु’ म्याक्सवेलले भने।

टी-२० विश्वकप २०२६ मा उनले ९, ३१ र २२ रन मात्र बनाएका थिए । पछिल्लो समय उनको स्ट्राइक रेट र औसत दुवै घटेको छ। अक्टोबरयता टी–२० अन्तर्राष्ट्रिय र बिग ब्यास लिगमा उनले १२ इनिङ्समा १५.५५ को औसत र ११३ को हाराहारी स्ट्राइक रेटमा रन बनाएका छन्। बलिङतर्फ चार विकेट लिँदा इकोनोमी भने सन्तोषजनक रहेको छ।

अस्ट्रेलियाको अर्को टी–२० सिरिज बंगलादेशविरुद्ध जुनमा हुनेछ। त्यसअघि टोलीले २०२७ को एकदिवसीय विश्वकपलाई ध्यानमा राखेर योजना बनाइरहेको छ। म्याक्सवेलले चयनकर्तासँग छलफल भइरहेको र आफू फिट रहेसम्म उपलब्ध रहने बताएका छन्।

अब उनी पीएसएलमा नयाँ टोली ‘हैदराबाद किङ्समेन’बाट खेल्ने तयारीमा छन्। नयाँ टोलीसँग सुरुदेखि जोडिन पाउँदा आफू उत्साहित भएको उनले बताए। ‘म अझै खेल्न चाहन्छु। म फिट र तयार रहेसम्म अवसर आएमा मैदानमा उत्रिनेछु’ म्याक्सवेलले भने।

म्याक्सवेलले ओडिआई क्रिकेटबाट भने गतवर्ष सन्यास लिएका थिए । टेस्ट क्रिकेटबाट सन्यास नलिएपनि उनले मौका पाउने सम्भावना भने न्यून छ ।

हाल ४१ वर्षका मोहम्मद नाबी, ३९ वर्षका सिकन्दर राजा, ४१ वर्षकै रोलफ भान डर भर्वेलगायतका खेलाडीहरू टी-२०आई क्रिकेटमा सक्रिय नै छन् ।

-क्रिकइन्फोबाट

ग्लेन म्याक्सवेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय