News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली पुरुष क्रिकेट टोलीले २०८२ सालमा तेस्रोपटक टी-२० विश्वकप खेल्यो र १२ वर्षपछि विश्वकपमा पहिलो जित हासिल गर्यो ।
- नेपाली दृष्टिविहीन महिला क्रिकेट टोलीले पहिलो दृष्टिविहीन महिला विश्वकपमा फाइनलसम्म पुगेर उपविजेता बनेर इतिहास रच्यो ।
- नेपाल प्रिमियर लिगको दोस्रो संस्करण फ्लडलाइटमा सम्पन्न हुँदा क्यानको नाफा समेत बढ्यो ।
२९ चैत, काठमाडौं । विक्रम संवत् २०८२ साल बिदा हुने अन्तिम तरखरमा छ । अबको केही समयमा नै नेपालले विसं २०८३ सालको पहिलो झुल्के घामलाई स्वागत गर्दैछ ।
नयाँ वर्ष सुरु हुन लाग्दाको यो जोस र उत्साहका बीच नेपाली क्रिकेटका लागि भने बिदा हुँदै गरेको वर्ष २०८२ ऐतिहासिक उपलब्धिका साथै चर्चाको समेत केन्द्रमा रह्यो ।
नेपाली पुरुष क्रिकेट टोलीले तेस्रोपटक टी-२० विश्वकप खेल्यो, त्यसअघि वेस्ट इन्डिजसँगको ऐतिहासिक शृंखला पनि जित्यो । ओडिआईमा लय गुमाउँदै गएको नेपाली टोलीले टी-२० फर्म्याटका लागि भने लामो समय तयारी गरेको थियो ।
यस्तै नेपालको ब्लाइन्ड महिला क्रिकेट टोलीले ऐतिहासिक विश्वकपको फाइनलसम्म पुगेर नयाँ इतिहास रच्न सफल भयो । क्रिकेट विश्वकपको फाइनलमा पुगेको यो पहिलोपटक थियो ।
नेपाली क्रिकेटले यसै वर्ष दुईवटा विश्वकपको स्वाद मात्र चाखेन, घरेलु मैदानमा फ्रेन्चाइज क्रिकेटको नयाँ उचाइ समेत तय गर्यो । नेपालको फ्रेन्चाइज लिग एनपीएलको दोस्रो संस्करण फ्लडलाइटमा सम्पन्न हुँदा व्यवसायिक फड्को पनि मारेको छ ।
यस्तै महिला क्रिकेट टोलीले पहिलोपटक टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दा अन्य प्रतियोगितामार्फत एक्सपोजर बटुल्ने प्रशस्त मौका पाए ।
जय ट्रफीको दायर बढ्नेदेखि लिएर पीएम कप क्रिकेट अनि नेपाली खेलाडीहरू विदेशी फ्रेन्चाइज लिगमा अनुबन्ध हुने कुराहरू पनि यसै वर्ष भएका छन् ।
१२ वर्षपछिको विश्वकप जित

यो वर्ष नेपाली पुरुष राष्ट्रिय टोलीले भारत र श्रीलङ्कामा आयोजित आफ्नो तेस्रो टी-२० विश्वकप खेल्यो । इङ्गल्याण्ड र वेस्ट इन्डिजजस्ता क्रिकेटका महारथी टोलीहरूसँगै समूह ‘बी’ मा रहेको नेपालले समूह चरणका सुरुवाती खेलमा पराजय भोगे पनि सुखद अन्त्य भने गर्न सफल भयो ।
आफ्ना सबै खेल मुम्बईस्थित वाङ्खेडे स्टेडियममा खेलेको नेपालले आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई पराजित गर्दै विश्वकप यात्राको सुखद अन्त्य गरेको थियो । त्यसअघि नेपालले इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग हार बेहोरेको थियो । हारका बीच केही सुखद पक्षहरू भने रहे ।
इंग्ल्यान्डविरुद्ध नेपाल जितको निकै नजिक पुगेर पराजित भएको थियो । १८५ रनको लक्ष्य पछ्याएको नेपाल अन्तिम बलसम्म पनि हार मानेको थिएन । अन्त्यमा नेपाल ४ रनले मात्र पराजित भएको थियो । यस खेलमा नेपालको सिनियर टिममा डेब्यू गरेका शेर मल्लले विश्वकप डेब्यू नै यादगार बनाए । उनले आफ्नो स्पेलको पहिलो बलमै फिल साल्टजस्ता प्लेयरको विकेट लिएका थिए ।
विश्वकपमा पहिलोपटक खेल्दै गरेको इटालीसँग भने नेपाल १० विकेटले पराजित हुन पुग्यो । यस्तै वेस्ट इन्डिजविरुद्ध पनि खासै दमदार प्रदर्शन गर्न नसकेको नेपालले अन्तिम खेलमा स्कटल्यान्डलाई हरायो । यस जित नेपालका लागि विशेष रह्यो । यो जित विशेष हुनुको कारण थियो- १२ वर्षपछिको सफलता ।
सअघि सन् २०१४ को विश्वकपमा अफगानिस्तानलाई हराएको नेपालले सन् २०२४ को विश्वकपमा कुनै खेल जित्न सकेको थिएन । स्कटल्यान्डमाथिको विजयले नेपाली समर्थकलाई फेरि एकपटक विश्वकपको उमङ्ग उपहार दियो ।
यस विश्वकपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको प्रदर्शन पनि शानदार रह्यो । उनले टी-२० विश्वकपमा नेपालका लागि सर्वाधिक (१६९) रन बनाए । बलिङमा २ विकेट लिए ।
वेस्ट इन्डिजसँग ऐतिहासिक शृंखला जित

