News Summary
Generated by OK AI. Editorially reviewed.- स्पाइ थ्रिलर फिल्म 'धुरन्धर'ले सन् २०२५ को अन्त्यसम्म विश्वभर १५५ मिलियन डलर कमाएर हिन्दी भाषाका सबैभन्दा सफल फिल्ममध्ये एक बनेको छ।
- 'धुरन्धरः द रिभेन्ज' सिक्वेलले पाँच भाषामा अग्रिम बुकिङमार्फत १५ लाखभन्दा बढी टिकट बिक्री गरी भारतभरका मल्टिप्लेक्समा ठूलो दर्शक संख्या ल्याएको छ।
- फिल्मले भारत-पाकिस्तान सम्बन्ध र भू–राजनीतिक पृष्ठभूमि समेट्दै तीव्र एक्सन र देशभक्ति प्रस्तुत गरेको छ, जसले दर्शक र समीक्षकबीच मिश्रित प्रतिक्रिया पाएको छ।
भारतका भरिएका सिनेमा हलहरूमा मात्र महसुस गर्न सकिने एक किसिमको ऊर्जा हुन्छ- नायकको स्लो-मोशन प्रवेशमा बज्ने सिटी, गडगडाहटजस्तो सुनिने ताली, अनि कथाको मोड आउनुअघि अचानक छाउने शान्ति ।
केही समयसम्म त्यो ऊर्जा हराउँदै गएको जस्तो देखिएको थियो । स्ट्रिमिङ प्लेटफर्महरूको बढ्दो प्रभावले हलमा दर्शक घटे, ठूला बजेटका फिल्म अपेक्षाअनुसार चलेनन्, र ठूला रिलिजले पनि खासै उत्साहजनक प्रतिक्रिया पाएनन् ।
तर, त्यसपछि डिसेम्बरमा ‘धुरन्धर’ आयो ।
सन् २०२५ को अन्त्यसम्म आइपुग्दा यो स्पाइ थ्रिलरले केवल बक्सअफिसको शीर्ष स्थान मात्र लिएन, त्यसलाई नयाँ उचाइमा पुर्यायो । विश्वभर करिब १५५ मिलियन डलर कमाउँदै यो हिन्दी भाषाका सबैभन्दा सफल फिल्ममध्ये एक बन्यो ।
यसको प्रभाव सिनेमा हलमा पनि देखियो । फेब्रुअरीमा भारतको सबैभन्दा ठूलो मल्टिप्लेक्स अपरेटर पीभीआर इनक्सले डिसेम्बरसम्मको त्रैमासिक अवधिमा दर्शक संख्या करिब ९ प्रतिशतले बढेको जनाएको छ । ‘धुरन्धर’को रेकर्ड कमाइले कम्पनीको समग्र बक्स अफिस आम्दानी पनि गत वर्ष १३ प्रतिशतले बढाउन मद्दत गरेको थियो ।
यसको सिक्वेल ‘धुरन्धरः द रिभेन्ज’ रिलिज भएसँगै त्यो माहोल झन् तातिएको छ । गत साता प्रदर्शनमा आएको फिल्मले सुरुमै उच्च माग देखाएको छ ।
पाँच भाषामा अग्रिम बुकिङमार्फत मात्रै १५ लाखभन्दा बढी टिकट बिक्री भएका छन्, जुन थोरै फिल्मले मात्र पाउने खालको उत्साहको संकेत हो ।
झन्डै चार घण्टा लामो यो सिक्वेल पहिलो भागभन्दा अझ ठूलो, चर्को र केही हदसम्म बढी प्रदर्शनमुखी बनेको छ । दर्शक हलमा ओइरिएका छन् । भारतभरका मल्टिप्लेक्सले बिहानैदेखि राति ढिलोसम्म दिनमा झन्डै तीन दर्जन शो सञ्चालन गरिरहेका छन् ।
फिल्म व्यापार विश्लेषक तरण आदर्श भन्छन्, ‘यो सिक्वेलले इतिहास रचिरहेको छ । यसले अघिल्ला सबै रेकर्ड तोड्दै बक्स अफिसको परिभाषा नै बदलिरहेको छ । यो साँच्चिकै गेम चेन्जर हो ।’

