+
+
Shares

बेलायत पढ्न आएर शरणार्थी, एक वर्षमै मागे ४७५ नेपालीले शरण

सानो डुंगा चढेर गैरकानुनी रूपमा बेलायत छिरेका तीन जना र बेलायत आइसकेपछि ४७२ जना नेपालीले शरणार्थी दाबी गरेका थिए ।

नवीन पोखरेल नवीन पोखरेल
२०८२ चैत २४ गते १८:४०

२४ चैत, लन्डन । बेलायतमा शरण दाबी गर्ने नेपालीको संख्या गत वर्ष ४७५ रहेको गृह मन्त्रालयको तथ्यांकले देखाएको छ ।

सन् २०२५ डिसेम्बर अन्तिमसम्म बेलायतमा कूल एक लाख ६२५ जनाले शरण दाबी गरेकामध्ये नेपालीको संख्या ४७५ रहेको हो ।

तथ्यांकअनुसार, सानो डुंगा चढेर गैरकानुनी रूपमा बेलायत छिरेका तीन जना र बेलायत आइसकेपछि ४७२ जनाले शरणार्थी दाबी गरेका थिए ।

आवेदकमध्ये पुरुष ३२८ र महिला १४७ छन् । त्यसमा मुख्य आवेदक ४४८ र डिपेन्डेन्ट २७ जना छन् । त्यस्तै, १८ वर्ष मुनिका ११ जना, १८ देखि २९ वर्षसम्म ४०६ जना (८५ प्रतिशत), ३० देखि ४९ वर्षका ५२ जना (११ प्रतिशत) र ५० देखि ६९ वर्षका ६ जना (एक प्रतिशत) रहेको तथ्यांकमा उल्लेख छ ।

१८ देखि २९ वर्षसम्मका ८५ प्रतिशत आवेदक विद्यार्थी हुन् ।

विगत ५ वर्षको तथ्यांक केलाउने हो भने सन् २०२० मा १०४, २०२१ मा १८२, कोभिड महामारीका बेला २०२२ मा सबैभन्दा बढी १२६३ जना, २०२३ मा ७०४ र २०२४ मा ७१८ जनाले ‘असाइलम’ आवेदन दिएका थिए ।

पछिल्लो वर्ष बेलायतमा शरण दाबी गर्नेहरूको संख्या घटेको छ तर २०२१ अघिभन्दा भने धेरै छ । सन् २०२५ डिसेम्बरसम्म बेलायतमा कूल एक लाख ६२५ जनाले शरण दाबी गरेका थिए, जुन २०२४ डिसेम्बरको तुलनामा ४ प्रतिशत कम थियो । तर २०१९ डिसेम्बरको तुलनामा २ गुणा बढी हो ।

विगत ५ वर्षको तथ्यांक केलाउने हो भने सन् २०२० मा १०४, २०२१ मा १८२, कोभिड महामारीका बेला २०२२ मा सबैभन्दा बढी १२६३ जना, २०२३ मा ७०४ र २०२४ मा ७१८ जनाले ‘असाइलम’ आवेदन दिएका थिए ।

गत वर्ष कूल आवेदकमध्ये १२ हजार ५७८ जना विद्यार्थी थिए भने १३ हजार ५५७ वर्क भिसामा रहेका र ७ हजार ५२१ जना भिजिट भिजामा बेलायत आएका थिए ।

गत वर्ष असाइलम दाबी गर्ने प्रमुख १० देश पाकिस्तान, इरिट्रिया, इरान, अफगानिस्तान, बंगलादेश, सुडान, भारत, सोमालिया, नाइजेरिया र भियतनामका नागरिक छन् ।

सरकारको भनाइमा कतिपय आप्रवासीहरूले बेलायत आइपुग्ने बित्तिकै शरण दाबी गर्छन् भने कतिपय केही समय बेलायतमा रहिसकेपछि वा केही भिसा सकिने अन्तिम समयमा आफ्नो मूल देश फर्कन असमर्थ वा अनिच्छुक भएर शरण दाबी गर्ने गर्छन् ।

जाति, धर्म, राष्ट्रियता, राजनीतिक विचारधारा वा आफ्नो देशको सामाजिक, सांस्कृतिक, धार्मिक वा राजनीतिक अवस्थाका कारण मानिस उत्पीडनमा परेको छ, असुरक्षित छ भने त्यो व्यक्ति असाइलम आवेदन गर्न योग्य हुने सरकारको मापदण्ड छ ।

तर, नेपालीको हकमा देशमा अहिले द्वन्द्व नभएको, राजनीतिक स्थायित्व उन्मुख र सुरक्षा प्रत्याभूति हुने भएकाले असाइलम केस सफल हुने सम्भावना निकै कम रहेको सोलिसिटर राजु थापा बताउँछन् ।

सरकारले गत महिना मार्च २ देखि शरण दाबी गर्नेहरूले स्थायीबाट अस्थायी रूपमा मात्र बसोबास (शरण) पाउने नियम परिवर्तन गरेको छ ।

नयाँ नियमअनुसार, शरणार्थी दाबी गर्ने सबै वयस्कका लागि प्रत्येक ३० महिनामा समीक्षा गरिने छ । आफ्नो देशमा अझै पनि खतरा सामना गर्नुपर्ने शरणार्थीका लागि भिसा नवीकरण गरिने तर जसको देश अब सुरक्षित भएको छ भन्ने हुन्छ, उसलाई घर फर्काइने छ ।

बेलायतको सत्तारुढ लेबर पार्टीको शुभेच्छुक संस्था ‘नेपाली फर लेबर’ का अध्यक्ष डा. बच्चुकैलाश कैनीले शरणार्थीहरूलाई स्थायी रूपमा बस्न नदिने सरकारको नयाँ नियमका कारण अहिले आवेदन संख्या घट्दै गएको हुन सक्ने बताए ।

लेबरको डाटफोर्ड समितिमा अल्पसंख्यक समुदायलाई प्रतिनिधित्व गर्ने ‘ब्ल्याक एन्ड माइनोरिटी इथ्निक’ (बीएमई) अफिसरसमेत रहेका कैनीले अध्ययन वा घुम्न बेलायत आएर धेरैजसो नेपाली यतै शरणार्थी बन्न आवेदन दिन्छन् भन्ने भाष्य गलत भएको उल्लेख गरे ।

ईयू पनि आप्रवासन नियन्त्रणतर्फ

युरोपेली सङ्घ (ईयू) ले समेत आप्रवासन नियन्त्रणलाई अझ कडा बनाउने नीति तय गरेको छ । ईयूले आप्रवासीको निगरानी, पक्राउ र निर्वासनको दायरा विस्तार गरिरहेको जनाइएको छ ।

२७ राष्ट्रको यो समूहले आप्रवासीहरूलाई युरोप प्रवेश गर्नुअघि नै रोक्ने, तेस्रो देशहरू विशेषगरी अफ्रिकी मुलुकमा पठाउने र भित्र प्रवेश गरेपछि छिटो निर्वासन गर्ने नीति अघि बढाइरहेको छ । सन् २०२४ मा विभिन्न देशमा दक्षिणपन्थी दलहरूको उदयपछि यस्तो नीति झन् कडाइका साथ लागु गर्न थालिएको विश्लेषकहरूको बुझाइ छ ।

‘आप्रवासन र शरण सम्झौता’ नाम दिइएको नयाँ नीति जुन १२ देखि लागु हुने तय भएको छ ।

बेलायत सरकारले सन् २०२४ जुलाईदेखि अहिलेसम्म करिब ६० हजार मानिसलाई निर्वासित गरिसकेको जनाएको छ भने सन् २०२५ मा मात्रै करिब ९ हजार अवैध कामदार पक्राउ परेका छन् ।

लेखक
नवीन पोखरेल

नवीन पोखरेल अनलाइनखबरका लागि बेलायतका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?