+
+
Shares

ठूला छैनन् मतदाताका अपेक्षा : बस्, भनेका काम गरिदेऊ

विगतको राजनीतिक नेतृत्वले व्यवस्था परिवर्तन गरेको तर, अपेक्षित रुपमा नागरिकको अवस्था परिवर्तन गर्न नसकेको विभु मिश्रको ठम्याइ छ ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ फागुन २१ गते १६:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मतदाताले उम्मेदवारको वाचा कार्यान्वयनको अडिट गर्नुपर्ने र राजनीतिक नेतृत्वमा मध्यस्थता गर्ने संस्कार आवश्यक भएको बताएका छन्।
  • विदेशमा रहेका नेपालीले निर्वाचनपछि नेपालमै फर्कने वातावरण बनाउनुपर्ने र संविधानमा उल्लेख मौलिक हकको व्यवहारिक कार्यान्वयन खोजेका छन्।

२१ फागुन, काठमाडौं । हरेक निर्वाचनको विशिष्ट महत्व र अर्थ रहन्छ । ७८ वर्षीय प्रेमकुमार सिलवाल खत्रीको नजरमा विगतमा भएका अधिकांश चुनावमा व्यवस्था परिवर्तनको विषय प्रमुख थिए । यसपटक नागरिकको अवस्था परिवर्तनको एजेण्डा प्रधान छ ।

सिलवाललाई ठ्याक्कै पहिलो भोट कहिले हालेको याद छैन । ‘पञ्चायतकै चुनावमा भोट हालेको हुँ’ उनी भन्छन्, ‘बहुदल हुँदै गणतन्त्रसम्म आयौं । पहिले व्यवस्था र विकासका कुरा ज्यादा हुन्थे । अहिले समय अनुसार मानिसहरूले सहज जीवन चाहेका छन् ।’

प्रेमकुमार र उनकी ७१ वर्षीय श्रीमती प्रेमकुमारी सिलवालले बिहीबार सहकारी प्रशिक्षण केन्द्र, बानेश्वर पुगेर मतदान गरे । मतदानपछि कुराकानीका क्रममा श्रीमती प्रेमकुमारीले विगतको चुनाव सम्झिइन्, ‘पञ्चायतकालमा त बोल्न पाउने कि नपाउने भन्ने कुरा पनि हुन्थ्यो ।’

सिलवाल दम्पती काठमाडौं वडा नम्बर ३१ निवासी हुन् । यसपटक भोट दिएकासँग के अपेक्षा छ ? जवाफमा प्रेमकुमार भन्छन्, ‘मुखले धेरै गर्छन् । काम कम गर्छन् । यस्तो नगर । गर्छु भनेको काम गरिदेऊ ।’

श्रीमती प्रेमकुमारी थप्छिन्, ‘भोट हाल्नु अगाडि सम्म यसोउसो भन्छन् । भोट हालिसकेपछि कहाँ हो कहाँ ?’

यसबाहेक पनि उनीहरूका अपेक्षा छन् ।

‘बृद्धबृद्धालाई उपकार प्रदान गरुन् । बालबालिकालाई पठनपाठनमा सहज होस् । युवालाई रोजगार मिलोस्’ प्रेमकुमार भन्छन्, ‘युवालाई राज्यले हेर्नुपर्छ । किनभने देश बनाउने नै युवाले हो । युवाले मन मारे भने देशै मर्न सक्छ नि त ।’

उमेर अनुसार मतदाताका अपेक्षा फरक हुन सक्दछन् । तर सारमा सबै उमेर समूहका मतदाताले सिस्टम अनुसार काम हुने संस्कार खोजेका छन् । न्यूनतम आवश्यकता पूर्तिमा सहजता खोजेका छन् । राज्यले जे दिन्छु भनेर संविधान र कानुनमा कवुल गरेको छ त्यसको व्यवहारिक कार्यान्वयन खोजेका छन् ।

२७ वर्षीय अन्सुल केसी एमबीए प्रथम वर्षमा अध्ययनरत छन् । काठमाडौं ३१ निवासी अन्सुलले मतदानपछि जनप्रतिनिधिसँगको अपेक्षा सुनाए, ‘नचाहने कानुन खारेज गर्नुपर्छ । सेवा प्रवाहमा चुस्तता चाहियो । उद्यम गर्न खोज्नेलाई झन्झटिलो प्रक्रिया छ, त्यो सुधार हुनुपर्छ । विदेशी लगानी ल्याउन अनुकूल नीति चाहियो । परराष्ट्र नीति पनि स्थिर हुनुपर्छ ।’

स्थिर परराष्ट्र नीति भनेको के हो ? जवाफमा अन्सुल भन्छन्, ‘विश्व राजनीतिमा अहिले जे-जस्ता युद्ध देखिएका छन् । त्यसमा नेपाल कतै ढल्किने होइन, जुनसुकै युद्धमा तटस्थ रहनुपर्छ । केही दशक नेपालले आफ्नो आन्तरिक विकास र समृद्धिमै ध्यान दिनुपर्छ ।

यी सबै काम गर्नका लागि नेतामा राजनीतिक संस्कार हुनुपर्ने उनको भनाइ छ । उनी थप्छन्, ‘देशमा अतिवादी शक्तिहरु प्रभावी भएको महसुस हुन्छ । यस्तोमा मुलुकको अविभावकीय भूमिका निर्वाह गर्ने नेतृत्व चाहिएको छ । सबै पक्षबीच मध्यस्थता गर्न सक्ने शक्तिको खाँचो छ ।’

निर्वाचन लगत्तै यी सबै काम एकैपटक हुन्छ भन्नेमा उनी विश्वस्त छैनन् । त्यसअनुसारको व्यवहार गरुन र नागरिकले सरकारप्रति अपनत्व गर्ने वातावरण बनोस् भन्ने अन्सुलको अपेक्षा छ । थप्छन्, ‘समाज सुधार लामो प्रक्रिया हो । यसलाई एकै दिनमा सुधार गर्ने होइन । एउटा निर्वाचनले मात्रै परिवर्तन गर्ने होइन । यो निरन्तर चलिरहने अविरल यात्रा हो । यात्रा ठीक ढंगले भएको छ वा छैन भन्ने विषयले नागरिकमा असन्तोष पैदा गर्छ । यसलाई राजनीतिककर्मीले ख्याल गर्नुपर्छ ।’

वाचाको अडिट खोज्दै मतदाता

४१ वर्षीय स्वेता पुन्जालीले दोस्रो संविधान सभामा भोट हालेकी थिइन् । पारिवारिक र रोजगारी आदिका कारण उनले भोट हालिसकेपछि मत दिएको उम्मेदवारले के कसो काम गरे भनेर धेरै चासो लिन पाइनन्।

‘तथापि, मैले त्यसबेला भोट दिएकाले जितेर संविधान बनाए । मुलुक त्यही संविधानअनुसार अगाडि बढेको छ,’ उनी भन्छिन्, ‘अब त यसपाली जसलाई भोट दिएको छु उसले के–के गर्छु भनेका छन् ख्याल गर्छु र त्यो कति पूरा भयो वा भएन भनेर फलो गर्छु ।’

काठमाडौं १० निवासी पुन्जालीले एसभी एकेडेमी बुद्धनगरबाट मतदान गरिन् । उनले जसलाई भोट गरिन् ऊ सँग उनको प्रमुख माग छ – नेपालको वर्तमानको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार हो । भ्रष्टाचार नियन्त्रण गर्न के कस्ता नीति चाहिन्छ त्यही बनाउन भूमिका खेलियोस् ।

व्यक्ति एक्लैले मात्रै केही गर्न सक्दैन् भन्नेमा उनी विश्वस्त छिन् ।

‘म बुझ्दछु– एक्लैले गरेर केही हुँदैन । सामूहिक प्रयन्न नै हो । व्यक्तिभन्दा उसको दलको नीति महत्त्वपूर्ण हुन्छ । तर, दलको नीति बदल्ने, नयाँ शैलीमार्फत नेतृत्व लिने पनि त जनप्रतिनिधिले नै हो’ उनी भन्छिन्, ‘यसकारण मैले भोट गरेको व्यक्ति जिम्मेवार बन्नुपर्छ । उसले सबैलाई एकीकृत गर्न र सामूहिक नेतृत्व लिन सकोस् ।’

काठमाडौ १० कै ३६ वर्षीय अनिल पौडेल पनि उम्मेदवारको वाचा के कति कार्यान्वयन भए भनेर अडिट गर्ने पक्षमा छन् ।

उनी भन्छन्, ‘भोट माग्न आउँदा नमस्कार गर्दै यो गर्छु वा त्यो गर्छु भनेर जाने होइन । सांसद भएपछि मतदातासँग जवाफदेही हुनुपर्‍यो । जितेर गएपछि गरेको प्रतिबद्धता कति कार्यान्वयन भयो वा भएन भनेर उम्मेदवारले स्वमूल्यांकन गर्नुपर्‍यो ।’

यसका लागि आवश्यक परे बाध्यकारी कानुन बनाउन उनको सुझाव छ । ‘उम्मेदवारको प्रतिवद्धता कार्यान्वयन मापन गर्न आवश्यक परे संयन्त्र बनाउनुपर्छ । यो आम नागरिक र मतदाताका लागि त आवश्यक छ नै उम्मेदवार स्वयंलाई पनि आफ्नो कामबारे जान्ने अवसर हो,’ उनी थप्छन्, ‘पहिले जस्तो मतदाता अब चुप बस्दैनन् । सांसदले स्वमूल्यांकन नगरे मतदाताले आफैँ गर्छन् ।’

पौडेलले यसअघि २०७९ सालको स्थानीय चुनावमा भोट हालेका थिए । त्यसबेला चुनाव जितेकालाई अहिले पनि सुझाव दिने गरेको र आवश्यक पर्दा खबरदारी गर्ने गरेको उनले सुनाए ।

पेशाले उनी एकाउन्टेन्ट हुन् । उनका नजरमा नेपालमा सीप र क्षमता अनुसारको रोजगारी र अवसर छैन । ‘यहाँ चाहे अनुसार काम पाइँदैन, सीप र क्षमताअनुसार अवसर र सुविधा छैन,’ उनी भन्छन्, ‘भूगोल अनुसारको उद्यमका लागि नीति बनोस् । यहीँ रोजगारी मिलोस् । काम गर्नेलाई सम्मान होस् ।’

नेपाल विश्वका अन्य देशको तुलनामा विकासमा पछाडि छ । ‘देशमा विकासको स्पष्ट नीति नभएकोले यस्तो भएको’ उनको बुझाइ छ ।

विदेश जान खोजिरहेकी छोरी सम्झिएर मतदान

काठमाडौं १० निवासी ४२ वर्षीय मनहरा श्रेष्ठ आफ्नो सन्तान नेपालमै बसिदिए हुन्थ्यो भन्नेमा छिन् ।

‘मतदान गर्दा के सम्झनुभयो’भन्ने प्रश्नमा उनले भनिन्, ‘छोरी विदेश जान खोज्दै छे । यहीँ पनि काम पाइन्छ भनेर सम्झाइरहेका छौं । छोरी यहाँ अवसर नै छैन भन्छे ।’

श्रेष्ठकी छोरीले कक्षा १२ सम्मको पढाइ सकिन् । निर्वाचन पछाडिको सरकारले नेपालमै बसेर पनि केही गर्न सकिन्छ भन्ने आश देखाओस् भन्ने मनहराको अपेक्षा छ, ताकि छोरीले विदेश जान्छु नभनुन् । उनी थप्छिन्, ‘उम्मेदवारसँग एउटै अपेक्षा छ– हाम्रा बच्चा विदेश जान नपरोस् ।’

मनहराले २०७९ सालको स्थानीय तहको निर्वाचन र सोही वर्षको प्रतिनिधिसभाको निर्वाचनमा भोट हालिन् । त्यसबेला पनि आफूले युवाले नेपालमै काम गर्न पाए सन्तानसँगै नेपालमा बस्न पाइन्थ्यो भन्ने सोच राखेको सुनाइन् ।

मनहराको फूलको पसल छ । सजावटको काम गर्छिन् । उनी भन्छिन्, ‘पसल खोल्न सजिलो छ । बन्द गर्न पर्‍यो भने गार्‍हो छ । एउटा पसल चलाउन त सकस छ । यस्तो सकस नयाँ पुस्ताले सहँदैन । छिटो परिणाम खोज्छन् । युवाको चाहना नयाँ सरकारले पूरा गरोस् । सुशासन होस् ।’

उनको अर्को अपेक्षा छ– विधि र पद्धति अनुसार सबैलाई सबै क्षेत्रमा समान व्यवहार होस् । सरकारले गर्ने काम दिगो र भरपर्दो होस् । मनहरा थप्छिन्, ‘सडक पीच गर्छ केही समयमै भत्किन्छ । गुणस्तरीय काम नै गर्दैनन् । यस्तो हुन भएन भन्नु ठूलो कुरा हो र ! त्यस्तो त लाग्दैन ।’

काठमाडौं १० की मनहराको जस्तै अपेक्षाा काठमाडौं ३१ की ४९ वर्षीय अर्चना जोशीको पनि छ ।

‘सरकारीमा अस्पतालमा गयो लाइन बस्नुपर्ने । प्राइभेटमा गयो पैसाको तनाव । अनि नागरिकले सरकार कहाँ खोज्ने ?’ अर्चना प्रश्न गर्छिन्, ‘शिक्षाको कुरा पनि त्यस्तै छ । शिक्षा र स्वास्थ्य जस्तो विषयमा त यस्तो छ । अन्यको के कुरा ! यहाँ पहुँच हुने र नहुनेको बीचमा फरक छ । चिनेको मान्छे भए सहुलियत नत्र कष्ट । यो सुधार हुनुपर्‍यो ।’

अर्चनाकी छोरा अमेरिकामा आइटी पढिरहेका छन् । नेपालमै बसेर छोराले काम गर्ने वातावरण बनोस् भन्ने उनको अपेक्षा छ ।

उनी थप्छिन्, ‘पढाइ सकेर छोराले नेपालमै आएर काम गर्ने वातावरण बने हामीलाई पुग्छ । बाँकी काम नेताले देशलाई राम्रो गरोस । देशप्रती इमानदार होस् । काम गर्न वा सेवा लिन सोर्स लगाउनुपर्ने प्रवृत्तिको अन्त्य गरोस् ।’

नेपाल फर्किन पाऊँ’

विदेशमा रहेका सन्तान सम्झिएर, विदेश जान खोजिरहेका सन्तानलाई रोक्ने नीति सरकारले लिन्छ कि भनेर अपेक्षा गर्नेहरू मात्रै मतदान केन्द्र पुगेका छैनन् । विदेशमा रहेकाहरू समेत मतदानका लागि आएका छन् । निर्वाचन पछिको सरकारले विदेशको बसाइबाट आफूलाई नेपाल ल्याउन सकोस् भनेर अपेक्षा राख्नेहरू पनि भेटिए ।

४४ वर्षीय विभु मिश्र विगत १५ वर्षदेखि अमेरिकामा बस्छन् । यसपटक भोट हाल्न उनी नेपाल आए ।

‘संविधान सभाको निर्वाचन हुदा पर्यवेक्षणमा संलग्न भएको थिएँ । आफ्नो मतदान केन्द्रमा जान पाइएन । २०७४ र २०७९ मा विदेश थिएँ,’ उनी भन्छन्, ‘यसपटक भोट हालौं हालौं लाग्यो, नेपाल आएँ ।’

