News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी टी२० विश्वकप २०२६ को फाइनल खेल भारत र न्युजिल्यान्डबीच अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार हुनेछ ।
- भारतले जितेमा टी२० विश्वकप तीनपटक जित्ने पहिलो टिम बन्नेछ भने न्युजिल्यान्डले जितेमा पहिलो पटक विश्वकप उपाधि उचाल्नेछ ।
- फाइनलअघि भारत र न्युजिल्यान्ड दुवै टोलीले आफ्नो तयारी पूरा गरिसकेका छन् र प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा गरिएको छ ।
२३ फागुन, काठमाडौं । आईसीसी टी२० विश्वकप २०२६ को उपाधिका लागि आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा फाइनल खेल्न मैदानमा उत्रँदा भारत र न्युजिल्यान्ड दुवै इतिहास रच्ने लक्ष्यमा हुनेछ ।
साविक विजेता समेत रहेको भारत इतिहास रच्ने अभियानमा नजिक छ भने न्युजिल्यान्डका लागि पहिलो पटक विश्वकप जित्ने अर्को अवसर आएको छ । ग्लोबल स्टेजमा राम्रो प्रदर्शन गरिरहेपनि न्युजिल्यान्ड ट्रफीबाट टाढा रहँदै आएको छ ।
नरेन्द्र मोदी स्टेडियममा उपाधिका लागि प्रतिस्पर्धा गर्नुअघि दुवै टिमले फरक किसिमले फाइनल यात्रा तय गरेका थिए ।
विश्वकपमा राम्रो सुरुवात गरेपनि दक्षिण अफ्रिकासँग सुपर ८ मा हारपछि सम्हालिएर अघि बढेको भारतले अर्को दुई पटकको विजेता इंग्ल्यान्डमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो । न्युजिल्यान्डले उतारचढावपूर्ण यात्रा तय गर्दै समूह चरण र सुपर ८ मा एक-एक हार बेहोरेपनि सेमिफाइनलमा दक्षिण अफ्रिकामाथि ९ विकेटको शानदार जित निकाल्दै उपाधि नजिक पुगेको हो ।
सेमिफाइनलमा भारतका लागि ओपनर सन्जु सामसनले ४२ बलमै ८९ रनको उत्कृष्ट पारी खेलेका थिए । २५३ रनको लक्ष्य डिफेन्ड गर्ने क्रममा एकपटक फेरि जसप्रित बुमराहले उत्कृष्ट बलिङ गरे ।
न्युजिल्यान्डको सेमिफाइनल जित एकपक्षिय जस्तै रह्यो । बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै दक्षिण अफ्रिकालाई १६९ रनमै रोकेपछि फिन एलेनले टी२० विश्वकपकै छिटो शतक (३३ बलमा अविजित १००) बनाउँदै न्युजिल्यान्डलाई शानदार जित दिलाएका थिए ।
फाइनलअघि भारत र न्युजिल्यान्ड दुवै टोली तयार अवस्था छन् । शनिबार भएको प्रि म्याच प्रेस कन्फेरेन्समा न्युजिलयान्डका कप्तान मिचेल सान्टनरले आफूहरु फेभरेट टोली नभएकोले फाइनलमा चुनौती हुने बताए । साथै उनले फाइनलमा घरेलु समर्थकलाई शान्त पार्दै उपाधि जित्ने योजना रहेको पनि सुनाए ।
भारतका कप्तान सूर्यकुमार यादव भने फाइनलअघि निकै रिल्याक्स मोडमा देखिएका थिए । उनले प्रि म्याच प्रेस कन्फेरेन्समा भारतीय टिमलाई फाइनलमा नेतृत्व गर्न पाउनु विशेष रहेको र सबैजना फाइनलका लागि उत्साहित रहेको प्रतिक्रिया दिए ।
जसले जितेपनि इतिहास
फाइनलपछि एक टिमले इतिहास रच्ने पक्का नै छ । भारतले जितेमा टी२० विश्वकप तीनपटक जित्ने पहिलो टिम बन्नेछ र सर्वाधिक उपाधिको कीर्तिमान बनाउनेछ ।
यस्तै उपाधि जितेमा भारत घरेलु मैदानमै उपाधि जित्ने र टी२० उपाधि रक्षा गर्ने पनि पहिलो टिम बन्नेछ । भारतले अहिलेसम्म तीन पटक टी२० विश्वकप खेल्दा सन् २००७ को पहिलो संस्करण र २०२४ मा भएको पछिल्लो संस्सकरणको उपाधि जितेको थियो ।
