+
+
Shares

चुनावका वास्तविक आयोजक- नेपाली जनता

जेनजी आन्दोलनको पृष्ठभूमिमा भएको यो चुनाव सफल हुन्छ कि हुँदैन भन्नेमा सुरुवातमै आशंका थियो । अन्ततः चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भयो । यसपालि पनि मतदान सकिएसँगै नागरिकले आफ्नो महत्त्वपूर्ण जिम्मेवारी पूरा गरेका छन् ।

बिनु सुवेदी बिनु सुवेदी
२०८२ फागुन २१ गते २०:१६

२१  फागुन, काठमाडौं । टोखा नगरपालिका-३ कि गीता पाठकले मतपत्र हातमा लिएपछि एकाएक सम्झिइन्– गत २३ भदौमा भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा प्रदर्शन गर्न गएका  विद्यार्थीहरूमाथि राज्यले गरेको दमन ।

उनको दिमागमा एकाएक घुम्यो २४ भदौमा भएको तोडफोड र आगजनीको घटना । यो निर्वाचन नियमित हुन्थ्यो भने पाँच-पाँच वर्षमा आउँथ्यो । नेताहरूले गरेका बाचा पूरा भए/नभएकोबारे रुजु हुन्थ्यो,  नयाँ सपनाहरू देखिन्थ्यो, पूरा नभएका पुराना सपनाप्रति गुनासो हुन्थ्यो । तर यसपालिको निर्वाचन नियमित रहेन ।

मतपत्र हातमा लिएपछि नै उनको मन भारी भयो, अझै पनि पहिले जस्तै घटना हुने परिस्थिति आए के गरौंला ?  कति आमाका काख रित्तिएलान् कति परिवारका सपना टुट्लान् ! हातमा मतपत्र लिएपछि नै उनले सोचिन् यसपालि मेरो मत परिवर्तनको पक्षमा । मतदान गरेर बाहिर निस्किएपछि अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्, ‘यो पाँच–पाँच वर्षमा आउने नियमित चुनाव मात्रै होइन । हामीले राम्रै होला भनेर भोट हाल्दै आएका छौँ । तर अब भ्रष्टाचार हटोस्, नेपालीले रोजगारी पाओस् भन्ने चाहना छ।’

भ्रष्टाचार, बेरोजगारी र बेथितिले गर्दा आफ्ना छोराछोरी नै सडकमा उत्रनु परेको पीडा उनले कहिल्यै बिर्सिन सक्दिनन् ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि ३५ वर्ष र २०६२/६३ को जनआन्दोलनपछि आलोपालो राज्यसंयन्त्र चलाएका राजनीतिक दलहरूले जनताले चाहेअनुसार काम गर्न सकेनन् भन्ने जनताको बुझाइ हो । अघिल्लो पुस्तासम्मका नागरिकले एक हदसम्म सहेका पनि हुन् ।

उसो त जनताले नेताहरूले कहिले न कहिले, केही न केही त गर्लान् भनेर पर्खिएका पनि हुन् । तर संघीय लोकतान्त्रिक गणतन्त्रका दलहरूमा पनि निरंकुश शैली र जनताको जीविकाप्रति उदासिनता देखिएपछि त्यसको आक्रोश गत २३ भदौमा सडकमा पोखिएको थियो ।

आन्दोलन न युवाहरूले चाहेको जस्तो भयो, न राज्यले सोचेको जस्तो ।  त्यसैको फलस्वरूप यो निर्वाचन तय भएको हो । तर आज  निर्धारित समयभन्दा पहिले नै  फेरि मत हाल्न लाइन बस्नुपर्ने परिस्थिति आउनुमा यिनै पुराना दलहरू मुख्य दोषी रहेको बुझाइ छ,टोखा नगरपालिका-३ का पुरुषोत्तम धितालको ।

 ‘२०४८ सालपछि सबै दलले परीक्षा दिँदै आए-कहिले पास, कहिले फेल,’ उनी भन्छन्, ‘अब तिनै दलले मात्रै देशलाई लिड गर्न सक्दैनन् । भ्रष्टाचार नहोस्, सुशासन होस्, फरक धारको नेतृत्व आओस् ।’

उनले  २०४८ साल यताका सबै निर्वाचन देखेका छन् ।  ती निर्वाचनमा पार्टी पार्टीका बीचमा प्रतिस्पर्धा हुन्थ्यो । तर यसपालि त जनताले आफ्नो रिस पुराना पार्टीहरूलाई देखाएको उनको पनि अनुभूति छ । ‘पहिले-पहिले निर्वाचनमा पार्टीपार्टी भिडेको जस्तो देखिन्थ्यो,’ उनले भने, ‘यसपाली पुराना पार्टीहरू र जनताबीचको लडाइँ जस्तै भएको छ ।’