नेपाली क्रिकेट टोलीले यही वर्ष वेस्ट इन्डिजसँग ऐतिहासिक शृंखला खेल्दै उक्त शृंखला जित्यो पनि । त्यसअघिसम्म नेपाली क्रिकेट टोलीले आईसीसीको फूल मेम्बर (पूर्ण सदस्य) अर्थात् टेस्ट, ओडिआई र टी-२०आई सबै मान्यता प्राप्त गरेका टोलीलाई हराउनै सकेको थिएन ।
फूल मेम्बरसँग द्विपक्षीय शृंखला नै पहिलोपटक खेलेको नेपालले शृंखला नै जितेर इतिहास रचेको थियो । यूएईको शारजाहमा भएको शृंखलामा नेपालले सुरुवाती दुई खेल जितेर शृंखलामाथि कब्जा जमाएको थियो । अन्तिम खेलमा पराजित भएपनि नेपालले इतिहास रचिसकेको थियो ।
त्यसबेला नेपालले वेस्ट इन्डिजको दोस्रो रोजाइसरहको टिमसँग खेलेपनि टेस्ट राष्ट्रविरुद्ध जित निकाल्नु आफैंमा एउटा उपलब्धि थियो ।
नेपालले त्यसपछि भएको टी-२० विश्वकप एसिया-ईएपी छनोटमा अपराजित रहेर च्याम्पियन बन्दै तेस्रोपटक टी-२० विश्वकपमा स्थान बनाएको थियो ।
लिग २ मा गुमेको लय

टी-२० मा बढी केन्द्रित रहेको नेपाली क्रिकेट टोली ओडिआई फर्म्याटमा भने लयमा देखिएको छैन । यस वर्ष नेपालले देशबाहिर गएर ८ खेल खेल्यो । जसमध्ये ३ खेल मात्र जित्दा ५ खेलमा पराजित भयो ।
नेपाली क्रिकेट टोलीमा नयाँ प्रशिक्षकका रूपमा अस्ट्रेलियाका स्टुअर्ट ल नियुक्त भएपछि नेपालले खेलेको लिग २ शृंखलामा शानदार प्रदर्शन गर्दै पुनरागमनको संकेत देखिएको थियो ।
ल आउनुअघि १२ खेलमा ६ अंक मात्र जोडेर नेपाल तालिकाको पुछारमा थियो । उनको आगमनपछि स्कटल्यान्डमा भएको लिग २ शृंखलामा नेपालले राम्रो प्रदर्शन गर्यो ।
युरोपियन भूमिमा गएर लिग २ कै दुई बलिया प्रतिद्वन्द्वी स्कटल्यान्ड र नेदरल्यान्ड्ससँगको शृंखलामा नेपालले ३ खेल जित्यो र एक हार बेहोरेको थियो । उक्त हार पनि ‘क्लोज’ थियो ।
त्यसपछि यूएईमा सम्पन्न शृंखलामा पनि सोही किसिमको नतिजा दोहोर्याउने आकलन विपरित नेपाल चारवटै खेलमा पराजित भएर अंकविहीन भयो, जुन नेपालका लागि लिग २ कै खराब प्रदर्शन थियो ।
हाल नेपाली टोली २० खेलमा १२ अंक जोडेर आठ टिममध्ये सातौं स्थानमा छ । अब नेपालले नयाँ वर्षको सुरुवातमै दुई महत्त्वपूर्ण घरेलु शृंखला खेल्दै छ जहाँ पुनरागमन गर्ने लक्ष्यमा हुनेछ ।
दृष्टिविहीन महिला टोलीको ऐतिहासिक यात्रा