भारत बाहेक वेस्ट इन्डिज (२०१२ र २०१६) र इंग्ल्यान्ड (२०१० र २०२३) ले पनि समान दुई पटक टी२० विश्वकप जितेका छन् ।
भारत तेस्रो पटक फाइनल खेल्ने चौथो टिम हुनेछ । यसअघि इंग्ल्यान्ड, पाकिस्तान र श्रीलंकाले समान तीन पटक फाइनल खेलेको थियो । त्यसमा इंग्ल्यान्डले दुई पटक उपाधि जित्दा पाकिस्तान र श्रीलंका भने एक पटक विजेता बन्दा दुई फाइनलमा पराजित भएका थिए ।
न्युजिल्यान्डले जितेमा टी२० विश्वकपले नयाँ विजेता पाउनेछ । न्युजिल्यान्डले अहिलेसम्म ओडिआई/टी२० कुनै विश्वकप उपाधि जित्न सकेको छैन । त्यसैले भारतलाई हराएर उपाधि जितेमा पहिलो पटक विश्वकप जित्नेछ ।
न्युजिल्यान्डले सन् २०२१ मा टी२० विश्वकप फाइनल खेलेपनि अस्ट्रेलियासँग पराजित हुँदै उपविजेता बनेको थियो । यस्तै ओडिआई विश्वपकमा सन् २०१५ र २०१९ मा फाइनल पुगेपनि न्युजिल्यान्ड पराजित भएको थियो ।
पछिल्लो एक दशकमा न्युजिल्यान्डले विश्वकपसहित आईसीसीको ५ टुर्नामेन्टमा फाइनल खेलेको थियो । जसमा ओडिआई र टी२० गरी तीन विश्वकप फाइनलमा पराजित भएको थियो भने २०२५ को च्याम्पियन्स ट्रफी फाइनलमा पनि पराजित भएको थियो । सन् २०१९-२१ को पहिलो वर्ल्ड टेस्ट च्याम्पियनसिपमा भने न्युजिलयान्डले भारतलाई हराएर उपाधि जितेको थियो ।
यस पटक आयोजक मध्ये एक भारतलाई नै हराएर न्युजिल्यान्ड उपाधि उचाल्ने लक्ष्यमा छ ।
आखिर जसले जितेपनि यसपटक नयाँ ईतिहास हुनेछ । त्यसैले विश्वकै ठूलो नरेन्द्र मोदी स्टेडियममा हुने फाइनल खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।
फाइनल यात्रा
सहआयोजक भारत यस पटक उपाधिको दाबेदारको रुपमै थियो । त्यही अनुसार भारतले फाइनलसम्म यात्रा तय गर्यो । यसक्रममा सुपर ८ मा दक्षिण अफ्रिकासँग एक खेलमा पराजित भएको भारतले अहिलेसम्म खेलेको ७ मध्ये ६ खेल जितेको छ ।
अर्कोतर्फ न्युजिल्यान्डको फाइनल यात्रामा भने केही उतारचढाव रह्यो । समूह चरणमा चार मध्ये तीन जित र एक हारको नतिजासहित उपविजेता बनेको न्युजिल्यान्ड सुपर एटमा एक जित एक हारको नतिजा निकालेको थियो भने एक खेल रद्ध भएको थियो । न्युजिल्यान्डले फाइनल यात्रासम्म ५ खेल जित्दा २ खेलमा पराजित भएको थियो ।
भारतले समूह चरणमा अमेरिकालाई २९ रनले, नामिबियालाई ९३ रनले, पाकिस्तानलाई ६१ रनले र नेदरल्यान्ड्सलाई १७ रनले पराजित गरेको थियो । यस्तै सुपर ८ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भएको थियो तर जिम्बाब्वेलाई ७२ रन र वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै भारतले सेमिफाइनल यात्रा तय गरेको थियो ।
सेमिफाइनलमा इंग्ल्यान्ड विरुद्ध हाई स्कोरिङ थ्रिलर म्याच ७ रनले जित्दै भारत लगातार दोस्रो पटक फाइनल पुगेको हो ।
न्युजिल्याण्डले समूह चरणमा अफगानिस्तानलाई ५ विकेटले, युएईलाई १० विकेटले र क्यानडालाई ८ विकेटले पराजित गर्दा दक्षिण अफ्रिकासद्दग ७ विकेटले पराजित भएको थियो ।
