+
+
Shares

निफमा पुलिस-थ्रीलर ‘राजागञ्ज’ सर्वोत्कृष्ट फिल्म, नाजिर र सुरक्षाले जिते अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते ११:५५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा दीपक रौनियार निर्देशित 'राजागञ्ज ः पूजा सर'ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड जितेको छ।
  • समुन्द्र भट्ट निर्देशित 'गुन्यू चोलो : द ड्रेस'ले सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र र भट्टले उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन्।
  • निफ चैत १९ गतेबाट सुरु भएको र ललितकला प्रज्ञा-प्रतिष्ठानमा सम्पन्न भएको छ, जहाँ विभिन्न विधामा अन्तर्राष्ट्रिय र राष्ट्रिय चलचित्रहरू सम्मानित भएका छन्।

काठमाडौं । नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड दीपक रौनियार निर्देशित ‘राजागञ्ज ः पूजा सर’ले जितेको छ ।

ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न फेस्टिभलको समापन समारोहमा उक्त फिल्मले पन्ध्र सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्‍यो ।

उक्त पुलिस थ्रीलर फिल्मले मधेशको परिवेशको कथा भन्छ । थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितेको उक्त फिल्ममा आशा मगराती, दयाहाङ राई लगायतको शीर्ष भूमिका छ ।

सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र पुरस्कार समुन्द्र भट्ट निर्देशित ‘गुन्यू चोलो : द ड्रेस’ले पाएको छ । यो फिल्मले एक हजार अमेरिकी डलर प्राप्त गर्‍यो । भट्टले यही फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड जितिन् ।

यही फिल्मबाट नाजिर हुसेनले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जिते । ‘कोशेढुङ्गा’बाट सुरक्षा पन्तले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् ।

राष्ट्रियतर्फ सर्वोत्कृष्ट पटकथाकारको अवार्ड चलचित्र ‘केटी हराएको सूचना’बाट दीपेन्द्र गौचन प्राप्त गरे । सर्वोत्कृष्ट सिनेम्याटोग्राफरको अवार्ड चलचित्र ‘कोशेढुङ्गा’बाटै बाबु श्रेष्ठले पाए ।

दक्षिण एसियाली चलचित्र अन्तर्गतको प्रतिस्पर्धामा नेपाली भाषाको भारतीय फिल्म ‘जार’ सर्वोत्कृष्ट घोषित भयो । फुर्वा छिरिङ लामा निर्देशित यस चलचित्रले ५ सय अमेरिकी डलर प्राप्त गर्‍यो ।

सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्रीको अवार्ड आइसल्यान्डको ‘ग्राउन्ड बिनिथ आवर फिट’ले पायो । इर्सा रोका फ्यानबर्ग निर्देशित यस डकुमेन्ट्रीलाई एक हजार अमेरिकी डलर प्रदान गरियो ।

सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय सर्ट फिल्मको अवार्ड ’सिप’ले पायो । हादी बाबेइफरद्वारा निर्देशित इरानको यस सर्ट फिल्मले ५ सय अमेरिकी डलर प्राप्त गर्‍यो ।

सर्वोत्कृष्ट एआई थिम्ड सर्ट फिल्मको अवार्ड जितेको ‘स्पिरिट अफ द माउन्टेन’ले ५ सय अमेरिकी डलर पायो । यो पाङ जियाद्वारा निर्देशित यो चिनियाँ सर्ट फिल्म हो ।

सर्वोत्कृष्ट विद्यार्थी चलचित्रको अवार्ड मेक्सिकोको चलचित्र ‘पासारिन्हो’ घोषित भएको छ । यो चलचित्रलाई पाँच सय डलर र ट्रफीले सम्मान गरिएको छ ।

सर्वोत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री विधामा दीपक छोदेन लामाद्वारा निर्देशित ‘होम इज नट अ प्लेस’ र सर्वोत्कृष्ट राष्ट्रिय सर्ट फिल्मको विधामा सुरज पौडेलद्वारा ‘रिहाना’ घोषित भए । यी दुवैले ट्रफी र पचास हजार रुपैयाँ प्राप्त गरे ।

डन किहोते सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड इरानी फिल्म ‘माई डटर्ज हेयर’ले पायो । हेसाम फराहमान्दद्वारा निर्देशित यस फिल्मलाई प्रमाणपत्रले सम्मान गरिएको छ ।

स्पेशल मेन्सन राष्ट्रिय डकुमेन्ट्री विधामा ङिमा गेलु शेर्पाद्वारा निर्देशित ‘एज डे गोज बाइ’ उत्कृष्ट बन्यो । यसलाई प्रमाणपत्रले सम्मान गरियो । स्पेशल मेन्सन अन्तर्राष्ट्रिय सर्ट फिल्म विधामा भारतको ‘हाउसकिप्पर’ उत्कृष्ट घोषित भयो ।

स्पेशल जुरी मेन्सन अन्तर्राष्ट्रिय चलचित्र अवार्डको विधा भने चिनियाँ फिल्म ‘द शोर अफ लाइफ’ ले जित्यो । प्रमुख अतिथि हार्तम्छालीले अवार्ड कार्यक्रम आयोजना गरी विदेशी फिल्म उद्योगसँग नेपाली फिल्मलाई जोड्ने र सम्बन्ध विस्तारको काम गरेको भन्दै धन्यवाद व्यक्त गरे ।

अध्यक्ष पाठकले निफ सफल पार्न सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरे । यस संस्करणको निफ चैत १९ गतेबाट सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?