+
+
Shares

रुकुम पूर्वको सुनदहलाई पर्यटन गन्तव्य बनाउने प्रयास सुरु

पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले सुनदहलाई ‘विशिष्ट भौगोलिक विशेषता बोकेको गन्तव्य’ का रूपमा उल्लेख गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते १७:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पुथा उत्तरगंगा गाउँपालिकामा निर्माण गरिएको सुनदह प्रवर्द्धन गर्ने वृत्तचित्रको प्रिमियर भएको छ।
  • पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सुनदहलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न पूर्वाधार निर्माण र समन्वय आवश्यक बताए।
  • सुनदह प्राकृतिक, जैविक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण स्थल हो र यहाँ दुर्लभ वन्यजन्तु तथा जडीबुटी पाइन्छ।

१७ चैत, काठमाडौं ।  पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदह प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको वृत्तचित्र (डकुमेन्ट्री) प्रिमियर गरिएको छ ।

पुथा उत्तरगंगा गाउँपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको प्रिमियर कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुनदहलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै विशेष गन्तव्यका रूपमा विकास गरिनुपर्ने बताए ।

उनले पूर्वाधार निर्माण, प्रभावकारी प्रचारप्रसार र समन्वयात्मक पहल आवश्यक रहेको समेत जोड दिए ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले सुनदहको डकुमेन्ट्रीको प्रस्तुति र छायांकनको प्रशंसा गरे । ‘सुनदहको वास्तविक सौन्दर्य जीवन्त रूपमा प्रस्तुत गरिएको छ,’ उनले भने ।

उनले पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र स्थानीय तहबीच सहकार्य बढाएर सुनदह प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । साथै, रुकुम पूर्वजस्तो हिमाली जिल्लामा पर्यटन विकासका लागि भौतिक पूर्वाधार निर्माण अपरिहार्य रहेको उल्लेख गरे ।

आगामी बजेटमार्फत पुराना योजनालाई निरन्तरता दिने र रुकुम पूर्वका पर्यटन गन्तव्य प्रवर्द्धनका लागि बजेट व्यवस्थापनका लागि पहल गर्नेसमेत बताए ।

लुम्बिनी प्रदेश सांसद दिलकुमारी बुढाले सुनदहलाई ‘स्वर्गबाट चोइटिएर खसेको टुक्रा’ को संज्ञा दिँदै आन्तरिक तथा वाह्य पर्यटकलाई भ्रमण गर्न आग्रह गरिन् । उनले यसको प्रवर्द्धनमा आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पारिन्  ।

त्यसैगरी पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले सुनदहलाई ‘विशिष्ट भौगोलिक विशेषता बोकेको गन्तव्य’ का रूपमा उल्लेख गरे । उनले सुनदह सहित रुकुम पूर्वका पर्यटन गन्तव्य ब्रान्डिङ गर्नुपर्ने बताए ।

‘हामीले देशभरि रहेका नयाँ गन्तव्य खोजी गर्ने र तिनलाई विशिष्ट पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्नेछ,’ उनले भने ।

स्थानीय तहले पर्यटन प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गर्दै उनले  समन्वय र सहकार्य थप सुदृढ बनाउनुपर्ने धारणा राखे ।

पुथा उत्तरगंगा गाउँपालिका–३ का अध्यक्ष बमबहादुर बुढाले  सुनदहको पर्यटन विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्न सरोकारवालासँग अनुरोध गरे ।

‘सडक, पुल तथा अन्य आधारभूत संरचनाको विकासविना पर्यटनको दिगो प्रवर्द्धन सम्भव नहुने भएकाले पालिका र वडाको बजेटले पुग्दैन,’ उनले भने, ‘यसका लागि प्रदेश सरकार र केन्द्र सरकारले बजेट विनियोजन गर्न आग्रह गर्दछु ।’

त्यस्तै पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले सुनदहमा अपार पर्यटकीय सम्भावना रहेको उल्लेख गर्दै यसको प्रवर्द्धनका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको बताए ।

उनले पुथा उत्तरगंगा सांस्कृतिक रूपमा पनि समृद्ध रहेको उल्लेख गर्दै एकीकृत रूपमा पर्यटन विकास अगाडि बढाउनुपर्ने धारणा राखे ।

२८ मिनेटको डकुमेन्ट्री प्रिमियर कार्यक्रमले सुनदहलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा स्थापित गर्नेमा गाउँपालिका अध्यक्षले विश्‍वास व्यक्त गरे ।

समुद्र सतहबाट ४ हजार ४ सय ३५ मिटर उचाइमा रहेको सुनदह प्राकृतिक, जैविक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण स्थलका रूपमा चिनिन्छ ।

यहाँ रेड पान्डा, कस्तुरी लगायत दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु र चराचुरुङ्गी, यार्सागुम्बा जस्ता बहुमूल्य जडीबुटी पाइने भएकाले जैविक विविधता दृष्टिले समेत यसको उच्च महत्त्व छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?