मिश्रले इन्जियिरिङ पढेका हुन् । अमेरिकामा के काम गर्छन खुलाएनन् । एसभी एकेडेमी बुद्धनगरबाट मतदान गरेपछि उनले भने, ‘मैले भोट आफ्नो लागि दिएको होइन भावी सन्ततिका लागि हो ।’

निर्वाचनपछिको राजनीतिक नेतृत्वले आफूलाई नेपालमै फर्किने वातावरण बनाउँछ कि भन्ने मिश्रको अपेक्षा छ ।

‘म सन्तानको भविष्य लागि कमाउन अमेरिका गएको हो । नेपालमै बस्न चाहन्छु, तर सन्तानको लागि आवश्यक खर्च जुटाउन सक्दिन कि भन्ने डर छ,’ उनी भन्छन्, सन्तानको भविष्यको चिन्ता नहुने वातावरण बने लगत्तै नेपाल फर्किन्छु ।’

मिश्रका नजरमा संसारबाट हेर्दा नेपाल सुन्दर र शान्त छ । तर, यहीँ भविष्य खोज्न हरेकलाई कठिन छ । उनी भन्छन्, ‘जहाँ पनि अधिकारको लडाइ त भइहाल्छ चाहे अमेरिकामा होस, चाहे नेपालमा होस । अमेरिकामा त्यहाँका नागरिक भेट्दा नेपालको प्रसंशा गर्छन । नेपालमा भने आधारभुत आवश्यकता पुर्तिमा समेत समस्या छ ।’

यी समस्याको समाधान कसरी गर्ने त ? जवाफमा उनी जेनजी आन्दोलन सम्झन्छन् ।

‘जेनजीले विधिको शासन खोजेका हुन् । यो भयो भने धेरै हुन्छ । सुशासन आउँछ । भ्रष्टाचार न्यूनिकरण हुन्छ । यसका लागि राजनीतिक नेतृत्वमा तत्परता र इच्छाशक्ति चाहिन्छ ।’

खै मौलिक हक ?

विगतको राजनीतिक नेतृत्वले व्यवस्था परिवर्तन गरेको तर, अपेक्षित रुपमा नागरिकको अवस्था परिवर्तन गर्न नसकेको विभु मिश्रको ठम्याइ छ ।

‘संविधान बन्यो । नागरिक सार्वभौम भए । संविधानमा फ्रि एजुकेशन भनेको १० वर्ष भयो तर पैसा नहुनेका सन्तानहरू अहिले पनि स्कुलमा छैनन् । संविधानमा स्वास्थ्य मौलिक हक हो, व्यवहारमा पैसा नभए उपचार पाइँदैन । यस्तो पनि हुन्छ त ?’

नेपालमा कोही पनि बस्न नसक्ने जस्तो अवस्था कसरी सिर्जना भयो भनेर निर्वाचनपछि बन्ने सरकारले अध्ययन गर्नुपर्ने र त्यसआधारमा नीति बनाउनुपर्ने उनको आग्रह छ ।

‘नेपालमा सीप भएका र नभएका दुवैका लागि अवसर कम छ । इन्जिनियर, डाक्टर, नर्स नै नेपाल बस्दैनन । सीप नभएकाहरू पनि विदेशमै छन् । त्यस्ता युवाहरू ज्यादा खाडी मुलुकमा छन’ उनी थप्छन्, ‘हेर्नुस् न सीप भएका न सीप नपाएका सबै नेपाली नेपालमै फर्किन चाहन्छन् । विश्व राजनीतिक र विकसित युद्ध आदिका कारणले अवस्था बदलिँदैछ । यसकारण विदेशमा रहेकाहरू नेपाल फर्किने वातावरण चाहिएको छ ।’

