News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी पुस्ताले टेक्स्ट म्यासेजलाई प्राथमिकता दिँदै फोन कललाई तनाव र बाधाको रूपमा लिने गरेको छ।
आजको प्रविधिक संसारमा हुर्किएको नयाँ पुस्ता अर्थात् जेनजीमा सञ्चारको अनौठो बानी छ । उनीहरू प्राय: साथीभाइलाई ठेगाना सोध्न होस् वा खाना अर्डर गर्न, फोन कलको साटो टेक्स्ट म्यासेज पठाउन बढी सहज महसुस गर्छन् ।
कतिपयले यसलाई अल्छीपनाको रूपमा हेरे तापनि विज्ञहरूले टेलिफोबिया अर्थात् फोन कलसँग सम्बन्धित एक प्रकारको मानसिक चिन्ताको संज्ञा दिएका छन् । बेलायतमा गरिएको एक अध्ययनका अनुसार करिब ५६ प्रतिशत जेनजी उमेर समूहकाहरूले फोन कलको जवाफ दिन मन नपराउने बताएका थिए ।
अचानक आउने फोनको घण्टी तनावको कारण बन्ने उनीहरूको भनाइ थियो । कतिपय अवस्थामा भने उनीहरूले आफ्ना अभिभावकलाई समेत फोन कल नगर्न आग्रह गर्ने बताएका थिए । त्यसको कारणमा उनीहरू कलमा भन्दा च्याट, सोसल मिडियाका डिएम र मिममा अभ्यस्त हुनु मानिएको छ ।
सञ्चारका विज्ञहरूका अनुसार टेक्स्ट म्यासेजमा प्रयोगकर्तालाई फोन कलमा सम्भव नहुने सुरक्षा प्राप्त हुन्छ । जस्तो, टेक्स्टमा आफूले पठाउने कुरालाई पटक-पटक सच्याउन, हिज्जे जाँच गर्न सकिन्छ । कुनै प्रश्नको जवाफ दिनुअघि गुगलमा खोज्ने वा सोच्ने समय टेक्स्टमा पाइन्छ । कलहरू रियल-टाइम र अनफिल्टर हुन्छन्, तर टेक्स्टमा त्यस्तो हुँदैन । टेक्स्ट मेसेजको यही विशेषताका कारण पनि जेनजी पुस्ताले कललाई अलि टाढै राख्न थालेको बताइन्छ ।
त्यस्तै यस पुस्ताका धेरै युवाहरूले फोन कललाई कुनै जरुरी काम वा नराम्रो समाचारको संकेतको रूपमा लिने गरेका छन् । उनीहरूका लागि बिना जानकारी आउने फोन कलले बाधा पुर्याउने बहाना मात्र हुन्छ ।
यद्यपि यो बानीले कार्यस्थल र सामाजिक सम्बन्धमा भने असर पर्दै गइरहेको छ । किनकि फोन कलहरूलाई पूरै बेवास्ता गर्दा सक्रिय रूपमा सुन्ने बानी, वार्ता गर्ने क्षमता, अरूको भावना बुझेर तुरुन्तै प्रतिक्रिया दिने कला जस्ता वैयक्तिक सीपहरूमा असर पर्ने गर्छ ।
यसकारण नवपुस्ताबाट यो समस्या हटाउन बेलायत जस्ता देशहरूमा कार्यशालाहरू समेत गर्न थालिएको छ । त्यहाँ बालबालिकाहरूलाई फोन कलप्रतिको डर हटाउन सिकाइने गरिन्छ । किनकि सञ्चार भनेको शब्दहरूको आदानप्रदान मात्र नभई यो एकअर्कासँग जोडिने मानवीय पक्ष पनि हो ।
प्रतिक्रिया 4