+
+
Shares

उपराष्ट्रपति भान्स नेतृत्वको अमेरिकी वार्ता टोली पाकिस्तान आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २८ गते ९:५५

२८ चैत, काठमाडौं । अमेरिकाका उपराष्ट्रपति जेडी भान्स इरानका साथ तय भएको शान्ति वार्ताका लागि अमेरिकी प्रतिनिधि मण्डलको नेतृत्व गरेर पाकिस्तान आउँदैछन् ।

अमेरिकी प्रतिनिधि मण्डलमा राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुशनर पनि सहभागी छन् । उनी ट्रम्पको पहिलो कार्यकालमा सल्लाहकार थिए । यसका साथै अमेरिकाका विशेष दूत स्टीभ भिटकफ पनि प्रतिनिधि मण्डलमा छन् ।

जेरेड र स्टीभ यसअघि इजरायल–गाजा युद्ध समाप्तीका लागि युद्धविराम वार्ता र रूस–युक्रेनबीचको युद्ध रोक्ने प्रयासमा अमेरिकाका तर्फबाट भएको वार्तामा सहभागी थिए ।

अमेरिकी प्रतिनिधि मण्डल सवार विमान ‘एयर फोर्स टु’ फ्रान्सको राजधानी पेरिसमा पूर्वनिर्धारित कार्यक्रमअनुसार ईन्धन भर्नका लागि रोकिएको बीबीसीले जनाएको छ ।

पाकिस्तानका लागि उडान भर्नुअघि उनले पत्रकारहरूसँग भनेका छन्, ‘ यदि इरानीहरू सद्भावपूर्वक वार्ता गर्न इच्छुक छन् भने हामी पनि खुला मनले हात बढाउन तयार छौं ।’

उपराष्ट्रपति भान्सले राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी वार्ता टोलीलाई ‘केही स्पष्ट दिशा निर्देश’ गरेको पनि बताएका छन् ।

उपराष्ट्रपति भान्सले इरानको उच्चस्तरीय प्रतिनिधि मण्डललाई चेतावनीसमेत दिएको बीबीसीका प्रकाशित समाचारमा उल्लेख छ । समाचारअनुसार उनले भनेका छन्, ‘यदि हामीलाई बेवकुफ बनाउने प्रयास गरियो भने इरानले अमेरिकी वार्ता टोली त्यति सहज नभएको थाहा पाउने छन् ।’

यसअघि क्रिश्चियन धर्मावलम्बीहरूको एक प्रमुख पर्व इस्टरको अवसरमा ह्वाइट आउसमा आयोजित भोज (इस्टर लञ्च) चलिरहँदा राष्ट्रपति ट्रम्पले आफ्नो तय गरिएको भाषणभन्दा बाहिर गएर इरान युद्ध अन्त्य गर्ने सम्झौतामा भान्सको भूमिकाबारे भइरहेको अड्कलबाजीलाई सम्बोधन गरेका थिए ।

ट्रम्पको सम्बोधनले पाकिस्तानमा इरानसँग वार्ता गर्ने अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति भान्सले गर्ने देखिएको बीबीसीले जनाएको छ । बीबीसीले भनेको छ, ‘यो अहिलेसम्मको उनको उपराष्ट्रपतित्वको सबैभन्दा चुनौतीपूर्ण जिम्मेवारी हो । जहाँ सफलता सीमित छ र वार्ता असफल भएमा गुमाउने धेरै कुरा छन् ।’

इस्लामाबादमा भान्सको कूटनीतिक यात्रा राजनीतिक रूपमा निकै संवेदनशील मानिएको छ । युद्ध अन्त्य गर्न स्थायी सम्झौतामा प्रगति गर्न उनले ६ साता लामो सैन्य कारबाहीका कारण एकअर्काका प्रति अविश्वास गरेका पक्षहरूलाई सन्तुष्ट बनाउनु पर्नेछ ।

इरानको नेतृत्व गर्दै तेहरानका संसद् सभामुख मोहम्मद बाघेर घालिबाफ र विदेशमन्त्री अब्बास अराघची अमेरिकासँग वार्ताका लागि पाकिस्तानको राजधानी इस्लामाबाद पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?