+
+
Shares

यसरी जन्मिएको थियो धुरन्धर, यसरी चम्केका थिए आदित्य

यद्यपि फिल्म सफल भएता पनि केही समीक्षकहरूले यसलाई सरकारको पक्षमा प्रोपागान्डा भनेर टिप्पणी गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक आदित्य धरको फिल्म धुरन्धर: द रिभेन्जले भारतका मुख्य शहर र विदेशमा हाउसफुल हुँदै बक्स अफिसमा नयाँ कीर्तिमान बनाएको छ।

अहिले निर्देशक आदित्य धरको फिल्म धुरन्धर: द रिभेन्जले बक्स अफिसमा नयाँ कीर्तिमान बनाइरहेको छ । भारतका मुख्य शहर तथा विदेशका धेरै जसो ठाउँहरूमा यो फिल्म लाग्दा करिब हाउसफुल थियो । भलै हिन्दी फिल्मका लागि यस्तो क्रेज वा हाउसफुल हुनु आज सामान्य कुरा हो ।

तर, ती भारती दर्शक रहेको अधिकांश हलहरूमा एउटा साझा दृश्य देखिएको थियो । फिल्मको क्रेडिट रोलमा लेखक निर्देशकको नाममा आदित्य धर आउँदा पूरा हल तालीले गुञ्जिएको थियो ।

सामान्यतया भारतीय व्यावसायिक सिनेमामा ताली स्टारहरूका लागि मात्र बज्छ, निर्देशक वा लेखकका लागि बज्दैन । तर, त्यसमा आदित्य धर अपवाद बने । उनले इतिहास नै रचे । उनले यो काम उही धुरन्धरमार्फत गरेका हुन् ।

तपाईंहरूमध्ये कतिपयले धुरन्धर हेरिसक्नुभएको हुन सक्छ । यसो हुँदा तपाईं यसको कथाबारे जानकार हुन सक्नुहुन्छ । तर यसलाई रच्ने आदित्य धरको कथा सायद तपाईंलाई थाहा छैन ।

यो कथा त्यहीँ केटोको हो, जसको सपना क्रिकेटको पिचमा आफ्नो स्पिनले ब्याट्सम्यानलाई छक्का खुवाउने थियो ।

बाल्यकार र क्रिकेट

१९८३ मा दिल्लीको कश्मिरी पण्डित परिवारमा जन्मेका आदित्य धरकी आमा दिल्ली विश्वविद्यालयमा काम गर्थिन् । यसैले दिल्लीमा नै आदित्यको पढाइ भयो । बाल्यकाल बित्यो । त्यहाँ पढाइसँगै उनलाई क्रिकेटको नशा बस्यो । उनले स्पिनर बन्ने सपना राखेका थिए । भारतीय क्रिकेट टोलीको जर्सी लगाउने रहर राखेका थिए ।

त्यसका लागि उनले लागि पनि परिरहेका थिए । तर उनी अन्डर १९ विश्वकपको टोलीमा छनौट हुन पाएनन् । सकेनन् । त्यसपछि उनले क्रिकेटर बन्ने आफ्नो सपना त्यागिदिए ।

त्यसबेला डिस्लेक्सिया (पढ्न र लेख्न गाह्रो हुने अवस्था) का कारण उनको पढाइ पनि कमजोर नै थियो । यतिसम्म कि उनको रुचिको क्षेत्र भएता पनि उनलाई डेढ सय पेजको स्क्रिप्ट पढ्न गाह्रो हुन्थ्यो । तर, गाह्रै भएता पनि फिल्म बनाउने भनेर आजभन्दा ठिक २० वर्षअघि अर्थात् २००६ मा उनी मुम्बई पुगे । अनि सुरुवाती १०/१२ वर्ष संघर्ष र गुमनाममै बिताए ।

गीतकारका रूपमा पहिलो सफलता

फिल्म क्षेत्रमा आदित्य धरको पहिलो काम गीतकारका रूपमा बाहिर आयो । बलिउड फिल्म काबुल एक्सप्रेसका लागि उनले लेखेको काबुल फिजा नामक गीत निकै हिट भएको थियो ।

यसै अवधिमा आदित्यले सर्ट फिल्म बुन्दको स्क्रिप्ट र संवाद लेख्न भ्याए । फिल्मले राष्ट्रिय पुरस्कार पनि प्राप्त गर्‍यो । त्यसबाहेक आदित्यले धेरै स्क्रिप्ट र स्टोरी आइडियामा काम गरे । तीमध्ये धेरै सफल बने । तर करियरको सुरुआती समय भएर सायद उनले कतै पनि क्रेडिट पाएनन् । यी अनुभवहरूले उनलाई निकै निराश मात्र बनाइरह्यो ।

२०१० मा भने आदित्यले सहायक निर्देशकका रूपमा प्रियदर्शनसँग काम पर्न मौका पाए । त्यसबाट उनले कमर्सियल फिल्म मेकिङ र स्क्रिन राइटिङका सूक्ष्म कुराहरू सिके । जुन कुरा कामको अनुभवले मात्र सिकाउन सक्थ्यो ।

त्यसैबिच उनले प्रियदर्शन निर्देशित अजय देवगन र अक्षय खन्नाको फिल्म आक्रोश (२०१०) को संवाद लेख्ने अवसर पाए । त्यो कामका लागि भने उनलाई क्रेडिट पनि दिइएको थियो । निर्देशक प्रियदर्शनका अनुसार भाषामा पकड राम्रो हुनु नै आदित्यको सफलता जड हो ।

आदित्यले उनै प्रियदर्शनसँग करीब तीन वर्ष काम गरे । त्यसपछि आफैँ फिल्म निर्देशन गर्न भनेर उनले नयाँ यात्रा थाले । जुन उनले सोचे जसरी सजिलो बिल्कुलै थिएन । संघर्षको अर्को चरण उनका लागि तयार थियो ।

त्यो बीचमा उनको नाम धेरै प्रोजेक्टहरूमा जोडिएको पनि थियो । तर ती कुनै पनि फिल्म बनेनन् । यस्तै समयको बेला २०१६ मा खबर आयो, करण जोहरको कम्पनी धर्मा प्रोडक्सनले आदित्यलाई एउटा फिल्म निर्देशन गर्न दिने भयो ।

त्यस फिल्मको नाम राख्न बाँकी राखिएको थियो । फिल्ममा कट्रिना कैफ र पाकिस्तानी अभिनेता फवाद खानको जोडी थियो । सुटिङकै योजना बनिसकेको थियो । आदित्य पनि तयारीमा जुटिसकेका थिए । तर, त्यही बेला आदित्यको भाग्यले कोल्टे फेर्‍यो ।

१८ सेप्टेम्बर २०१६ मा जम्मू कश्मीरको उरीमा आक्रमण भयो । त्यसमा परेर १७ भारतीय सैनिकले ज्यान गुमाउन पुगे । राजनीतिक वातावरण तात्तियो । त्यसको असर बलिउडमा पनि देखियो । पाकिस्तानी कलाकारहरूलाई भारतीय फिल्मका लागि साइन नगर्ने निर्णय गरियो ।

त्यसो हुनाले मुख्य कलाकारका रूपमा रहेका फवाद खान फिल्मबाट निकालिए । कम्पनीबाट उनको ठाउँमा अर्कै अभिनेतालाई लिइने खबर आयो । तर त्यो योजना तुहियो । केही महिनापछि त फिल्म नै नबनाउने खबर आयो ।

फिल्म बन्द हुनु नै अर्को कथाको प्रेरणा

तर अचम्मको कुरा के भयो भने, जुन उरी आक्रमणका कारण उनको पहिलो फिल्म रोकिएको थियो, त्यही घटना र भारतको सर्जिकल स्ट्राइकले आदित्य धरलाई नयाँ कथा बनाउने प्रेरणा दियो ।

त्यसपछि उनले उरी: द सर्जिकल स्ट्राइक शीर्षकमा फिल्म बनाउने गरी करीब ६ महिना लगाएर अध्ययन गरे । र, १२ दिनमा फिल्मको पूरा स्क्रिप्ट लेखे ।

यसपटक यो स्क्रिप्टको हकमा पूरानो नियति दोहोरिएन । फिल्म बन्यो । २०१९ मा रिलिज भएको यो फिल्म वर्षको सरप्राइज ब्लकबस्टर बन्यो । त्यसपछि रातारात आदित्य पनि ठूला निर्देशकहरूको सूचीमा सामेल भए । यो फिल्मको संवाद ‘हाउज द जोश ?’ त राजनीतिक वृत्तहरूमा समेत उत्तिकै गुञ्जिएको थियो ।

यद्यपि फिल्म सफल भएता पनि केही समीक्षकहरूले यसलाई सरकारको पक्षमा प्रोपागान्डा भनेर टिप्पणी गरे । भलै फिल्मले चारवटा राष्ट्रिय पुरस्कार जित्यो । आदित्यले सर्वश्रेष्ठ निर्देशकको अवार्ड जिते ।

यही फिल्मसँगै उनले आफ्नो नयाँ पहिचान भेटे । वास्तविक घटनाबाट प्रेरित पोलिटिकल थ्रिलर्स बनाउने । त्यसपछि उनले आफ्नो प्रोडक्सन कम्पनी बी ६२ स्टुडियोज स्थापाना गरे । उता लेखकका रूपमा उनले दुई फिल्म, आर्टिकल ३७० र बारामूला लेखे । यी दुवै फिल्ममा पनि प्रोपागान्डा भएको आरोप लागेको थियो । तर, दर्शकले अत्याधिक रुचाएका थिए ।

तर निर्देशकका रूपमा आफ्नो पुनरागमनका लागि आदित्य धरले जुन विषय रोजे, त्यो निकै महत्वाकांक्षी थियो । पाकिस्तानको ग्याङ वार, राजनीति, आतङ्कवाद र त्यसको बीचमा भारतको एक जासूस ।

यो फिल्ममा उनले जोखिम पनि राम्रै उठाए । किनकि अभिनेताका रूपमा उनले रणवीर सिंहलाई साइन गराए । सिंह त्यस समय करियरको निकै कठिन मोडबाट गुज्रिरहेका थिए । उनका ८३, जयेश भाइ जोरदार र सर्कस जस्ता फिल्महरू एकपछि अर्को फ्लप भइरहेका थिए ।

यस्तो अवस्था रहेता पनि आदित्य र रणवीरले एउटै उद्देश्य राखेर धुरन्धर बनाउन लागि परे । सुरुमा धुरन्धर एउटै फिल्मका लागि भनेर खिचिएको थियो । तर यसको कथाको आकार यति ठूलो हुने थियो कि सुटिङ गरेको दृश्यहरूले त दुई वटा फिल्म नै हुने भए ।

त्यसपछि फिल्मलाई दुई अलग-अलग भागमा रिलिज गर्ने निर्णय गरियो । यो पनि निर्देशकका रूपमा आदित्यले ठूलो जोखिम मोलेका थिए । तर, अहिलेको समयमा त उनले त्यसको रिवार्ड पनि पाइसकेका छन् ।

के आदित्य धरका फिल्म प्रोपागान्डा हुन् ?

सफलताका बाबजुद पनि प्रोपागान्डा फिल्म भएको आरोपबाट धुरन्धर २ बँच्न सकेन । यो फिल्मले दर्शक, समाचलोक लगायत फिल्म हेर्ने/हेर्न भनेर सोच्ने सबैलाई फरक फरक विचारमा बाँडिदियो ।

तर, फिल्मका लागि यस्तो आरोप पहिलो पक्कै होइन । बलिउडसँगै हलिउडका फिल्म/निर्देशकहरूलाई समेत यस्तो आरोप लाग्ने गरेको छ । आदित्यले त दशकौंदेखि फेम्ड निर्देशकहरूले गरिरहेको राष्ट्रवादलाई देखाएका न थिए ।

आखिरमा मूलधारका स्पाई थ्रिलर्सले सधैँ त्यही समयका ठूला मुद्दाहरू जस्तै राष्ट्रवाद, सुरक्षा र सीमाको तनावलाई समेट्छन् । त्यसमा अवश्य पनि एउटा पक्षलाई घटिकतम देखाउँछन् ।

आफूलाई लागेको यो आरोपबारे पनि आदित्य धर स्पष्ट हुन्छन् । कसैले आफूलाई प्रोपागान्डा फैलाउने निर्देशक भन्छन् भने उनीहरूप्रति आफ्नो कुनै पूर्वाह अथवा प्रवाह नहुने उनले बताएका थिए । बरु भारतीय दर्शकहरू समझदार हुने र आफैं बुझ्ने बताएका थिए ।

प्रोपागान्डाको आरोप उनको हकमा सापेक्षित कुरो भयो । तर, उनले भारतीय राजनीति र प्राविधिक भव्यतालाई भने अवश्य पनि सही तरिकाले जोडेका हुन् । त्यसैबाट सफलताको स्वाद चाखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?