तीन घण्टा ३४ मिनेट लामो पहिलो ‘धुरन्धर’ ले जासुसी, गिरोहबीचको युद्ध र देशभक्तिको मिश्रण प्रस्तुत गरेको थियो । अभिनेता रणवीर सिंहले खतरनाक कराँची मिसनमा देखाएको आत्मविश्वासी जासुसको भूमिकाले फिल्मलाई मजबुत बनाएको थियो । निर्देशक आदित्य धरले भारत-पाकिस्तान सम्बन्धको तनावसँगै आकर्षक एक्सन प्रस्तुत गरेका थिए, जसले फिल्मको गति र प्रस्तुतिका लागि प्रशंसा पायो भने यसको राजनीतिक सन्देशबारे बहस पनि चुलियो ।
‘धुरन्धरः द रिभेन्ज’ ले पहिलो भागको अधुरो मोडबाट कथा अघि बढाउँदै कराँचीको आपराधिक र राजनीतिक दुनियाँभित्र भारतीय गुप्तचर निकायको लामो अभियानलाई अझ गहिराइमा लैजान्छ ।
पहिलो भागसँगै छायांकन गरिएको र केवल तीन महिनापछि रिलिज गरिएको झन्डै चार घण्टा लामो यो सिक्वेलमा रणवीर सिंहसँगै आर माधवन, अर्जुन रामपाल, सञ्जय दत्त र सारा अर्जुन पनि देखिएका छन् ।
प्राविधिक रूपमा निकै आकर्षक बनाइएको यो फिल्मले पहिलो भागझैँ तीव्र गति भएको एक्सन र कडा हिंसालाई शक्तिशाली, भाव बदलिरहने संगीतसँग जोडेको छ । यसको स्केल, निर्माण शैली र महत्वाकांक्षाको प्रशंसा भइरहेको छ, तर यसको राजनीतिक र वैचारिक प्रस्तुतीले केही दर्शकलाई असहज पनि बनाएको छ ।
फिल्मले दक्षिण एशियाका केही वास्तविक घटनाहरूबाट पनि प्रेरणा लिएको छ- जस्तै पाकिस्तानको ‘अपरेसन लियारी’ र भारतको नोटबन्दी । यी सन्दर्भलाई कथासँग जोडेर भू–राजनीतिक पृष्ठभूमि प्रस्तुत गरिएको छ ।
प्रारम्भिक प्रतिक्रिया भने निकै उत्साहजनक देखिएको छ ।
हलबाट बाहिरिने दर्शकले यसलाई ‘पैसा असूल’ भन्दै प्रतिक्रिया दिएका छन्, अर्थात् टिकटको पैसा पूर्ण रूपमा उठ्यो भन्ने भावना । लामो समयावधि पनि दर्शकका लागि बाधा नभई अनुभवकै हिस्सा बनेको देखिन्छ ।
चर्चित कलाकारको प्रतिक्रिया पनि उत्साह थप्ने खालको छ । अल्लु अर्जुनले फिल्मको ‘स्टाइलसहितको देशभक्ति’को प्रशंसा गरेका छन् भने प्रीति जिन्टाले यसलाई ‘माइन्ड ब्लोइङ’ भनेकी छन् । वरिष्ठ अभिनेता अनुपम खेरले भने यसलाई ‘उत्कृष्ट’ भन्दै ‘देशप्रति गहिरो गर्व महसुस गराउने फिल्म’ बताएका छन् ।
यता, समीक्षकले भने केही सन्तुलित दृष्टिकोण राखेका छन् । उनीहरूले फिल्मको निर्माण पक्षको प्रशंसा गर्दै यसको उद्देश्य र सन्देशमाथि प्रश्न उठाएका छन् ।
समीक्षकले भने फिल्मलाई केही फरक ढंगले हेरेका छन् । उनीहरूले यसको निर्माण कौशलको प्रशंसा गरे पनि उद्देश्यप्रति प्रश्न उठाएका छन् ।

एक समीक्षकका अनुसार फिल्मले कथा गहिराइभन्दा ‘आक्रामकता’ लाई बढी प्राथमिकता दिएको छ । उनका अनुसार अत्यधिक राष्ट्रवाद र शत्रु निर्माणमा केन्द्रित हुँदा जटिल भू-राजनीतिक विषयलाई ‘कालो-सेतो देशभक्तिपूर्ण नारामा सीमित’ बनाइएको छ ।
अर्का एक समीक्षक भन्छन्, फिल्म ‘आक्रोशले भरिएको छ, तर त्यसलाई कसरी प्रयोग गर्ने भन्ने स्पष्ट छैन ।’ अर्को प्रतिक्रिया अनुसार, पहिलो भागमा रहेको ‘प्रचारको झल्को भए पनि तीव्र कथा र प्रभावशाली संगीतले ढाकिएको’ पक्ष यहाँ त्यति प्रभावकारी छैन, त्यसैले सिक्वेल त्यति रमाइलो बन्न सकेको छैन ।