सुपर ८ मा भने न्युजिल्यान्ड केहि भाग्यमानी बन्यो । पाकिस्तान विरुद्धको पहिलो खेल वर्षाका कारण रद्ध भएपछि अंक बाँडेको न्युजिल्यान्डले त्यसपछि श्रीलंकालाई ६१ रनले हरायो । तर अर्को खेलमा इंगल्यान्डसँग ४ विकेटले पराजित भएपछि न्युजिल्यान्डले सेमिफाइनल पुग्न पाकिस्तान र श्रीलंकाबीचको खेलको नतिजा कुर्नुपरेको थियो । उक्त खेलमा पाकिस्तानले आवश्यक रनरेटमा जित हात पार्न नसकेपछि न्युजिल्यान्ड सुपर ८ को समूह २ को उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो ।
सेमिफाइनलमा न्युजिल्यान्डले प्रतियोगिताको एक मात्र अपराजित टिम दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै फाइनल पुगेको थियो । यस क्रममा न्युजिल्यान्डले दषिण अफ्रिकासँग समूह चरणमा बेहोरेको हारको बदला पनि लियो ।
टी२० विश्वकपमा न्युजिल्यान्ड भारतसँग अपराजित
टी२० विश्वकपमा भारतको इतिहास राम्रो रहेपनि न्युजिल्यान्ड विरुद्ध भने भारतको विगत राम्रो छैन ।
टी२० विश्वकपमा न्युजिल्यान्ड अहिलेसम्म भारतसँग अपराजित छ । यसअघि टी२० विश्वकपमा यी दुई टोलीबीच तीन खेल हुँदा तीनै खेल न्युजिल्यान्डले जितेको थियो ।
सन् २००७ को पहिलो संस्करणमै न्युजिल्यान्डले भारतलाई १० रनले पराजित गरेको थियो ।
दक्षिण अफ्रिकाको जोहानेसवर्गमा भएको पहिलो संस्करणको सुपर ८ मा न्युजिल्यान्डले भारतलाई १० रनले पराजित गरेको थियो । त्यस खेलमा न्युजिलयान्डको कप्तान ड्यानिएल भिटोरीले उत्कृष्ट बलिङ गर्दे ४ विकेट लिएका थिए । पहिले ब्याटिङ गर्दै १९० रन बनाएको न्युजिल्यान्डले भारतलाई १९० रनमै रोकेको थियो । सुपर ८ बाट भारत र न्युजिल्यान्ड शीर्ष दुईमा रहँदै सेमिफाइनल पुगेको थियो । तर न्युजिल्यान्ड सेमिफाइनलमा पाकिस्तानसँग पराजित हुँदै बाहिरियो भने सेमिफाइनलमा अस्ट्रेलियालाई हराएको भारतले फाइनलमा पाकिस्तानलाई नै हराएर पहिलो संस्करणको उपाधि जितेको थियो ।
यस्तै सन् २०१६ मा भारतकै नागपुरमा भएको खेलमा यी दुई टोली समूह चरणमा भिडेका थिए । जहाँ न्युजिल्यान्डले भारतलाई ४७ रनले पराजित गरेको थियो । न्युजिलयान्डले दिएको १२७ रनको लक्ष्य पछ्याएको भारत उक्त खेलमा ७९ रनलै अलआउट भएको थियो । त्यस विश्वकपमा दुवै टोली सेमिफाइनलसम्म पुगेका थिए । तर सेमिफाइनलमा पराजित हुँदा फाइनल पुग्न सकेनन् ।
यस्तै सन् २०२१ मा दुबईमा भएको खेलमा सुपर १२ को खेलमा न्युजिल्यान्डले भारतलाई ८ विकेट पराजित गरेको थियो । भारतले दिएको ११ रनको लक्ष्य न्युजिलयान्डले १४.३ ओभरमै पूरा गरेको थियो ।
इतिहास न्युजिल्यान्डको पक्षमा रहेपनि यस पटक भारतलाई घरेलु मैदान र दर्शकको साथ रहनेछ । तर यस्तै उपाधि दाबेदार हुँदा अहमदाबादस्थित नरेन्द्र मोदी मैदानमै सन् २०२३ को ओडिआई विश्वकप फाइनलमा भारत अस्ट्रेलियासँग पराजित हुँदै उपविजेता बनेको थियो ।
समग्रमा भने भारत र न्युजिल्यान्डबीच टी२०आईमा ३० खेल भएको छ । जसमा भारतले १८ खेल जितेको छ भने न्युजिल्यान्डले ११ खेल जितेको छ । भारत जितेको १८ खेलमा दुई खेल सुपर ओभरमा जितेको थियो । एक खेल भने टाई भएको थियो ।
आईसीसी टी२० विश्वकप २०२६ फाइनल
भारत भर्सेस न्युजिल्यान्ड
मिति : २०२६ मार्च ८
स्थान : नरेन्द्र मोदी स्टेडियम, अहमदावाद
समय : साँझ ७:१५ बजे (नेपाली समय)
कभर तस्बीर: आईसीसी
प्रतिक्रिया 4