२३ फागुन,बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशभर पार्टीले ब्यहोरेको पराजयसँगै पार्टीको नेतृत्व, नीति र कार्यसम्पदानबारे गम्भीर समीक्षा गरेर आवश्यक निर्णय लिने बताएका छन् ।
रुपन्देही-२ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका पौडेलले यसपटकको चुनावमा एमाले उम्मेदवारहरुको पराजय उनीहरुको व्यक्तिगत कारण नभएको बताए ।
पौडेल रास्वपाका सुलभ खरेलसँग ४० हजार बढी मतान्तरले पराजित भएका छन् । निर्वाचन आयोगले भने औपचारिक घोषणा गर्न बाँकी छ ।
बालेन शाहको प्रवेशपछि रास्वपाको पक्षमा आएको देशव्यापी लहरमा मतदाताले अन्य दलका उम्मेदवारको क्षमता, योगदान केही नहेरी चुनाव चिन्हलाई मात्रै हेरेर मतदान गर्दा अरु सबै दलका लागि प्रतिकूल नतिजा आएको बताए ।
पौडेलले देशभरको निर्वाचनको परिणाम आएपछि पार्टीले गहिरो गरी आत्मसमीक्षा गर्ने बताए । निर्वाचनमा जित हार स्वभाविक प्रक्रिया भएको उल्लेख गर्दै देशभरका उम्मेदवार, नेता कार्यकर्तालाई विचलित नहुने आग्रह गरे ।
‘मतदाताको निर्णयलाई सम्मान गर्दै विजयी उम्मेदवारलाई सफल कार्यकालको शुभकामना दिन्छु र उहाँले अघि बढाउने सकारात्मक काममा साथ रहन्छ,’पौडेलले भने,‘अब हामी राष्ट्र र जनताको भावना अनुसार पार्टीको नेतृत्व, नीति र कार्य सम्पादनका तरिकाबारे छिटै उपयुक्त निर्णय गर्नेछौं ।’
पौडेलले निर्वाचनमा पार्टीले ब्यहोरेको हारमा आफूसहित शीर्ष पदाधिकारीले नैतिक जिम्मेवारी लिनुपर्ने बताए । पार्टीको नराम्रो पराजयपछि देशभरबाट नेता कार्यकर्ता, बुद्धिजिवी र जिम्मेवार मिडियाले दिएको सुझावलाई आत्मसाथ गरेर पार्टी अघि बढ्नुको विकल्प नभएको पौडेलको भनाई थियो ।
पौडेलले पार्टी नेतृत्वले राजीनामा दिनुपर्ने आवाज चौतर्फीरुपमा उठेको संकेत गरे । २०६४ को पहिलो संविधान सभा चुनाव सहित त्यस यताका सबै चुनाव सहजै जित्दै आएका पौडेलले यो पटक नमीठो पराजय ब्यहोरेका छन् ।
पौडेल रास्वपाका उम्मेदवार सुलभ खरेल भन्दा झण्डै ४० हजार बढी मतान्तरले पराजित भएका छन् । निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी भएपनि रास्वपाका उम्मेदवार खरेल पौडेल भन्दा ४० हजार मतले पछि परेका छन् ।
दोस्रो स्थानमा नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेल र चौथो स्थानमा नेकपाका उम्मेदवार विश्वदीप पाण्डे छन् ।
निर्वाचनको टिकट वितरणका बेला शुरुमा पौडेललाई पार्टी अध्यक्ष केपी ओलीले पाल्पा २ को टिकट दिएका थिए । तर रुपन्देही २ का नेता कार्यकर्ताले दबाव दिएर फिर्ता गराएका थिए ।
पौडेलले २०६४ मा तत्कालीन माओवादीका भक्तिप्रसाद पाण्डेलाई करिब दुई हजार मतान्तरले पराजित गरेका थिए भने २०७० को दोस्रो संविधान सभा चुनावमा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्राईलाई फराकिलो मतान्तरले पराजित गरेर चर्चित भएका थिए ।
यद्यपि उक्त चुनावमा कांग्रेसका सूर्यप्रसाद प्रधान निकटतम प्रतिस्पर्धी र भट्राई तेस्रो स्थानमा खुम्चिएका थिए । २०७४ को चुनावमा नेपाली कांग्रेसका युवराज गिरीलाई २२ हजारको फराकिलो मतान्तरले जितेका पौडेल २०७९ मा भने रास्वपाका गणेश पौडेलसंग १६३६ मतको झिनो अन्तरले मात्र जित निकालेका थिए । उक्त चुनावमा एमाले विरुद्ध नेपाली कांग्रेस, माओवादीसहित ६ दलको गठबन्धन थियो । पौडेलले २०७९ को चुनावलाई सबैभन्दा प्रतिकूल भन्दै आएका थिए ।
प्रतिक्रिया 4