+
+
Shares

मध्यपूर्व तनावको असर : रुपन्देहीका उद्योगहरु ‘सटडाउन’को अवस्थामा

भैरहवा भन्सार कार्यालयका निमित्त प्रमुख सन्तोष न्यौपानेले पनि फलाम र प्लास्टिकजन्य कच्चा पदार्थको आयात प्रभावित भएको स्वीकार्दै आगामी दिनमा यसको गम्भीर असर उद्योग क्षेत्रमा पर्ने संकेत देखिइसकेको बताए ।

टोपराज शर्मा टोपराज शर्मा
२०८२ चैत २४ गते ९:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुपन्देहीका उद्योगीहरूले अमेरिका–इजरायल र इरान युद्धले कच्चा पदार्थ मूल्य वृद्धि गरी उद्योगहरू बन्द हुने अवस्थामा पुगेको भन्दै सरकारसँग तत्काल कदम माग गरेका छन्।
  • रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले प्लाष्टिकजन्य कच्चा पदार्थको मूल्यमा सय प्रतिशतसम्म वृद्धि भएको र उद्योगहरू उत्पादन घटाउन बाध्य भएको बताए।
  • उद्योगीहरूले कच्चा पदार्थ आयातमा सहुलियत, ढुवानी लागत नियन्त्रण, बैंक ब्याजदरमा राहत र विद्युत् महसुलमा अस्थायी राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन्।

२४ चैत, बुटवल । अमेरिका–इजरायल र इरान युद्धको प्रभावका कारण रुपन्देहीका धेरै उद्योगहरू बन्द हुने (सटडाउन)को अवस्थामा पुगेको भन्दै तत्काल प्रभावकारी कदम थाल्न उद्योगीहरुले सरकारसँग माग गरेका छन् ।

रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले मध्यपूर्व युद्धका कारण पेट्रोलियम पदार्थ सहित कच्चा पदार्थको मूल्य वृद्धि, ढुवानी भाडा वृद्धि, बीमा शुल्क तथा अन्य प्रशासनिक खर्चमा समेत वृद्धि हुँदा उद्योगहरूको समग्र लागत संरचना असन्तुलित बनाएको र बन्द हुने अवस्थामा पुगेको बताए ।

उनका अनुसार विशेषगरी प्लाष्टिकजन्य उद्योगहरूमा प्रयोग हुने कच्चा पदार्थको मूल्यमा सय प्रतिशतसम्म वृद्धि भएको छ । उद्योगीहरूका अनुसार पहिले प्रतिटन ९ सय डलरमा पाइने प्लाष्टिक दाना अहिले १५ सय डलरसम्म पुगेको छ ।

रुपन्देही उद्योग संघले विज्ञप्ति नै निकालेर भनेको छ, ‘हाल मध्यपूर्वका देशहरूमा जारी द्वन्द्वको प्रत्यक्ष असरले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा भएको अस्वाभाविक वृद्धिका कारण रुपन्देही सहित देशभर सञ्चालनमा रहेका अधिकांश उद्योगहरू ‘सटडाउन’को अवस्थामा पुग्ने जोखिम बढेको छ ।’ लागत नियन्त्रण बाहिर जाँदा उद्योगहरू उत्पादन घटाउन बाध्य भएको र आंशिक रूपमा बन्द हुने अवस्थामा पुगेको संघको भनाइ छ ।

यसैगरी बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष उपेन्द्र अग्रवालले सम्झौताअनुसार कच्चा पदार्थ आयायत हुन छाडेपछि उद्योग सञ्चालनमा  ठूलो अन्योल सिर्जना गरेको गुनासो गरे । ‘भारतीय कम्पनीहरूले नेपाली उद्योगको अर्डर लिन छाडेका छन् भने दक्षिण कोरिया, भियतनाम वा थाइल्यान्डबाट ल्याउन ढुवानी लागत र समयका कारण सम्भव छैन,’ अग्रवालले भने ।

रुपन्देही–भैरहवा–बुटवल औद्योगिक करिडोरमा केन्द्रित उद्योगहरूमा झन्डै २० देखि २५ अर्ब रुपैयाँ लगानी भएको उद्योगीहरूको भनाइ छ । यस क्षेत्रले ५ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

युनाइटेड प्लास्टिक उद्योगका सञ्चालक खिमनारायण पराजुलीले एलसी खोलेको सामानसमेत भारतीय सप्लायर्सले नपठाएकाले अबको एक हप्ताभित्र कच्चा पदार्थ नआए धेरै उद्योग बन्द गर्नुपर्ने अवस्था रहेको बताए ।

भैरहवा भन्सार कार्यालयका निमित्त प्रमुख सन्तोष न्यौपानेले पनि फलाम र प्लास्टिकजन्य कच्चा पदार्थको आयात प्रभावित भएको स्वीकार्दै आगामी दिनमा यसको गम्भीर असर उद्योग क्षेत्रमा पर्ने संकेत देखिइसकेको बताए ।

लुम्बिनी प्रदेशमा मात्रै साना–ठूला गरी करिब २५२ वटा प्लास्टिक उद्योग सञ्चालनमा छन् । विशेषगरी रुपन्देही–भैरहवा–बुटवल औद्योगिक करिडोरमा केन्द्रित उद्योगहरूमा झन्डै २० देखि २५ अर्ब रुपैयाँ लगानी भएको उद्योगीहरूको भनाइ छ । यस क्षेत्रले ५ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

तत्काल कदम चाल्न सरकारलाई आग्रह

रुपन्देही उद्योग संघका महासचिव सुमन बस्यालका अनुसार संकटमा परेका उद्योगलाई जोगाउन सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने आवश्यक छ । कच्चा पदार्थ आयातमा सहुलियत, ढुवानी लागत नियन्त्रण, बैंक ब्याजदरमा राहत तथा उद्योग सञ्चालनका लागि आवश्यक वित्तीय सहुलियत उपलब्ध गराउन जरुरी रहेको उनको भनाइ छ । साथै विद्युत् महसुल तथा अन्य सेवा शुल्कमा अस्थायी राहत उपलब्ध गराउन सरकारको ध्यान जान अपरिहार्य रहेको उनले बताए ।

उत्पादन घट्दै गए रोजगारीमा प्रत्यक्ष असर पर्ने जोखिम रहेको रुपन्देही उद्योग संघले जानएको छ । ‘उद्योग बन्द हुने अवस्थामा पुग्दै गर्दा यसको प्रभाव श्रमिक, आपूर्ति श्रृंखला, ढुवानी व्यवसाय, बैकिङ तथा समग्र आर्थिक गतिविधिमा पर्ने निश्चित रहेकाले यसमा सरकारको तत्काल ध्यान जान जरुरी छ,’ संघले जारी गरेको विज्ञप्तीमा लेखिएको छ, ‘हाल कच्चा पदार्थको आपूर्ति समस्याले समग्र बजारमा अत्याधिक मूल्यवृद्धि बढ्दै गएको छ । यस्तो अवस्थामा नियमनकारी निकायको प्रभावकारी अनुगमन आवश्यक देखिएको छ । अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न तथा आपूर्ति व्यवस्थापन सहज बनाउन सम्बन्धित निकायले तत्काल आवश्यक पहल गर्नुपर्ने अवस्था देखिएको छ ।’

उद्योग क्षेत्र देशको आर्थिक मेरुदण्ड भएकाले उद्योगहरू बन्द हुँदा राजस्व संकलन घट्ने, बेरोजगारी बढ्ने तथा समग्र आर्थिक गतिविधि प्रभावित हुने चिन्ता छ ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?