२०८२ साल केवल पुरुष टोलीको मात्र रहेन, नेपाली दृष्टिविहीन महिला टोलीले पनि विश्वमञ्चमा नेपालको झण्डा गाड्यो ।
पहिलो पटक आयोजना भएको ‘दृष्टिविहीन महिला विश्वकप’ मा नेपालले फाइनलसम्मको यात्रा तय गरेर इतिहास रच्यो । गीता पौडेलको कप्तानीमा विश्वकप खेलेको नेपाली टोलीले उपाधि जित्न नसकेपनि फाइनलसम्मको यात्रा तय गर्नु नै ऐतिहासिक सफलताका रूपमा रह्यो ।
फाइनलअघि नेपालले अस्ट्रेलिया र श्रीलंकाजस्ता टिमलाई पनि हराएको थियो । अमेरिकाविरुद्धको खेल त नेपालले ४ बलमै जितेर कीर्तिमान समेत बनाएको थियो ।
फाइनलमा भारतसँग पराजित भए पनि उपविजेता बनेर नेपाली चेलीहरूले देखाएको साहस र क्षमताको चर्चा अन्तर्राष्ट्रिय स्तरमै भयो । सीमित स्रोत र साधनका बाबजुद पनि नेपाली टोली विश्वकप जस्तो इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुग्यो ।
नेपाल सहभागी भएको कुनै पनि टिम विश्वकपमा फाइनल पुग्नु आफैंमा एक सफलता बन्यो । यही प्रदर्शनका कारण ब्लाइन्ड क्रिकेट टिमका बारेमा देशभरका मानिसले थाहा पाए ।
यो ऐतिहासिक सफलताले राज्यलाई ब्लाइन्ड क्रिकेटको विकासमा पनि लगानी गर्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएको छ भने ब्लाइन्ड क्रिकेटरलाई पनि यसमा आफ्नो करियर बनाउँछु भन्ने एउटा प्रेरणाको स्रोत पनि बनेको छ ।
महिला क्रिकेटलाई प्रशस्त अनुभव

नेपाली महिला क्रिकेट टोलीका लागि पनि यस वर्ष विश्वकप खेल्ने अवसर थियो, त्योपनि घरेलु मैदानकै छनोट पार गरेर, तर त्यसो हुन सकेन । नेपाली टोली महिला टी-२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाट अगाडि बढ्न सकेन ।
महिला टी-२० विश्वकपको एसिया छनोट पहिलोपटक पार गर्दै ग्लोबल छनोटमा पुगेको नेपाल थाइल्यान्ड, नेदरल्यान्ड्स र स्कटल्यान्डसँग पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो । जिम्बाबेलाई हराउनु नेपालको एकमात्र सुखद पक्ष रह्यो ।
नेपालले यी टोलीहरूसँग खेल्दै अनुभव बटुल्नु पनि अर्को एउटा सकारात्मक पक्ष थियो । यसै वर्षको सुरुवातमा नेपाली महिला टोली युगान्डमा गएर शृंखला खेलेको थियो भने मलेसियामा पनि शृंखला खेल्यो । केही खेलाडी त्यहाँको इन्टरस्टेट क्रिकेट पनि खेले ।
यस्तै नेपाली टोलीले राइजिङ स्टार्स महिला एसिया कप पनि खेल्यो । नेपालले भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईको टोलीसँग खेलेको थियो । कुनैपनि खेल भने जित्न सकेन ।
यही वर्ष नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्षल जयन्त पाठक नियुक्त भएका थिए । प्रशिक्षकदेखि फिटनेस ट्रेनरसम्म ल्याउँदा पनि उल्लेख्य प्रगति भने हुन सकेको छैन ।
फ्लडलाइटमा एनपीएल, व्यवसायिक फड्को

नेपालको सबैभन्दा ठूलो फ्रेन्चाइज लिग ‘नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण पनि सफलतापूर्वक सम्पन्न भयो । सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पराजित गर्दै लुम्बिनी लायन्सले उपाधिमाथि कब्जा जमायो ।
पहिलो संस्करणभन्दा दोस्रो संस्करण विशेष रह्यो, किनभने यसपटक एनपीएल सामान्य मैदानमा मात्र नभएर पारापिट र फ्लडलाइटसहितको मैदानमा खेलिएको थियो । नेपाल सरकारको भौतिक पूर्वाधार मन्त्रालयको योजना अनि निर्माण कम्पनीले हर्जना तिर्दै भएपनि एनपीएलअघि पारापिट र फ्लडलाइट सम्पन्न गराएर रातिमा पनि खेलको मज्जा लिने अवसर दर्शकलाई जुराइदिए ।
केही दिनअघि क्यानको बोर्ड बैठकले दोस्रो संस्करणको आय-व्यय पनि सार्वजनिक गरेको छ । पहिलो सिजनभन्दा उल्लेख्य मात्रामा नाफा बढेको देखिएको छ ।
४७ करोड ३६ लाखको आम्दानी हुँदा २१ करोड ९६ लाख खर्च देखिएको छ भने २५ करोडको सकल आय (ग्रस इन्कम) भएको देखिएको छ । त्यसमध्येबाट आम्दानी बाँडफाडपछि क्यानलाई ९ करोड २१ लाखको आम्दानी भएको देखिन्छ ।
यसअघि पहिलो संस्करणमा २७ करोड ६९ लाख रुपैयाँको आम्दानी तथा २० करोड १५ लाख रुपैयाँको खर्च भएको थियो । त्यसबेला ७ करोडको मात्र सकल आएको देखिएको थियो । यसपटक तीन गुणाभन्दा बढी सकल आय देखिएको हो ।
एनपीएलको यो व्यवसायिक फड्कोले नेपाली क्रिकेट अब व्यवसायिक रूपमा पनि मजबुत बन्दै गएको स्पष्ट संकेत दिएको छ । आगामी दिनमा लगानीको वातावरण बन्दै गएमा क्रिकेटको समग्र क्षेत्रमा राम्रो विकासको सम्भावना देखिन्छ ।
विदेशी फ्रेन्चाइजमा नेपाली खेलाडी