निर्वाचन पछाडिको सरकारले तत्काल के के गर्‍यो भने त्यस्तो वातावरण बन्ला ? जवाफमा उनी भन्छन्, ‘नेपालमै केही गरौं भन्यो भने प्रशासनिक झण्झटदेखि नै समस्या छ । अर्कोतर्फ काठमाडौं हेरेर मात्रै हुँदैन । कैयन ठाउँमा विद्युतको उपलब्धतादेखि खानेपानीसम्मका समस्या छन् । आधारभूत कुराकै अभाव छ ।’

काठमाडौं ३१ का हरिस चन्द्र ६९ वर्षका भए । छोरा सरकारी नोकरीबाट रिटार्यड भइसके । छोरी युके छिन् । पहिले प्राइभेट पम्पमा काम गर्दथे । अहिले घरमै रहन्छन् ।

बिहानै मतदान केन्द्र पुगेका उनले आफ्नो चुनावी उत्साह सुनाए, ‘हामी बूढो भहाल्यौं । जसोतसो जीवन चल्यो, ठीकै छ । नयाँ पुस्ताको थप सुरक्षा हुनुपर्‍यो । स्वास्थ, शिक्षा सर्वसुलभ होस् । युवाले देशमै रोजगार पाउन् ।’

नेपालमा केही पनि भएको छैन भन्ने मान्यतामा उनी छैनन् । अपेक्षा अनुसार काम हुन नसकेको र युवाले युग अनुसारको तिव्रता खोजेको उनको अनुभव छ ।

‘नेताहरूको व्यवहार सुध्रन पर्‍यो । के–के पाउने भनेर संविधानमा सबै लेखेको छ । तर कार्यान्वयन गरेनन्’ उनी भन्छन्, ‘कानुन बनेको छैन भनेर नागरिकलाई पाएको अधिकार पनि दिलाउँदैनन् । यो भएन नि हौ ।’

बुढ्यौली उमेरका लागि पनि सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा काम गर्नुपर्ने उनको आग्रह छ ।

संखुवासभाबाट बसाइ सरेर काठमाडौ आएका ५२ वर्षीय सिताराम कोइराला पनि नेताहरूको बोली र व्यवहारमा समानता खोजिरहेका छन् ।

‘अहिले टेक्निकल्ली आवश्यक भएर चुनाव भएको हो । जेनजीले मागेको सुशासन हो । भ्रस्टाचार नियन्त्रण हो । नागरिक भएवापत सरकारले गर्नुपर्ने दायित्व पूरा गर्नुपर्छ भनेको हो’ उनी भन्छन्, ‘संविधान बनेको छ, हामीले संविधानमा भएको मौलिक हक उपभोग गर्न पाए पुग्छ ।’

कतिपय अधिकार तत्काल दिलाउन नसक्ने भए त्यसको कारणसहित समयसीमा किटान गर्नुपर्ने उनको आग्रह छ । उनी थप्छन्, ‘१० वर्षसम्म कागजमा अधिकार र व्यवहारमा अनेक भएपछि मानिसमा असन्तोष पैदा भएको हो ।’

निर्वाचन पछाडिको सरकारले संविधान कार्यान्वयनका साथसाथै, राष्ट्रियताको सन्दर्भमा समेत विशेष ख्याल गर्नुपर्ने उनको आग्रह छ ।

‘राष्ट्रियता पहिलो कुरा हो । मुलुकको स्वाभिमानको कुरा पनि छ । नागरिकले खोजेको कानुनी राज्य हो । मैले चुनेको सांसद यी कुरामा सचेत हुनुपर्छ र उसले भू–राजनीति जानेको हुनुपर्छ ।’

राष्ट्रियताको सन्दर्भमा गम्भीर हुँदै भ्रष्टाचार नियन्त्रण गरेर सुशासन स्थापना गर्न सके जेनजी आन्दोलनको मर्म समेटिने र भविष्यमा फेरि अर्को बिद्रोहको वातावरण नै नबन्ने सितारामको विश्वास छ ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?