+
+
Shares

कोही १०७ त कोही १०२ वर्षका : जसले सन्ततिका खातिर भोट हाले

जेन्जी पुस्ताको सुखद् भविष्यका खातिर हजुरबा–हजुरआमाहरू पनि मतदानमा सहभागी भइरहेको दृश्य आफैंमा मर्मस्पर्शी लाग्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १५:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ७० वर्षभन्दा माथिका धेरैजसो पाको उमेरका नेपालीहरूले हालैको निर्वाचनमा मतदान गरेर आफ्नो राजनीतिक सहभागिता देखाएका छन्।
  • कमलादेवी शाही १ सय ७ वर्षकी भएर अछामको बन्निगढी जयगढ गाउँपालिकामा मतदान गर्न पुगिन्।
  • धनगढीका जनकलाल दहाल १ सय ७ वर्षका भएर पञ्चोदय माध्यामिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभयो।

काठमाडौँ  । कुनै बेला राजनीतिप्रति उदासीन भनिने पुस्ता अर्थात् जेनजी वर्तमान निर्वाचनका केन्द्रबिन्दु बनेका छन् । यसमा जेनजी पुस्ताको भावनात्मक तथा भौतिक उपस्थिति बेग्लै छ ।

उनीहरूले ‘हाम्रो भविष्यका लागि’ भन्दै निर्वाचनलाई निर्णायक बिन्दुका रूपमा लिइरहेका छन् ।

यही पुस्ताको सुखद् भविष्यका खातिर हजुरबा–हजुरआमाहरू पनि मतदानमा सहभागी भइरहेको दृश्य आफैंमा मर्मस्पर्शी लाग्छ ।

उमेरले ७०–८० वर्षका मात्र होइनन्, शताब्दी पूरा गरेकाहरू पनि मतदानमा सक्रिय भएका छन् ।

कमलादेवी शाही १ सय ७ वर्षकी भइन् । नेपालीको औसत आयुभन्दा लगभग दोब्बर आयु हो यो । उनै पाको उमेरकी कमलादेवीले यसपटक मतदान गरिन् ।

अछामको बन्निगढी जयगढ गाउँपालिका–६ दर्नास्थित ऐश्वर्य माध्यमिक विद्यालय मतदान केन्द्रमा उनले भोट हालेकी हुन् । आफन्तले काठको कुर्सीमा डोलीजस्तै बोकेर उनलाई त्यहाँसम्म पुर्‍याएको देखिन्छ ।

यसैगरी, उदयपुरगढी नगरपालिका–६ जगरेटारका अमृतबहादुर कार्की उमेरले १ सय २ वर्षका भए । उनले स्थानीय नेपालटार माध्यमिक विद्यालयको मतदान केन्द्रबाट भोट हाले ।

दौरा सुरुवाल र ढाका टोपीमा सजिएका उनलाई आफन्तले डोहोर्‍याउँदै मतदान केन्द्रसम्म पुर्‍याएको देखिन्छ ।

त्यस्तै, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी निवासी बालानन्द खतिवडा १०० वर्ष पुग्न दुई वर्ष बाँकी छ। उनले मुलपानीको राष्ट्रिय निर्माण माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट भोट हालेका हुन् ।

गंगादत्त भट्टले १०० वर्ष कटाएको ६ वर्ष भयो । अर्थात् उनी १ सय ६ वर्षका भए । भट्टले भीमदत्त नगरपालिका–१० स्थित सिद्धनाथ माध्यमिक विद्यालय जिमुवामा रहेको मतदान केन्द्रबाट भोट हालेका हुन् ।

चाहे तराई होस् वा हिमाली भेग, मतदाताहरूको लस्करमा यस्ता पुस्ता देखिन्थे जो उमेरले निकै पाको छन् । लठ्ठीको सहाराले मात्र हिँड्न सक्नेदेखि हातपाउ घिसारेर हिँड्नुपर्ने बाध्यता भएकाहरू पनि मतदान दिन गएका थिए ।

यस्तै, धनगढीका जनकलाल दहाल पनि १ सय ७ वर्षका भए । उनले पञ्चोदय माध्यामिक विद्यालय मतदान केन्द्रबाट भोट हालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?