News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल कबड्डी लिग (एनकेएल) र रियालिटी शो ‘नेपहपको श्रीपेच’ बीच सहकार्य भएको छ, जसअन्तर्गत खेलसँगै हिपहप संगीत संयोजन हुनेछ।
- एनकेएल सिजन २ आगामी जेठ २२ गते त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सुरु हुनेछ र ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।
- १६ देशका १ सय बढी विदेशी खेलाडीले नाम दर्ता गरेका छन् र प्लेयर्स ड्राफ्टबाट टिमहरूले खेलाडी छनोट गर्नेछन्।
२० चैत, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) र रियालिटी शो ‘नेपहपको श्रीपेच’ बीच सहकार्य भएको छ, जसअन्तर्गत आगामी सिजनमा खेलसँगै हिपहप संगीतको संयोजन देख्न पाइनेछ।
जेन्जी पुस्तामाझ लोकप्रिय ‘नेपहपको श्रीपेच’ एनकेएलको रियालिटी शो पार्टनर बनेको हो। आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्ट र शोका संस्थापक सुदीप पोखरेलबीच शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। यो सहकार्य एनकेएल सिजन २ र ‘नेपहपको श्रीपेच’ सिजन ३ का लागि गरिएको हो।
एस्ट्रोनिक्सका सीईओ विकास अग्रवालले खेल र मनोरञ्जनलाई जोड्ने यो सहकार्यले नयाँ आयाम थप्ने बताए। ‘एनकेएल र नेपहपको सहकार्यले नेपालमा एउटा नयाँ युगको सुरुआत गर्दै स्पोर्ट्स र इन्टरटेन्मेन्टलाई हेर्ने तरिका नै परिवर्तन गर्दैछ । हामी एउटा मुभमेन्ट निर्माण गरिरहेका छौं । जहाँ कबड्डीको शक्ति र हिपहपको आवाज मिलेर नयाँ कथा लेख्नेछ । अब कबड्डी केवल खेल होइन, यो युवाको आवाज हो, संस्कृतिको ऊर्जा हो र यो देशको नयाँ पहिचान बन्नेछ’ अग्रवालले भने ।
संस्थापक पोखरेलले रियालिटी शो र खेल लिगबीच पहिलोपटक यस्तो सहकार्य हुनुले कलाकार र खेलाडी दुवैलाई नयाँ अवसर सिर्जना गर्ने उल्लेख गरे। उनका अनुसार शोका र्यापरहरूले एनकेएलका टोलीका लागि एन्थम तयार गर्नेछन्, जसले खेलमा थप ऊर्जा भर्नेछ।
कार्यक्रममा नेपहपको श्रीपेचका निर्णायकद्वय भियोमा र मानस घले पनि उपस्थित थिए । उनीहरूले र्याप र एनकेएलको सहकार्यले खेल र संगीत दुवैलाई फाइदा पुग्ने बताए । एनएकेएल सिजन २ को एन्थम पनि भियोमाले तयार गरेका हुन् ।
आगामी जेठ २२ गतेदेखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सुरु हुने एनकेएल सिजन २ मा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। सम्झौताअनुसार ‘नेपहपको श्रीपेच’ का प्रतिस्पर्धीहरूले विभिन्न टोलीका लागि एन्थम बनाउनेछन् र विजेताले नगद पुरस्कार पनि पाउनेछन्।
सिजन २ मा विराटनगर बाहुबली, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, बुटवल बुल्स र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गर्नेछन्।
एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकमार बेगानीले विश्वकै उत्कृष्ट खेलाडीहरू एनकेएल सिजन २ खेल्नका लागि नेपाल आउन लालयित रहेको बताएका छन् ।
१६ देशका १ सय बढी बिदेशी खेलाडीले नाम दर्ता गरेका छन् । प्लेयर्स ड्राफ्टबाट टिमहरूले खेलाडी छनोट गर्नेछन् ।
प्रतिक्रिया 4