+

कप्तान रोहित र उपकप्तान दीपेन्द्रसहित यी हुन् इयू टी-२० बेल्जियम खेल्ने नेपाली खेलाडी

२०८२ चैत  १० गते २३:५८ २०८२ चैत १० गते २३:५८
कप्तान रोहित र उपकप्तान दीपेन्द्रसहित यी हुन् इयू टी-२० बेल्जियम खेल्ने नेपाली खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पहिलोपटक आयोजना हुन लागेको इयू टी-२० लिगमा नेपालका ६ खेलाडीले खेल्ने भएका छन्।
  • नेपाली कप्तान रोहित पौडेल गेन्ट ग्लाडियटर्समा क्याटेगोरी \'बी\' बाट साइन भएका छन् ।
  • उपकप्तान दीपेन्द्र जेबी ब्रुग्समा र सन्दीप लामिछाने लियेज रेड लायन्समा प्रि-साइन भएका थिए।

१० चैत, काठमाडौं । पहिलोपटक आयोजना हुन लागेको इयू टी-२० लिग बेल्जियममा नेपालका ८ खेलाडीले खेल्ने भएका छन् ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसहित कुल ८ नेपाली खेलाडी विभिन्न टिममा ड्राफ्ट भएका छन् ।

दीपेन्द्रलाई यसअघि नै जेबी ब्रुग्सले प्रि-साइन गरेको थियो भने सन्दीप लामिछाने पनि लियेज रेड लायन्समा प्रि-साइन गरिएका थिए ।

रोहितसहित अन्य चार खेलाडी आज भएको ‘ड्राफ्ट’ बाट विभिन्न टोलीमा अनुबन्ध भएका छन् भने अनिल साह र गुल्शन झा अप्सनल राउन्डबाट छानिएका छन् ।

कप्तान रोहितलाई गेन्ट ग्लाडियटर्सले क्याटेगोरी ‘बी’ बाट साइन गरेको छ । त्यस्तै विकेटकिपर आसिफ शेख क्याटेगोरी ‘सी’ बाट एन्टवर्प एंकर्समा अनुबन्ध भएका छन् ।

ललित राजवंशी र इशान पान्डेलाई जेबी ब्रुग्सले ड्राफ्ट गरेको छ भने अप्सनल राउन्डबाट अनिल साह र गुल्शन झा पनि जेबीमा आबद्ध भए । चारैजना क्याटेगोरी ‘सी’ का हुन् ।

जेबी ब्रुग्स एनपीएलको फ्रेन्चाइज जनकपुर बोल्ट्स आबद्ध रहेको ड्रीम स्पोर्ट्सको स्वामित्वमा रहेको छ ।

जेबी ब्रुग्सले यसअघि न्युजिल्यान्डका आक्रामक ओपनर कलिन मनरो, दक्षिण अफ्रिकाका राशी भान डेर डुसेन, वायन पार्नेल र निखिल चौधरीलमई प्रि-साइन गरिसकेको थियो ।

लिगका लागि २२ नेपाली खेलाडीले नाम दर्ता गराएको देखिएको छ । प्रि-साइन र ड्राफ्ट भइसकेका खेलाडीबाहेक नाम दर्ता गराएकामा कुशल भुर्तेल, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदित्य महता, शेर मल्ल, लोकेश बम, विनोद भण्डारी, शरद भेषावकर, आदिल आलम, सन्तोष यादव, कुशल मल्ल, भीम सार्की, शाहब आलम, गुल्शन झा र पवन सर्राफ छन् ।

ललित, आसिफ र इशानको नेपालबाहिर खेल्ने लिगको पहिलो अनुभव हुनेछ । कप्तान रोहित, दीपेन्द्र र सन्दीपले भने यसअघि नेपालबाहिर फ्रेन्चाइज लिग खेलिसकेका छन् ।

टिम कम्बिनेसन

लिगका सबै टिमले ५ खेलाडी प्रि -साइन गरिसकेका थिए । आज ७ राउन्डमा भएको ड्राफ्टबाट खेलाडीहरू छानिँदा हरेक टिममा कुल १२ खेलाडी छानिइसकेका छन् ।

लिगको ड्राफ्टमा त्यसपछि बेल्जियमका खेलाडी छानिएका थिए । हरेक टोलीमा कम्तीमा ४ जना बेल्जियन खेलाडी हुनुपर्छ । त्यसपछि खेलाडी संख्या १६ पुगेको थियो ।

टिमले चाहेमा अप्सनल राउन्डबाट २ जनासम्म वैकल्पिक खेलाडी छान्न पाउने प्रावधान थियो । त्यही अप्सनल राउन्डबाट अनिल र गुल्शन पनि जेबीमा समावेश भएका थिए ।

पहिलो राउन्डको ड्राफ्टमा क्याटेगोरी ‘ए’ का खेलाडीहरू छानिएका थिए । त्यसपछि दुई राउन्ड क्याटेगोरी ‘बी’ अनि चार राउन्ड क्याटेगोरी ‘सी’ गरेर खेलाडीहरू छानिएका थिए ।

हरेक टिममा कम्तीमा १६ अनि बढीमा १८ खेलाडी संख्या हुने उल्लेख छ ।

अलराउन्डर दीपेन्द्रसिंह ऐरी इयू टी-२० लिग बेल्जियम रोहित पौडेल सन्दीप लामिछाने

धेरै कमेन्ट गरिएका

लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय