+
पीएम कप क्रिकेट :

५० ओभर टिकेर खेल्नै सक्दैनन् प्रदेशका टिम, कहिले होला सुधार ?

२०८२ चैत  २० गते १७:५४ २०८२ चैत २० गते १७:५४

टेस्ट क्रिकेटको आधार नै ब्याटरको धैर्यता र बलरको अनुशासन हो, जुन ५० ओभरको खेलबाट मात्रै निखारिन्छ। तर, पीएम कपमा टिमहरू ५० ओभर टिक्नै सकिरहेका छैनन् ।

५० ओभर टिकेर खेल्नै सक्दैनन् प्रदेशका टिम, कहिले होला सुधार ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा प्रदेशका टोलीहरूले ५० ओभरको पूरा इनिङ टिक्न नसक्दा नेपालको टेस्ट क्रिकेटको सपना जोखिममा परेको छ।
  • हालसम्म २५ खेलमध्ये २१ खेलमा अधिकांश टोलीले ५० ओभर खेल्न नसकेको र विभागीय टोलीहरू मात्र व्यावसायिक प्रदर्शन देखाएको तथ्यांक छ।
  • नेपाल क्रिकेट संघले बहुदिवसीय जय ट्रफीको दायरा विस्तार गर्ने र ५० ओभरको घरेलु प्रतियोगिता बढाउने प्रतिबद्धता जनाएको छ।

२० चैत, काठमाडौं । नेपाली क्रिकेटको घरेलु संरचनामा मेरुदण्ड मानिने प्रधानमन्त्री कप (पीएम कप) को आठौं संस्करणसम्म आइपुग्दा एउटा तितो यथार्थ फेरि दोहोरिएको छ- हाम्रा प्रादेशिक टोलीहरूलाई ५० ओभरको पूरा इनिङ टिकेर खेल्न अझै निकै हम्मेहम्मे परिरहेको छ।

विगतका संस्करणहरू झैं यसपटक पनि मैदानमा एउटै दृश्य देखिन्छ: नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब व्यावसायिकता र अनुभवका आधारमा हावी भइरहँदा अर्को विभागीय एपीएफ निरीह बन्दै गइरहेको छ भने बाँकी सातै प्रदेशका टोलीहरू भने ५० ओभर खेल्ने धैर्यता भन्दा पनि क्रिजमा आत्मसमर्पण गर्ने हतारोमा देखिन्छन्।

प्रदेशका टोलीहरूको लय समयसँगै सुधार हुँदै आउनुपर्नेमा ‘जस्ताको त्यस्तै’ देखिनुले नेपाली क्रिकेटको ग्रासरूट संरचनामाथि नै गम्भीर प्रश्न खडा गरेको छ।

अन्तर्राष्ट्रिय स्तरमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता जोगाइराख्न र भविष्यमा ‘टेस्ट राष्ट्र’ को ऐतिहासिक खुड्किलो उक्लिनका लागि ५० ओभरको क्रिकेटमा बलियो पकड हुनु अनिवार्य शर्त हो।

टेस्ट क्रिकेटको आधार नै ब्याटरको धैर्यता र बलरको अनुशासन हो, जुन ५० ओभरको खेलबाट मात्रै निखारिन्छ। तर, पीएम कपका अघिल्ला संस्करणदेखि अहिलेसम्मको तथ्यांक हेर्ने हो भने प्रदेशका टोलीहरू २० ओभरदेखि ४० ओभरको बीचमै समेटिने क्रम रोकिएको छैन।

जबसम्म हाम्रा घरेलु खेलाडीहरूले विभागीय टोलीको कसिलो बलिङ र ५० ओभरको मानसिक दबाब झेल्न सिक्दैनन्, तबसम्म नेपालको ‘टेस्ट स्टाटस’ को सपना केवल कागजमै सीमित हुने देखिन्छ।

आधुनिक टी-२० को छिटो नतिजा खोज्ने होडबाजीका बीच ५० ओभरको महत्त्वलाई नबुझ्ने हो भने, यसले दीर्घकालीन रूपमा नेपाली क्रिकेटको प्राविधिक जगलाई नै कमजोर बनाउने निश्चित छ ।

यस्तो छ प्रदर्शन

जारी संस्करणमा हालसम्म २५ खेल सकिएका छन् । २५ खेलमध्ये ४ खेल वर्षाले प्रभावित हुँदा रद्द भए । बाँकी २१ खेलमा टिमले ५० ओभर खेलेको विरलै देखिएको छ ।

विभागीय टिमसँग ५० ओभर खेल्न कठिन देखिएपनि प्रदेशबीच एकआपसमा हुने खेल पनि स्तरीय देखिएका छन् । यस्तोमा पिचकै कारणले मात्र यो नभएको क्रिकेट विश्लेषकहरूले बताउँदै आएका छन् ।

यस संस्करणमा पूरा ५० ओभरको खेल सम्भव भएको दिन पहिले ब्याटिङ गर्दा विभागीय टोलीबाहेक अन्य टोलीको कुरा गर्दा एक पटक मात्र ५० ओभर खेलेका छन् । बागमतीले माथिल्लो मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशविरुद्ध ५० ओभर खेलेर २९४ रनको योगफल बनाएको थियो । बागमतीले पनि मधेश झरेपछि केही संघर्ष गरेको छ तर खेल भने जितेको छ ।

प्रदेशमध्ये कोशी सबैभन्दा खराब लयमा देखिएको छ । कोशीले ५ खेलमध्ये पहिलो खेलमा अंक बाँडेपछि कुनै खेल जित्न सकेको छैन । ४ खेलमध्ये २ खेलमा पहिले ब्याटिङ गरेको कोशीले ५० ओभर खेल्न सकेन । बाँकी २ खेलमा पनि लक्ष्य पछ्याउँदा खराब प्रदर्शन गरेको थियो ।

कर्णाली प्रदेशले पनि १ खेलमा अंक बाँड्दा बाँकी ४ मध्ये ३ खेलमा पहिले ब्याटिङ गर्दा ५० ओभर खेल्न सकेन । अर्को खेलमा लक्ष्य पूरा गर्ने क्रममा सस्तैमा समेटियो ।

लुम्बिनी प्रदेशले एक खेलमा अंक बाँडेको थियो । लुम्बिनी प्रदेश एक खेलमा ३ बल अगावै अलआउट भएको थियो । अन्य खेलमा भने लुम्बिनीले पहिले ब्याटिङ गर्नुपरेको छैन । लक्ष्य पछ्याउने क्रममा पनि प्रदर्शन भने राम्रो छैन ।

यता सुदूरपश्चिमले भने २ खेलमा पहिले ब्याटिङ गरेर ५० ओभर खेल्न नसकेपनि त्यसमध्ये १ खेल जित्दा १ खेलमा पराजित भयो । बाँकी दुई खेल लक्ष्य पछ्याउँदै जितेर सुदूरले ५ खेलमा ४ खेल जितेको छ ।  मधेश प्रदेशले लुम्बिनीविरुद्ध १२४ रनमा अलआउट भएर लुम्बिनीलाई उल्टै ९९ रनमा अलआउट गर्दै खेल जितेको छ ।

बागमतीपछि गण्डकी प्रदेशको अन्यभन्दा सन्तोषजनक प्रदर्शन देखिएको छ । गण्डकीले विभागीय टिम त्रिभुवन आर्मी क्लबविरुद्ध ४९.४ ओभरसम्म टिकेर २०९ सन जोडेको थियो । बाँकी खेलमा गण्डकीले लक्ष्य पछ्याउन परेको छ वा ओभर घटाइएको छ ।

