२१ फागुन, रुकुमपूर्व । रुकुमपूर्वका उत्तरी क्षेत्रका मतदान केन्द्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत मतपेटिका संकलन गरिएको छ । पैदल मार्गबाट सदरमुकाम ल्याउन दुई दिनसम्म लाग्ने भएपछि निर्वाचन आयोगको समन्वयमा सेनाको हेलिकप्टरमार्फत ढुवानी सुरु गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार बिहीबार साँझ ५ बजे नेपाली सेनाको हेलिकप्टर सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगंगा गाउँपालिकातर्फ गएको छ ।
‘मान्छेलाई बोकाएर ल्याउँदा समय धेरै लाग्ने र सुरक्षा जोखिमसमेत हुने देखिएपछि दुर्गम स्थानका लागि हेलिकप्टरबाट ल्याउन थालिएको छ,’ परियारले भनिन् ।
पहिलो चरणमा पुथा उत्तरगंगा गाउँपालिका–२ स्थित पेल्मा र सोही वडाको आधारभूत विद्यालय हार्दिवाङका मतपेटिकाहरू संकलन गरेर ल्याइएको छ । त्यस्तै आजै दोस्रो चरणमा सिस्ने गाउँपालिका–१ स्थित साविकको पाखापानी गाविस भवनमा रहेको मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइएको परियारको भनाइ छ ।
जिल्लाका कुल ५७ मतदान स्थलमध्ये बाँकी ५४ वटा केन्द्रका मतपेटिकाहरू भने पैदल मार्गबाटै आज रातिसम्म सदरमुकाम पुर्याइनेछ।
निर्वाचन कार्यालय रुकुमपूर्वका अनुसार आज रातिसम्म सबै मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुग्नेछन्। ‘सबै क्षेत्रका मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर भोलि (शुक्रबार) बिहानदेखि मतगणना सुरु गर्ने तयारी छ,’ निर्वाचन कार्यालले भनेको छ ।
जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको र अहिले गणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासनले जनाएको छ ।
प्रतिक्रिया 4