रेडिटजस्ता प्लेटफर्ममा पनि दर्शकको प्रतिक्रिया मिश्रित देखिन्छ- केही प्रशंसा, केही शंका, र फिल्म वरिपरि बनेको ‘हाइप’प्रति थकानसमेत । प्रयोगकर्ताले एकअर्कालाई ‘अपेक्षा नियन्त्रणमा राख्न’ सुझाव दिँदै, भीडभाड र भाइरल चर्चाले अनुभवलाई बढी बढाइचढाइ गरेर देखाइरहेको हुनसक्ने चेतावनी दिएका छन् ।
एक लोकप्रिय पोस्टमा लेखिएको छ- फिल्म ‘अन्त्यका लागि ठीकठाक त हो… तर अपेक्षाभन्दा निकै कमजोर ।’ त्यहाँ कथालाई ‘हतारमा बनाइएको’, एक्सन दृश्यहरू अनावश्यक रूपमा लामो भएको र संगीत पनि “मेल नखाने” जस्तो लागेको टिप्पणी गरिएको छ ।
अर्का एक दर्शक भने केही उदार देखिन्छन् । उनले लेखेका छन्, ‘मलाई फिल्म राम्रो लाग्यो- फेरि हेर्ने खालको त होइन, तर एकपटक हेर्न लायक चाहिँ पक्का ।’ उनका अनुसार कथा कमजोर लागे पनि लामो गोलीबारीमा पात्रहरू बाँचिरहने पक्ष अलि अविश्वसनीय भए पनि ‘अभिनय भने निकै उत्कृष्ट’ छ ।
तर बहस सबैभन्दा चर्किने ठाउँ राजनीति नै बनेको छ ।
धेरै प्रयोगकर्ताले सिक्वेल पहिलो भागभन्दा कम सूक्ष्म भएको बताएका छन् । एक जनाले त सिधै यसलाई ‘खुला प्रचार’ भनेका छन् । अर्का प्रयोगकर्ताका अनुसार फिल्म ‘यति खुलेर राजनीतिक’ छ कि ‘बीचको कुनै स्थान नै छैन-या त मन पराउँछौ, या त असहज महसुस हुन्छ ।’
भारतको २०१६ को नोटबन्दी (उच्च मूल्यका नोट हटाउने निर्णय) समेटिएको एक दृश्यले पनि आलोचना तानेको छ ।
केही दर्शकले यसलाई नीतिको अप्रत्यक्ष समर्थनका रूपमा हेरेका छन्- फिल्ममा नोटबन्दीलाई पाकिस्तानबाट आउने नक्कली नोट नियन्त्रण गर्ने प्रभावकारी कदमको रूपमा प्रस्तुत गरिएको छ । (तर, सरकारले पछि सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले यो निर्णयले अर्थतन्त्रमा नकारात्मक असर पारेको र वृद्धि दर घटाएको उल्लेख गरेको थियो ।)
तर, आलोचना गर्नेहरूकै बीच पनि यसको प्रस्तुतिको प्रशंसा देखिन्छ । रणवीर सिंहको अभिनयले व्यापक तारिफ पाएको छ भने शाश्वत सचदेवको संगीत पनि मन पराइएको छ । एक समीक्षकले त उनको शैलीलाई परम्परागत बलिउड संगीतकारभन्दा हिप-हप निर्माता जस्तै ‘फ्रेग्मेन्ट-आधारित’ प्रयोगशील शैलीसँग तुलना गरेका छन् ।
समग्रमा हेर्दा ‘धुरन्धर’ वरिपरि बनेको उत्साह-सडकदेखि सामाजिक सञ्जालसम्म-फिल्म केवल ब्लकबस्टरमा सीमित नरही एउटा सांस्कृतिक बहसको केन्द्र बनेको देखिन्छ, जहाँ मनोरञ्जन, राजनीति र जनमानसको भावना एकआपसमा जुधिरहेका छन् ।
यसको प्रभाव अझ फराकिलो दायरामा पनि फैलिएको छ ।
जनवरीमा ‘द टाइम्स अफ इन्डिया’मा लेख्दै पूर्वविदेश सचिव निरुपमा रावले पहिलो फिल्मको व्यापक प्रभावबारे सावधानी अपनाउनुपर्ने संकेत गरेकी थिइन् ।
‘सायद ‘धुरन्धर’को सबैभन्दा चिन्ताजनक पक्ष पाकिस्तानबारे यसले के भन्छ भन्ने होइन, बरु भारतकै लोकतान्त्रिक प्रवृत्तिबारे यसले के संकेत गर्छ भन्ने हो । आलोचकप्रति देखिएको शत्रुतापूर्ण व्यवहार– अविश्वासी ठहर्याउने आरोप, उत्पीडनका अभियान- यसले राष्ट्रिय सुरक्षासँग जोडिएका विषयमा असहमति सहने क्षमता घट्दै गएको देखाउँछ,’ रावले लेखेकी छन्।

‘युद्ध फिल्मले सुरु गर्दैनन् । तर, जब समाजले अँध्यारो हलभित्र बसेर त्यस्ता कुरा उत्साहका साथ समर्थन गर्न सिकिसक्छ, तब युद्धलाई उचित ठहर्याउन सजिलो हुन्छ ।’
तर, फिल्मको प्रभाव लेख-टिप्पणीको सीमाभन्दा धेरै पर फैलिएको छ- कहिलेकाहीँ अनपेक्षित ठाउँसम्म पनि ।
लन्डनको एक बिहानको दौडमा समेत यसले चर्चा पायो । फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टबले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीका साथ हाइड पार्कमा दौडिँदै गर्दा ‘धुरन्धर’को उल्लेख गरेपछि सामाजिक सञ्जालमा चर्चा बढ्यो ।
गत साता एक्समा सार्वजनिक भएको भिडियोमा दौडिँदै गर्दा कार्नीले स्टबसँग भारतमा अचानक बढेको लोकप्रियताबारे सोधेका थिए । त्यसको जवाफमा स्टबले भने, ‘मैले ‘धुरन्धर’ हेरेको कुरा भनेपछि ठूलो चर्चा भयो ।’
उनले एएनआईसँग भने, ‘भारत जानुअघि मेरो छोराले ‘धुरन्धर’ हेर्न सुझाव दिएको थियो, र मैले हेरेँ पनि । कथामा म पनि एक हिसाबले जोडिएको थिएँ । आतंकवादविरुद्ध लड्न पाउँदा खुसी लाग्छ, र मार्च १९ मा आउने सिक्वेलको प्रतीक्षा छ ।’
यति मात्र होइन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले पनि फेब्रुअरीमा भारत भ्रमणको अन्त्य ‘धुरन्धर’को शीर्ष गीत राखिएको भिडियो सार्वजनिक गरेर गरेका थिए ।
फिल्म व्यापार विश्लेषक तरण आदर्शका अनुसार ‘धुरन्धर’ वरिपरि देखिएको उत्साहले सन् १९७५ को बलिउड क्लासिक ‘शोले’को सम्झना दिलाउँछ ।
त्यो चर्चित फिल्म मुम्बईको एउटै हलमा पाँच वर्षसम्म लगातार चलेको थियो, बक्स अफिसका सबै रेकर्ड तोडेको थियो र सांस्कृतिक रूपमा ठूलो प्रभाव पारेको थियो । आज पनि यसको संवादहरू विवाह, राजनीतिक भाषण र विज्ञापनसम्ममा उद्धृत भइरहेका छन् ।
तरण आदर्शका अनुसार ‘धुरन्धर’ले ठूलो पर्दाको बलिउड ब्लकबस्टरको पुनरागमन संकेत गरेको छ, जुन स्ट्रिमिङको समयमा केही ओझेलमा परेको थियो ।
उनी भन्छन्, ‘धुरन्धरले घट्दो अवस्थामा रहेका सिनेमा हलमा फेरि दर्शक फर्किएको संकेत दिएको छ । मानिसहरू फेरि टिकट किन्न थालेका छन्, ‘हाउसफुल’ बोर्डहरू फेरि देखिन थालेका छन् ।’
‘यो ठूलो बलिउड हिटको पुनर्जन्म हो । यसले फिल्म व्यवसायलाई नै नयाँ ढंगले परिवर्तन गरिरहेको छ ।’
बीबीसी वर्ल्डबाट ।
प्रतिक्रिया 4