यस्तै विभागीय भएतापनि एपीएप क्लब भने निरीह देखिएको छ । एपीएफले पहिलो खेलमा बागमती प्रदेशविरुद्ध माथिल्लो मुलपानी क्रिकेट मैदानमा २७२ रन बनाएको थियो । त्यसयता प्रदर्शन खस्कँदो छ । गण्डकीविरुद्ध ओभर घटाइएको खेलमा पराजित भयो भने लुम्बिनी प्रदेशविरुद्ध ५० ओभर नखेली १२४ रनमै अलआउट समेत भयो ।

यी सबै प्रदर्शनबाट के देखिन्छ भने, पीएम कपको नवौं संस्करणसम्म आइपुग्दा पनि टिमहरू सन्तुलित भइसकेका छैनन् । एक-दुईबाहेक अन्य खेलाडीहरू संयमित भएर खेल्न सकिरहेका छैनन्, वा भने ती लामो फर्म्याटका लागि बनेकै होइनन् ।

यसअघिका संस्करणमा पनि टिमहरू ५० ओभर नखेलेका थुप्रै उदाहरण छन् । गत संस्करणमा कोशी प्रदेश गण्डकी प्रदेशविरुद्ध २५ रनमै अलआउट भएको थियो । त्यसअघिको संस्करणमा कोशीले गण्डकीलाई ३१ रनमा अलआउट गरेको थियो ।

यस्तै गत संस्करणमै सुदूरपश्चिम प्रदेश मधेशविरुद्ध ५८ रनमा अलआउट भएको थियो भने बागमतीविरुद्ध कर्णाली पनि ५८ रनमै अलआउट भएको थियो । प्रदेशमध्ये संरचनागत हिसाबले सबैभन्दा बलियो मानिने बागमती आफैं पनि एपीएफविरुद्ध ७४ रनमा अलआउट भयो ।

यी सबै प्रदर्शनहरू हेर्दा पीएम कप सातवटै प्रदेशका टिमबीच हुने भएपनि टेक्निकल्ली भन्नुपर्दा विभागीय टोलीबीच कसले फाइनल खेल्ने औपचारिकताजस्तो मात्रै देखिने गरेको छ ।

धैर्यताको कमी

विशेषगरी खेलाडीहरू ५० ओभर टिक्नै नसक्नुको एउटा मुख्य कारण भनेको ब्याटरमा धैर्यता नहुनु हो । टी-२० मा धेरै सक्रिय भइरहने खेलाडीहरू यो समस्याबाट सबैभन्दा बढी ग्रसित छन् ।

५० ओभरको खेलमा क्रिजमा टिकेर स्ट्राइक रोटेट गर्ने काम सबैभन्दा महत्त्वपूर्ण हुन्छ । तर ब्याटरहरू क्रिजमा प्रवेश गरेसँगै धेरै महत्त्वाकांक्षी बन्न थाल्छन् र अनावश्यक शट खेलेर आउट हुने गरेका छन् ।

हाल लुम्बिनी प्रदेशका प्रशिक्षक एवं पूर्वखेलाडी वसन्त शाहीले पनि खेलाडीहरू हतासमा आउट हुने गरेको बताउँछन् । ‘सुरुका खेलहरूमा फ्रेश विकेट थियो । तर पिच त्यति खराब पनि होइन। टी-२० को ह्याङओभर अझै सकिएको छैन’ उनले भने, ‘विकेट पनि ब्याटरले खराब शट खेलेर गइरहेको छ, चाह्यो भने टिकेर खेल्न सकिने विकेट छ।’

शाहीले काठमाडौंको पिच केही राम्रो रहेको समेत बताए । यद्यपी मधेशमा त्यस्तै पिच खोजेर नपाइने तर कन्डिशन अनुसार खेल्न सक्नुपर्छ । ‘अहिलेको कन्डिशनमा काठमाडौंमा केही बेटर पिच होला, तर मधेशमा त्यस्तै खोजेर पनि हुँदैन । पिच ब्याटरकै लागि भनेर बनाएको पनि हुँदैन, मलाई लाग्छ ५०-५० नै छ विकेट’ शाहीले भने ।