नियमित समयमा मतदान भएको भए, २०८४ को मंसिरसम्म नागरिकले भोट हाल्न पर्खिनुपर्थ्यो । तर  झन्डै २ वर्षअघि नै निर्वाचनको मिति सरेपछि  जनताले स्वीकारे ।

प्रधानमन्त्री  सुशीला कार्की नेतृत्वको नागरिक सरकारले तोकेकै मितिमा शान्तिपूर्ण तरिकाले निर्वाचन गरेर आफ्नो वाचा पूरा गर्‍यो । मतदाताले मतदान प्रक्रियामा सहभागी भएर आफ्नो दायित्व पूरा गरे ।

दलहरू र स्वतन्त्र गरेर पहिलो हुने निर्वाचन हुने प्रणालीतर्फ ३ हजार ४०६ जना  र समानुपातिकमा ३ हजार १३५ जना उम्मेदवारले प्रतिस्पर्धा गरे । अबको केही दिनमा आउने मत परिणामले अबको राजनीतिक मार्गको स्पष्ट चित्र कोर्ने छ ।

तर, अब निर्वाचन जितेर आउने सांसद या दलहरूले जनतालाई झुक्याउन भने पाउने छैनन् । किनभने यो निर्वाचन जनता जागरुक भएका बेला आयोजना गरिएको हो । अपेक्षा भएरै हुन सक्छ भोट हाल्नका लागि नागरिक विदेशबाट पनि आए ।

काठमाडौं–१० का विभु मिश्र १५ वर्षभन्दा बढी समयदेखि अमेरिका बस्दै आएका छन् । यस पटक भने उनी भोट हाल्न नेपाल आएका थिए।

‘जेनजी आन्दोलनले मलाई बाध्य बनायो,’ उनी भन्छन्, ‘देशमा विधिको शासन ल्याउन यो आवश्यक छ।’

अझै पनि आधारभूत आवश्यकता  पूरा गर्न राज्यसँग बारम्बार बाझिरहनुपर्ने परिस्थिति नै उनलाई मन परेको छैन ।

‘इन्जिनियर, डाक्टर, नर्स नै नेपाल बस्दैनन् । सिप भएका र नभएका दुवैका लागि अवसर कम छ । यो निर्वाचनपछि बन्ने सरकारले यो समस्यामा ध्यान दिनुपर्छ ।’

काठमाडौं महानगरपालिका–३ का ८१ वर्षीय हरिप्रसाद जोशी अहिले जस्तो निराशा कहिल्यै भएका थिएनन् ।  यसरी जनतालाई बारम्बार पंगु बनाउनेहरूले यस पटक चेत्नुपर्ने उनको भनाइ छ ।

जीवनभर कांग्रेस र एमालेमा भोट हाल्दै आएका उनी यस पटक भने भिन्न सोच लिएर मतदान केन्द्र पुगेका थिए । ‘अब परिवर्तन चाहिन्छ,’ उनले भने ।

यो चुनाव केवल राजनीतिक प्रतिस्पर्धा मात्रै होइन ।

यो असन्तोष, अपेक्षा र परिवर्तनको चाहनाको अर्को एउटा उपक्रम पनि हो । जनताको असन्तुष्टिले भएको आन्दोलनपछि आएको निर्वाचन भएकाले यो निर्वाचनमा जनताको अपनत्व छ, त्यसैले अपेक्षा पनि छ ।

काठमाडौं महानगरपालिका-३ कि रेखा बस्नेत यसपालि जनताको अपेक्षा जसले पूरा गर्छ उसैले चुनाव जित्नुपर्ने बताउँछिन् । उनलाई आफ्ना सन्तानलाई रोजगारीका लागि विदेश पठाउन मन छैन ।

यो वर्ष मतदान केन्द्रहरूमा देखिएको दृश्य केवल मत हाल्ने प्रक्रिया मात्र थिएन ।

त्यो नागरिकहरूको धैर्य, असन्तोष र आशाको संयोजन थियो ।

जेनजी आन्दोलनको पृष्ठभूमिमा भएको यो चुनाव सफल हुन्छ कि हुँदैन भन्नेमा सुरुवातमै आशंका थियो । तर अन्ततः चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भयो । यसपालि पनि मतदान सकिएसँगै नागरिकले आफ्नो महत्त्व पूर्ण जिम्मेवारी पूरा गरेका छन् ।

लेखक
बिनु सुवेदी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?