+

स्पीनर चम्किँदा पीएम कपमा गण्डकी प्रदेशको ऐतिहासिक जित

२०८२ चैत  १५ गते २०:०८ २०८२ चैत १५ गते २०:०८

राष्ट्रिय टिमका कप्तान रोहित पौडेलसहित अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडी सम्मिलित एपीएफको टोलीलाई हराउन गण्डकीका ब्याटर र बलर दुवैको शानदार प्रदर्शन रह्‍यो ।

स्पीनर चम्किँदा पीएम कपमा गण्डकी प्रदेशको ऐतिहासिक जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गण्डकी प्रदेशको क्रिकेट टोलीले पीएम कपमा विभागीय टोली एपीएफलाई हराउँदै इतिहास रचेको छ ।
  • २१ ओभरको खेलमा गण्डकीले एपीएफलाई ४३ रनले पराजित गरेको छ ।
  • कप्तान बिपिन खत्रीले स्पीन बलिङले जितमा ठूलो भूमिका खेलेको बताए ।

१५ चैत, काठमाडौं । गण्डकी प्रदेशको क्रिकेट टोलीले पीएम कपकै ऐतिहासिक जित हासिल गरेको छ । तल्लो मुलपानी क्रिकेट मैदानमा विभागीय टोली एपीएफ क्लबलाई हराउँदै गण्डकीले इतिहास रचेको हो ।

गण्डकीले पीएम कपको इतिहासमै पहिलोपटक कुनै विभागीय टोलीलाई पराजित गरेको हो । वर्षापछिको वेट आउटफिल्डका कारण ढिला टस भएर २१ ओभरमा घटाइएको खेलमा गण्डकीले एपीएफमाथि ४३ रनको जित हासिल गर्‍यो ।

राष्ट्रिय टिमका कप्तान रोहित पौडेलसहित अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडी सम्मिलित एपीएफको टोलीलाई हराउन गण्डकीका स्पीन बलरको शानदार प्रदर्शन रह्‍यो । ब्याटरले पनि राम्रो प्रदर्शन गरे ।

ब्याटिङमा गौरव विक, दीपक डुम्रे, अर्जुन कुमाल र बिपिन खत्रीले आ-आफ्नो तर्फबाट योगदान दिए । टी-२० सरहकै खेलमा १५० रनको योगफल चूनौतीपूर्ण थियो ।

बलिङमा सुरुवातदेखि नै स्पीनर चम्किए । अपराजित पौडेल र सिब्रिन श्रेष्ठ मिलेर एपीएफको टप अर्डर ध्वस्त बनाएका थिए । सुवास भण्डारीले पनि उस्तै लय देखाए र एपीएफलाई कुनै मौका दिएनन् ।

बाँयाहाते स्पीन बलर बिपिन खत्री नै कप्तान रहेको गण्डकीका लागि स्पीन बलर नै चम्किए र विभागीय टोली एपीएफलाई हार चखाए । स्पीनर अपराजित पौडेल ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

कप्तान बिपिनले जित निकै महत्त्वपूर्ण भएको बताए । ‘पहिले पहिले पनि चूनौति दिएका थियौं, हराउन सक्छौं भन्ने आत्मविश्वास थियो खेलाडीहरूमा । सबै युनिटमा राम्रो गर्‍यौं । हाम्रा खेलाडीहरू टी-२० फर्म्याट खेलिरहने खालको भएर आज शर्ट म्याचमा त्यसले पनि सहयोग पुग्‍यो’ बिपिनले भने ।

‘मधेश प्रदेशमा जानुअघि जितका साथ जान चाहन्थ्यौं । अब हुने खेलहरूका लागि धेरै आत्मविश्वास बढेको छ, राम्रो जित निकाल्न सक्यौं भने माथि आउन सक्छौं’ बिपिनले भने ।

स्पीनरको कसिलो बलिङ, चलेन एपीएफको ब्याटिङ

एपीएफले २१ ओभरको खेल भएकाले लोकेश बमलाई आसिफसँगै ओपनिङ पठाएको थियो । तर लोकेशले छाप छाड्न सकेनन् । ९ बल खेलेका लोकेश अपराजितको बलमा १४ रन बनाएर आउट भए ।

पहिलो खेलमा शतक बनाएपछि लय गुमाइरहेका आसिफलाई पनि अपराजितले नै १४ रनमा आउट गरे । त्यसबीचमा कप्तान रोहित पनि सिब्रिनको बलमा बोल्ड भइसकेका थिए ।

यसघि ओपनिङ गर्ने दिपक बोहरा ६ रन अनि सन्दीप जोरा ८ रनमा क्रमश: पौडेल र सिब्रिनको बलमा आउट भएपछि एपीएफको इनिङ धराशायी बनेको थियो । एपीएफ ४७-५ को अवस्थामा पुग्यो ।