यस वर्ष नेपाली क्रिकेटरहरू विदेशी फ्रेन्चाइज लिगमा अनुबन्ध भए । नेपालबाट ८ खेलाडीहरू पहिलोपटक हुन लागेको इयू टी-२० लिग बेल्जियममा खेल्ने भएका छन् ।
नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसहित कुल ८ नेपाली खेलाडी विभिन्न टिममा ड्राफ्ट भएका छन् ।
दीपेन्द्रलाई जेबी ब्रुग्सले प्रि-साइन गरेको थियो भने सन्दीप लामिछाने लियेज रेड लायन्समा प्रि-साइन गरिएका थिए ।
रोहितसहित अन्य खेलाडी ‘ड्राफ्ट’ बाट विभिन्न टोलीमा अनुबन्ध भएका हुन् । कप्तान रोहितलाई गेन्ट ग्लाडियटर्सले क्याटेगोरी ‘बी’ बाट साइन गरेको छ । त्यस्तै विकेटकिपर आसिफ शेख क्याटेगोरी ‘सी’ बाट एन्टवर्प एंकर्समा अनुबन्ध भएका छन् ।
ललित राजवंशी र इशान पान्डेलाई जेबी ब्रुग्सले ड्राफ्ट गरेको छ भने अप्सनल राउन्डबाट अनिल साह र गुल्शन झा पनि जेबीमा आबद्ध भए । चारैजना क्याटेगोरी ‘सी’ का हुन् ।
जेबी ब्रुग्स एनपीएलको फ्रेन्चाइज जनकपुर बोल्ट्स आबद्ध रहेको ड्रीम स्पोर्ट्सको स्वामित्वमा रहेको छ । बोल्ट्सले यसै वर्ष विदेशी फ्रेन्चाइजमा पनि स्वामित्व विस्तार गरेको हो ।
यस्तै दीपेन्द्र पाकिस्तानको फ्रेन्चाइज लिग पाकिस्तान सुपर लिग (पीएसएल) मा इस्लामाबाद युनाइटेडमा अनुबन्ध भएका थिए । हाल जारी प्रतियोगितामा आजको मितिसम्म दीपेन्द्रले मौका भने पाएका छैनन् ।
त्यस्तै करण केसी पनि जापान प्रिमियर लिग (जेपीएल) टी–२० प्रतियोगितामा कान्साई चार्जर्सबाट खेल्ने भएका छन् ।
घरेलु प्रतियोगिता

विश्वकप र एनपीएलको चहलपहलसँगै घरेलु क्रिकेट पनि अघिल्ला वर्षजस्तै चलायमान रह्यो । बहुदिवसीय संरचनाको ‘जय ट्रफी’ मा नेपाल पुलिस क्लब च्याम्पियन बन्यो ।
पीएम कपका शीर्ष ४ टोलीले खेल्ने यस प्रतियोगितामा पुलिससहित त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र बागमती प्रदेशले खेलेका थिए । अब भने जय ट्रफीमा ६ टिमले खेल्ने निर्णय क्यानले केही दिनअघि मात्र सार्वजनिक गरेको छ ।
यस्तै एकदिवसीय फर्म्याटको पीएम कप क्रिकेट पनि हाल मधेश प्रदेशमा जारी छ । शीर्ष २ टोलीबीच फाइनल हुने यस प्रतियोगिताका शीर्ष ६ टोली आगामी वर्षको जय ट्रफीका लागि छानिने छन् ।
पीएम कपअघि जिल्ला तथा प्रदेश छनोट प्रतियोगिताहरू समेत भएका थिए । जिल्ला छनोटअन्तर्गतको एक खेलमा सप्तरीका अमित कुमार यादवले एक्लै २७८ रन बनाएको विषय पनि चर्चामा रह्यो ।
प्रतिक्रिया 4