काठमाडौंकै खेलमा पनि टिमहरूले विकेट फालिरहेको देखिएको छ । विशेषगरी शीर्षक्रमका ब्याटरले धैयर्ता नदेखाउँदा टिम नै धराशायी बन्ने गरेको छ । प्रतियोगिता अघि बढ्दै जाँदा अझ बलरलाई फेभर गर्ने हुँदा प्रशिक्षक शाहीले ब्याटिङम ध्यान दिनुपर्ने बताए ।

बागमती प्रदेशका ब्याटर इशान पान्डेले पनि विकेट बचाएर खेल्नुपर्ने विषय औंल्याएका थिए । ‘अब शीर्ष ४ ब्याटरले नै राम्रो नखेल्ने हो भने त विभागीय टिमसँग कसरी ब्यालेन्स्ड गेम देखाउन सकिन्छ र ? टिकेर खेल्न सक्नुपर्छ’ इशानले भनेका छन् ।

यसैबीचमा नेपाल पुलिस क्लबले भने कोशी प्रदेशसँग ११-४ को अवस्थामा हुँदादेखि त्यसपछि कुनै विकेट नगुमाई १६५ रनको लक्ष्य पूरा गरेर संयमता र धैर्यताको महत्त्‍व अनि उपयोगिताको राम्रो उदाहरण दिएको छ ।

सीमित घरेलु प्रतियोगिता 

पीएम कप नेपालमा हुने एकमात्र ५० ओभरको प्रतियोगिता हो जुन् एकदेखि डेढ महिनासम्म चल्छ । यसबीचमा राष्ट्रिय टिमका देखि प्रदेश र जिल्लामा खेलेका खेलाडीहरू सहभागी हुन्छन् ।

तर पीएम कप सकिएपछि अर्को एक वर्षसम्म दुई दिवसीय जय ट्रफीबाहेक यसप्रकारको घरेलु प्रतियोगिता हुँदैन । यसबीचमा धेरै खेलाडीहरू टी-२० लिगदेखि जिल्लागत प्रतियोगिताहरूमा व्यस्त हुन्छन् ।

टी-२० मै बढी केन्द्रित हुँदा खेलाडीहरू ५० ओभरको खेलका लागि कहिले पनि सेट हुनै सक्दैनन् । त्यही कारण राष्ट्रिय टिमकै खेलाडीहरूमा पनि ओडिआईको लय राम्रो देखिँदैन ।

यिनै कारणहरूले गर्दा घरेलु क्रिकेटलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने मागहरू पनि उठिरहेका छन् । ५० ओभरकै अन्य प्रतियोगिता हुनुपर्ने विषयमा पनि चर्चा भइरहेको हुन्छ ।

प्रशिक्षक शाहीले ५० ओभरको प्रतियोगिता संख्या बढाएर लानुपर्ने टिप्पणी गरेका छन् । ‘हामीसँग अब वर्षको एउटा मात्र प्रतियोगिता भइरहेको छ, जबसम्म ५० ओभरको प्रतियोगिता अझ बढी हुँदैन तबसम्म यसमा अभ्यस्त हुन गाह्रै देखिन्छ’ शाहीले भने ।

यस्तै बहुदिवसीय प्रतियोगिता जय ट्रफीकै दायरा बढाउने मागहरू समेत देखिँदै आएको छ । पीएम कपकै शीर्ष ४ टोली खेल्ने जय ट्रफीको दायरा बढाएमा अन्य प्रदेशका खेलाडीहरू पनि लामो फर्म्याटमा भिज्‍न सक्छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले आगामी वर्षहरूमा जय ट्रफीको दायरा बढाउँदै लगिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कमजोर प्रदर्शन पीएम कप क्रिकेट
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय