News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट एक खर्ब २५ अर्ब रुपैयाँ ५ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत खिच्ने भएको छ।
- बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप र निक्षेप संकलन मार्फत राखेका पैसा परिपक्व भएपछि पुनः खिच्न निक्षेप संकलन उपकरण जारी गरिएको हो।
- केन्द्रीय बैंकले तरलता अवस्था र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा र रिपो उपकरण प्रयोग गर्छ र हाल बैंक दर ६ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत छ।
२७ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट एक खर्ब २५ अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले ५ दिन अवधिको निक्षेप संकलन उपकरण मार्फत सो रकम खिच्न लागेको हो ।
बुधबार मात्रै २५ अर्ब रुपैयाँ बराबरको ५६ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गरेको बैंकले शुक्रबार भने अवधि घटाएर खिच्न लागेको हो । राष्ट्र बैंकका अनुसार बिहीबारसम्ममा वित्तीय प्रणालीमा करिब ५२ अर्ब तरलता रहेको छ ।
तर, बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप तथा निक्षेप संकलन मार्फत केन्द्रीय बैंकमा राखेका पैसा परिपक्व हुने भएपछि त्यसलाई पुन: खिच्नका लागि निक्षेप संकलन उपकरण जारी गरेको हो । बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा अल्पकालका लागि स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा राख्छन् ।
निक्षेप संकलन उपकरणमा बैंकले थोरै ब्याजदर माग्ने बैंक वित्तीय संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँट गर्छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बजारको पैसा खिच्छ । त्यसैगरी प्रणालीमा तरलताको अवस्था कसिलो हुँदा स्थायी तरलता सुविधा, रिपो मार्फत पैसा पठाउँछ ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरमा ब्याज लिन्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज दिन्छ । हाल बैंक दर ६ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया 4