+
+
Shares

गण्डकीबाट प्रत्यक्षमा जित्ने रास्वपाकी एक्ली महिला सांसद्

अमृत सुवेदी अमृत सुवेदी
२०८२ फागुन २३ गते ३:१३

२३ फागुन, पोखरा । गत भदौमा जेनजी आन्दोलन नभएको भए बिना गुरुङ राजनीतिमा नलाग्न सक्थिन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर प्रतिनिधि सभा सदस्य बन्ने त झन् टाढाको कुरा हुन्थ्यो ।

सुशासन र पार्टी रुपान्तरणको एजेण्डा राख्दै गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भयो । त्यही आन्दोलनको परिणाम हो, २१ फागुनमा मतदान भएको निर्वाचन ।

त्यही निर्वाचनको संघारमा समाजसेवा र व्यवसायबाट राजनीतिमै होमिने निष्कर्षमा पुगिन्, उनी । लाभको पदमा प्रतिस्पर्धा नगरेकी बिनाले चुनाव लड्न पार्टी नेतृत्वसँग टिकट दाबी गरिन् ।

जेनजी पुस्ताको आन्दोलनको माग र नयाँ परिवर्तनको आशासहित देशमा सुशासन, विकास र नीति निर्माणको तहमा काम गर्न यिनै बिनालाई कास्की क्षेत्र नम्बर ३ का मतादाताले लोकप्रिय मत दिएर संसद्‌मा पठाएका छन् ।

पुराना दलहरूको विकल्पमा खडा भएकी बिनालाई झण्डै २५ हजार मतान्तरका साथ कास्की क्षेत्र नम्बर ३ का मतदाताले जिताएका हुन् । बिनाले ३७ हजार ७५० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत पाए । यो क्षेत्रमा ६५ हजार ४ सय ७ मत खसेको थियो ।

यसअघि चुनाव जितेका नेकपा एमालेका उम्मेदवार दमोदर बैरागीले ७ हजार ९०६ मत ल्याए । २०६२/०६३ को जनआन्दोलनपछि भएको पहिलो संविधान सभाको चुनावमा जिताएको माओवादीसहित मिलेर बनेको नेकपाका उम्मेदवार गोपाल गिरीले जम्मा १ हजार ४५६ मत पाएका छन् ।

संघीय व्यवस्थाको विरोध र देशमा सनातन धर्मसहितको राजसंस्थाको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुन खनाललाई कास्की–३ ले १ हजार ४०६ मत दिएको छ ।

श्रम संस्कृति पार्टीका उम्मेदवार हितकाजी गुरुङले पनि ५८६, उज्यालो नेपाल पार्टीका उम्मेदवार तर्कबहादुर गुरुङले ४६३ मत ल्याए ।

बिना रास्वपाबाट गण्डकीमा एक्ली महिला उम्मेदवारका रुपमा खडा भएकी थिइन् । गण्डकीबाट जित हासिल गरेका र अग्रता कायम गरेकाहरु कुनै पनि महिला छैनन् ।

रास्वपा कास्कीको कोषाध्यक्षसमेत रहेकी बिनाको पारिवारिक पृष्ठभूमि आर्थिक हिसाबले पनि सम्पन्न थियो भने बिनाको नेतृत्वमा महिला तथा बालबालिकाको क्षेत्रमा काम गरिरहेकी थिइन् ।

सञ्जीवनी सिस्टर्स एसोसिएसनकी संस्थापक अध्यक्ष बिनाले सयौं महिलाहरूलाई सहयोग गर्ने, विभिन्न तालिम र सशक्तिकरण गर्ने काम गरिरहेको थियो । तमुहरूको साझा संस्था तमुधिं नेपालको केन्द्रीय सदस्य, लायन्स क्लब, सिर्जना संसार कोसेली घर, तमु सांस्कृतिक प्रतिष्ठानलगायत संस्था, कोपिला नेपालजस्ता संस्थाको नेतृत्व तथा आवद्धतामार्फत काम गरिरहेकी बिनालाई कास्की–३ मा रास्वपाले बलियो उम्मेदवारको उतारेको थियो ।

विभिन्न व्यावसायिक प्रतिष्ठानमा निर्देशक भएर काम गरेकी बिनाका निम्ति अनुभवी भनिएका दलका उम्मेदवार नै प्रमुख प्रतिस्पर्धी थिए । तर, झण्डै २५ हजार मतान्तरले जित निकालेकी हुन् ।

कांग्रेसले बलियो उम्मेदवारका रुपमा मनोजलाई खडा गरेको थियो । कांग्रेसले कास्कीका ३ वटा क्षेत्रमध्ये क्षेत्र नम्बर ३ लाई जित्न सक्ने सम्भावना भएको सूचीमा राखेको थियो । तर, मतदाताले सबै अनुमानलाई फेल गराउँदै संसदको यात्रा तय गरेकी हुन् ।

बिनाले नयाँ दलप्रतिको आकर्षणलाई बढाउँदै जनजाति तथा गुरुङ समुदायको मत आफ्नो पक्षमा ल्याउने कोसिस गरिन् भने महिला तथा बालबालिकाको क्षेत्रमा काम गरिरहेको अनुभव, सामाजिक तथा व्यावसायिक सम्बन्धलाई आफ्नो जितमा रुपान्तरण गर्न सफल भइन् ।

बिनाले मतादाताको विश्वासलाई कहिल्यै मर्न नदिने प्रतिबद्धता जनाइन् । ‘मलाई कास्की क्षेत्र नम्बर ३ बासीले लोकप्रिय मत दिएर जिताएका छन् । यसको मतलाई मलाई देशको सुशासन र विकासका पक्षमा, नवयुवा र जेनजी आन्दोलनका सहिद, घाइतेका भावना बुझेर काम गर्न जनादेश दिएका हुन्,’ बिनाको प्रतिवद्धता छ, ‘मैले जितें भनेर उत्माद राख्दिन, जिम्मेवारीबोध गर्छु । यो अवसरलाई मतदाताको भावना र देशको विकासमा लगाउँछु ।’

तस्वीर: युनिश गुरुङ

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?