त्यसपछि युवराज खत्री ७ रन अनि अमरसिंह राउटेला शून्यमै आउट भएपछि एपीएफ ६१-७ को अवस्थामा पुग्‍यो । सुमित महर्जनले कमलसिंह ऐरीसँग मिलेर केहीबेर सम्हाले पनि कमल १७ रनमा आउट भए भने त्यसपछि सुमित आफैं २२ रनमा आउट भए ।

गण्डकीका अपराजितले ५ ओभरमा ३१ रन दिएर ३ विकेट लिए । सिब्रिनले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिए । सुवास भण्डारीले २ अनि कप्तान बिपिन खत्रीले १ विकेट लिए ।

खेलपछि कुरा गर्दै अपराजितले टिमको जितमा योगदान दिन पाउँदा धेरै खुसी लागेको बताए । ‘धेरै केही सोचेको थिएनौं, ठाउँमा बलिङ गर्ने भन्ने सोच थियो, उनीहरू ठूलो शटका लागि जान्छन् भन्ने थाहा थियो, राम्रो बलिङ गर्‍यौं अनि सफल भयौं’ उनले भने ।

‘आज हामी धेरै स्पीनर लिएर खेलेका थियौं, एनपीएल खेलेका खेलाडीहरू छन्, त्यहीभएर आजको खेल जित्न सक्छौं भन्ने मनोबल उच्च थियो’ अपराजितले थपे ।

अपराजितले आगामी खेलमा पनि राम्रो प्रदर्शन गरेर टिमलाई जय ट्रफीमा छनोट गराउने लक्ष्य रहेको बताए ।

कप्तान बिपिनले विकेट बलरलाई सहयोग गर्ने किसिमको भएको बुझेको बताए । ‘बल रोकिएर आइरहेको थियो, घुमिरहेको थियो भन्ने बुझेर स्पीनरलाई सुरुदेखि लगायौं, त्यही अनुसार अपराजित, सिब्रिनले राम्रो गरे’ उनको भनाइ थियो ।

ब्याटिङमा गण्डकीको प्रभावशाली प्रदर्शन

वर्षाले प्रभावित भएको तल्लो मुलपानी क्रिकेट मैदानमा जमेको पानी सुकाएर ढिला गरी टस भएको थियो र खेल २१ ओभरमा झारिएको थियो । गण्डकीले टस जितेर ब्याटिङ रोज्यो ।

ओपनर गौरव विक र अर्जुन कुमालले राम्रो सुरुवात दिलाएका थिए । गौरव ३७ अनि अर्जुन २५ रनमा आउट भएपनि गण्डकीले राम्रो सुरुवात पाइसकेको थियो ।

दीपक डुम्रेले ३४ कप्तान बिपिनले अविजित २० अनि दिनेश बुढामगरले १९ रन बनाएपछि गण्डकीले १५० रनको योगफल खडा गर्‍यो ।

ओभरकास्ट कन्डिशनमा यो टोटल राम्रो मानिएको थियो । गण्डकीले डिफेन्ड पनि गर्‍यो । कप्तान बिपिनले आफूहरू यस्तो कन्डिशनमा खेल्न अभ्यस्त रहेको बताए ।

‘हामी अब पोखराकै खेलाडी, यस्तो कन्डिशनमा त खेलिरहेका हुन्छौं । राम्रो योगफल बन्यो भने डिफेन्ड गर्न सक्छौं भन्ने थियो’ बिपिनले भने ।

***

गण्डकीले प्रतियोगितामा पहिलो जित दर्ता गर्दै ४ खेलबाट ३ अंक जोडेर पुछारको स्थान छाडेको छ र आठौं स्थानमा उक्लिएको छ । एपीएफले पनि ४ खेलमा ३ अंक नै जोडेको छ र सातौं स्थानमा छ।

अब पीएम कपका बाँकी सबै खेल मधेश प्रदेशमा हुनेछन् । हालसम्म त्रिभुवन आर्मी क्लब र मधेश प्रदेश मात्र अपराजित टोलीका रूपमा छन् । आर्मीले ४ खेलमा ३ जितसहित ७ अंक जोडेको छ र शीर्षस्थानमा छ ।

४ खेलमा ५ अंक जोडेको पुलिस दोस्रो स्थानमा छ भने मधेश ५ अंकसहित नेट रनरेटमा पछि परेर तेस्रो स्थानमा छ । सुदूरपश्चिम ३ खेलमा ४ अंक जोडेर चौथो अनि लुम्बिनी र कर्णाली ३ खेलमा समान ३ अंक जोडेर क्रमश: पाँचौं र छैटौं स्थानमा छन् ।

४ खेलमा एक जितसहित २ अंक भएको बागमती नवौं अनि ४ खेलमा १ अंक मात्र भएको कोशी पुछारमा छ ।

पीएम कप क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय