+
+
Shares

पर्यटनमा मध्यपूर्व संकट असर कम गर्नेबारे बोर्डले थाल्यो छलफल

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले वर्तमान पर्यटक आगमन स्थिति तथा समग्र प्रभावबारे प्रस्तुति दिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १५:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन बोर्डले मध्यपूर्व संकटले हवाई सम्पर्क र पर्यटक आगमनमा पार्ने असर न्यूनीकरणका लागि वैकल्पिक रणनीतिबारे छलफल थालेको छ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सरकारले नेपाललाई सुरक्षित र सहज आवागमनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताउनुभयो।
  • पर्यटन बोर्ड उपाध्यक्ष रामप्रसाद सापकोटाले अन्तर्राष्ट्रिय समुदायलाई नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश दिनुपर्ने र हवाई भाडामा सरकारले सहुलियत दिन आवश्यक रहेको उल्लेख गर्नुभयो।

२६ चैत, काठमाडौं । नेपाल पर्यटन बोर्डले मध्यपूर्वमा चर्किएको संकटले नेपालको प्रमुख स्रोत बजार, हवाई सम्पर्क र पर्यटक आगमनमा पार्ने असर न्यूनीकरणका लागि वैकल्पिक रणनीतिबारे छलफल थालेको छ ।

बोर्डले बिहीबार आयोजना गरेको ‘मध्यपूर्व संकट र यसको नेपाली पर्यटनमा प्रभाव’ विषयक अन्तर्क्रियामा सरोकारवालाले संकटलाई चुनौतीमात्र नभई अवसरका रूपमा समेत लिनुपर्ने धारणा राखेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले मध्यपूर्व क्षेत्र नेपालको प्रमुख पर्यटन स्रोत बजारमध्ये एक भएको र युरोप तथा अमेरिकी पर्यटक आगमनको गेटवे भएकाले यस संकटले हवाई सम्पर्क र पर्यटक आगमनमा असर पुर्‍याउने बताए ।

‘सरकारले नेपाललाई सुरक्षित र सहज आवागमनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्न प्रतिबद्ध छ,’ उनले भने, ‘यसका लागि विशेष टास्कफोर्स गठन गरिएको छ, जसले अबको मार्गचित्र तय गर्ने छ ।’

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले वर्तमान पर्यटक आगमन स्थिति तथा समग्र प्रभावबारे प्रस्तुति दिएका थिए ।

बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले समयमै सूचना प्रवाह र वैकल्पिक हवाईमार्ग खोजी अत्यावश्यक रहेको बताए । ‘हामीले अन्तर्राष्ट्रिय समुदायलाई नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश दिनुपर्छ,’ उनले भने, ‘इन्धन मूल्यवृद्धिका कारण भाडा बढेको छ, त्यसलाई सम्बोधन गर्न हवाई भाडामा सरकारले सहुलियत दिन आवश्यक छ ।’

त्यसैगरी परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले विश्व अहिले जटिल अन्तरनिर्भर अवस्थामा रहेको भन्दै यो अस्थिरताले नेपालको पर्यटनमा पर्न सक्ने क्षति न्यूनीकरणका लागि सरकारले तयारी गरिरहेको बताए । ‘हामीले आफ्ना कूटनीतिक नियोगहरूसँग समन्वय गर्दै वैकल्पिक रुटबारे छलफल गरिरहेका छौं,’ उनले भने ।

पर्यटन बोर्ड सदस्य नरेन्द्रदेव भट्टले वैकल्पिक हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा जोड दिए । बोर्ड सदस्य तथा नाट्टा अध्यक्ष कुमारमणि थपलियाले वैकल्पिक रुटमा जोड दिँदै काठमाडौं–हङकङ रुटमार्फत उडान सञ्‍चालनका लागि पहल गर्नुपर्ने सुझाव दिए ।

त्यस्तै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) अध्यक्ष सागर पाण्डेले मध्यपूर्व हुँदै हुने यात्रामा अनिश्चितता बढेको भन्दै वैकल्पिक मार्ग र इन्धन सहुलियत आवश्यक रहेको बताए ।

होटल एसोसिएसन नेपाल (हान) अध्यक्ष विनायक शाहले युरोपबाट नेपाल आउन चाहने पर्यटकले आफ्ना बुकिङ रद्द गरिरहेको उल्लेख गर्दै विकल्पमा काम गर्नुपर्ने बताए ।

नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो) अध्यक्ष विश्वेश श्रेष्ठले करिब ४७ प्रतिशतसम्म बुकिङ रद्द भएको जानकारी दिँदै यसको दीर्घकालीन असर पर्ने उल्लेख गरे । उनले पर्यटक बोक्ने उडानलाई सहुलियत दिनुपर्ने बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एयरपोर्ट अपरेसन विभाग निर्देशक सन्तुष्टकुमार बस्नेतले संकट व्यवस्थापनका लागि एओसीसी गठन गरिएको जानकारी गराए । विमानस्थलमा ११ पार्किङ, ५ वाइडबडी क्षमता र दैनिक १९ ल्यान्डिङको सीमितता रहेको तर ३०  एयरलाइन्स सञ्चालनमा रहेको भन्दै उनले पार्किङ र ल्यान्डिङ क्षमता अभाव चुनौती बनेको धारणा राखे ।

एयर इन्डियाका प्रतिनिधिले इन्धन मूल्यवृद्धि भए पनि कुनै उडान रद्ध नभएको उल्लेख गर्दै लचिलो बुकिङ प्रणाली लागु गरिएको बताए ।

टुरगान अध्यक्ष थानेश्वर देवकोटाले गाइड नै पर्यटक सन्तुष्टिको मुख्य आधार भएकाले सहकार्य आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?