News Summary
Generated by OK AI. Editorially reviewed.- शल्यक्रियाको तयारीमा सर्जनले बिरामीको कथा, आशा र जीवनलाई गहिरो रूपमा अवलोकन गरी योजना बनाउँछन्।
- एनेस्थेसिया टिमले बिरामीको मूल्यांकन गरी बहोस बनाउने जोखिम र तयारी सुनिश्चित गर्छ।
- शल्यक्रिया टोलीले सहकार्यमा जोखिम कम गर्ने, जटिलता पहिचान गर्ने र सुरक्षित शल्यक्रिया सम्पन्न गर्ने प्रतिबद्धता जनाउँछन्।
शल्यक्रियाको अघिल्लो साँझ र त्यसपछि आउने त्यो सन्नटा सर्जनका लागि कहिल्यै शान्त हुँदैन ।
बाहिर अँध्यारो फैलिँदै जान्छ, तर मनभित्र तर्कनाहरूको तुफान चल्न थाल्छ ।
राउन्डमा बिरामीहरूलाई हेर्दै गर्दा, त्यो केवल रोगी शरीर मात्र देखिदैन, त्यहाँ एउटा कथा देखिन्छ, एउटा आशा, एउटा जीवन ।
तब हामी उनीहरूको त्यो जिजिविषालाई गहिरो अवलोकन र महसुस गछौं । जसरी हुन्छ बचाउने यत्नमा लाग्छौं । हामी मनमनै उनीहरूको शल्यक्रियाको खाका तयार गर्न थाल्छौं ।
शल्यक्रिया, एउटा जीवनको विर्निमाण । यो सामान्य कुरा हुँदै होइन ।
यहाँ सवाल एउटा मान्छेको जीवनसँग मात्र हुँदैन । उनको भरोसा र आशासँग हुन्छ । त्यसैले हामी शल्यक्रिया अघि त्यसको तयारी, खाका, समयरेखा सबैकुरा तय गर्न थाल्छौं ।
शल्यक्रिया एक प्रक्रिया हो र यसले पूर्णता पाउनका लागि निश्चित खाका बनाउनुपर्ने हुन्छ । यसका लागि हामीले आफ्ना सहकर्मीसँग छलफल गर्नुपर्ने हुन्छ । कसरी सबैभन्दा सुरक्षित तरिका अपनाउने ? कसरी जोखिम कम गर्ने ? कसरी सम्भावित जटिलतालाई पहिल्याउने ?
यावत् कुरामा सहकर्मीसँग छलफल हुन्छन्, अनुभव र ज्ञानले परिमार्जित हुन्छन् । त्यसरी एउटा योजना केवल सोच होइन, एउटा सामूहिक प्रतिबद्धता बन्छ ।
शल्यक्रियाका लागि बेहोस् बनाउनुपर्ने हुन्छ । कहिले प्रभावित अंगमा त कहिले पूरै शरीर । यो भनेको एउटा मान्छेलाई चेतनाशून्य अवस्थामा पुर्याउनु हो । यसका लागि एनेस्थेसिया टिमले काम गर्छ । एनेस्थेसिया टिमले बिरामीको पूर्ण मूल्यांकन गरेको छ कि छैन, बहोस बनाउँदा अरु जोखिम हुन्छ कि हुँदैन, सो कुराको टुंगो गर्नुपर्ने हुन्छ ।
त्यसपछि रगत र अन्य सामाग्री तयार छ वा छैन सुनिश्चित गर्नुपर्छ । यहाँसम्म आइपुग्दा सबैभन्दा महत्वपूर्ण हुन्छ, उनको परिवार । के उनीहरू तयार छन् ? केवल जानकारी लागि होइन, भावनाका लागि पनि ।
उनीहरूको आँखामा भरोसा हुन्छ, तर त्यो भरोसाभित्र लुकेको डर हामी स्पष्ट देख्छौं ।
त्यसैबेला हामी अर्को एउटा लडाइँको तयारीमा हुन्छौं, यो केवल रोगसँगको लडाइँ होइन, यो समय, जोखिम र अनिश्चिततासँगको लडाइँ पनि हो ।
मैले आफ्नो करियरको २५ वर्ष अप्रेसन थिएटरमा बिताएँ । त्यहाँको चिसो र तातो दुवे कुरा अनुभव गरें । कति जटिल शल्यक्रिया गरियो । कति मान्छेलाई मृत्युको मुखबाट फर्काइयो । तर, अहिले पनि मन कहिल्यै ढुक्क हुँदैन ।
म अझै पनि भोलिको शल्यक्रिया सपनामा देख्छु । अनुभवले हातलाई निपुण बनाउँछ, तर मनलाई सधैं विनम्र बनाइराख्छ । किनकि हामी जान्दछौं, सबै कुरा हाम्रो योजना अनुसार नहुन पनि सक्छ ।
तर हरेक बिहान नयाँ विश्वास लिएर सुरु हुन्छ । एक शान्त प्रार्थना, एक गहिरो आत्मविश्वास,
र एउटा मूल मन्त्र– ‘हानि नगर’ ।
आस्था जुनसुकै रूपमा होस्, हाम्रो मनको आधार हो । त्यही आधार समातेर हामी अपरेशन थियटरतर्फ अघि बढ्छौं, जहाँ विज्ञान र विश्वास एकै ठाउँमा भेटिन्छन् ।
पहिलो चिरफारभन्दा अघि, समय केवल पर्खाइ होइन, तयारी हो । कहिलेकाहीँ मिनेट, कहिलेकाहीँ घण्टौँ बिरामीको पोजिसन मिलाउनमै बित्छ । किनकि सही पोजिसन भनेको सफलताको पहिलो कदम हो । सही रूपमा राखिएको शरीरले शल्यक्रियालाई सहज र सुरक्षित बनाउँछ ।
एनेस्थेसिया केवल औषधि होइन,यो विश्वासको जिम्मेवारी हो ।
बिरामीलाई सुताउनु मात्र होइन, सुरक्षित रूपमा होसमा फर्काउनु नै यसको साँचो सफलता हो ।
प्रत्येक सास, प्रत्येक धड्कनलाई ध्यानपूर्वक सुन्ने गरिन्छ।
कहिलेकाहीँ सचेत अवस्थामै टाउकोको शल्यक्रिया जस्ता प्रक्रियामा बिरामी स्वयं त्यो यात्राको हिस्सा बन्छ, अद्भूत र संवेदनशील क्षणहरू ।
त्यसपछि सुरु हुन्छ अपरेशन थियटरको मौन समन्वय । नर्सहरूको सिप, उपकरणहरूको तयारी, चेकलिस्टहरूको सावधानी । हरेक कुरा एक लयमा अघि बढ्छ, जसमा गल्तीका लागि कुनै ठाउँ हुँदैन ।
शल्यक्रिया कहिल्यै एक व्यक्तिको काम होइन ।
यो सधैं एउटा टोलीको कथा हो, नर्स, रेसिडेन्ट, एनेस्थेसियोलोजिस्ट, टेक्निसियन, सहयोगी कर्मचारी र सर्जनहरू । एकै उद्देश्य, एकै ध्यान, उत्तम परिणाम ।
शल्यक्रिया सुरु भएपछि समयको अर्थ हराउँछ । घडी रोकिन्छ जस्तो लाग्छ । त्यहाँ केवल ध्यान हुन्छ पूर्ण, गहिरो, अविचल ।
कहिलेकाहीँ जटिलता आउँछ । अचानक रक्तस्राव, शरीरको असन्तुलन । त्यस्ता क्षणहरूले हाम्रो धैर्य र सीपको परीक्षा लिन्छन्। तर त्यही बेला टोली अझ मजबुत बन्छ ।
हामी सम्हाल्छौं, नियन्त्रण गर्छौं, र फेरि अगाडि बढ्छौं ।
म मेरा सहकर्मीहरूलाई भन्छु, ‘यो क्षणमा मेरो मुटुको धड्कन कस्तो होला भनेर महसुस गर ।’
किनकि शल्यक्रिया केवल हातको काम होइन, यो मनको यात्रा पनि हो । र त्यस बीचमा, हाम्रो मन बिरामीको परिवारतर्फ जान्छ।
बाहिर प्रतीक्षारत आमाको आँखा, बुबाको मौन प्रार्थना, बालकको भविष्यको सपना । हामी केवल शरीरको उपचार गरिरहेका हुँदैनौं, हामी एउटा परिवारको आशा जोगाइरहेका हुन्छौं ।
शल्यक्रियाको समयमा, हामी सबै कुरा बिर्सिन्छौं । समय, थकान, दिन, रात, संसार सबै । त्यहाँ केवल एउटा लक्ष्य रहन्छ– सुरक्षित रूपमा, कुनै कमी बिना, शल्यक्रिया सम्पन्न गर्नु ।
किनकि शल्यक्रिया कुनै निर्दयी प्रक्रिया होइन । यो शुद्धता हो । यो करुणा हो । यो जिम्मेवारी हो । यो मानवताको सबैभन्दा संवेदनशील रूप हो ।
जब बिरामी सुरक्षित रूपमा होसमा फर्किन्छ, जब उसको अनुहारमा जीवन फेरि झल्किन्छ, जब परिवारको आँखामा खुसीका आँसु देखिन्छ, त्यही क्षण हाम्रो सबैभन्दा ठूलो पुरस्कार हो ।
त्यसपछि मात्र, मन केही बेर शान्त हुन्छ । तर त्यो शान्ति पनि क्षणिक हो किनकि फेरि अर्को साँझ आउनेछ, अर्को रात आउनेछ, र अर्को एउटा लडाइँ हाम्रो प्रतीक्षामा हुनेछ ।
यही हो सर्जनको जीवन– निरन्तर, निस्वार्थ, र जीवनप्रति समर्पित ।
प्रतिक्रिया 4