News Summary
Generated by OK AI. Editorially reviewed.- १९औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका लागि बीसीसीआईले कडा नियमहरू लागु गरेको छ ।
- म्याच डेमा अभ्यास पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ भने प्रत्येक टोलीलाई दुई नेट र मुख्य स्क्वायरको एक साइड विकेट उपलब्ध गराइनेछ।
- खेलाडीका परिवार र साथीहरूलाई अभ्यास मैदानमा प्रवेश निषेध गरिएको छ ।
१० चैत, काठमाडौं । १९औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी मार्च २८ देखि सुरु हुँदैछ । उद्घाटन खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले सनराइजर्स हैदराबादसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताअघि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले सबै १० टोलीका लागि कडा निर्देशिका जारी गरेको छ । यसपटकको सबैभन्दा महत्वपूर्ण निर्णय भनेको म्याच डेमा अभ्यास पूर्ण रूपमा प्रतिबन्धित गर्नु हो । पिच र विकेटको संरक्षणका लागि यस्तो व्यवस्था गरिएको हो । साथै, म्याच डेमा खेलाडीहरूको फिटनेस टेस्ट गर्न पनि अनुमति दिइएको छैन ।
अभ्यास व्यवस्थापनका लागि बीसीसीआईले स्पष्ट मापदण्ड तय गरेको छ । प्रत्येक टोलीलाई दुई वटा नेट र मुख्य स्क्वायरको एक साइड विकेट रेंज हिटिङका लागि उपलब्ध गराइनेछ ।
यदि एउटै मैदानमा दुई टोलीले एकै समयमा अभ्यास गरे भने दुवै टोलीलाई दुई–दुई विकेट छुट्याइनेछ । तर, कुनै पनि टोलीले आफ्नो प्रतिद्वन्द्वीलाई छुट्याइएको अभ्यास क्षेत्र प्रयोग गर्न पाउने छैन, चाहे त्यो खाली किन नहोस् । साथै, ओपन नेट अभ्यास पूर्ण रूपमा निषेध गरिएको छ ।
खेलाडीहरूको परिवार र साथीहरूको उपस्थितिबारे पनि कडा नियम बनाइएको छ । अभ्यासका क्रममा परिवारका सदस्यहरूलाई मैदानभित्र प्रवेश गर्न दिइने छैन र उनीहरूले हस्पिटालिटी एरियाबाट मात्र अभ्यास हेर्न पाउनेछन् । खेलाडीहरूले अभ्यास र खेलका लागि अनिवार्य रूपमा टीम बस प्रयोग गर्नुपर्नेछ भने परिवार र साथीहरूले छुट्टै सवारी प्रयोग गर्नुपर्नेछ ।
सपोर्ट स्टाफको हकमा पनि सीमितता राखिएको छ । अभ्यास दिनमा केवल आधिकारिक कार्ड पाएका स्टाफलाई मात्र ड्रेसिङ रुम र मैदानमा प्रवेश दिइनेछ । अतिरिक्त स्टाफ, जस्तै नेट बलर वा थ्रोडाउन विशेषज्ञहरूका लागि बीसीसीआईबाट पूर्व स्वीकृति लिनुपर्नेछ । म्याच डेमा अधिकतम १२ जना सपोर्ट स्टाफ (टिम डाक्टरसहित) मात्र अनुमति हुनेछ ।
म्याच डेका लागि थप नियमहरू पनि लागू गरिएका छन् । सबै अधिकृत स्टाफले आफ्नो एक्रेडिटेसन अनिवार्य रूपमा बोक्नुपर्नेछ, अन्यथा चेतावनी वा जरिवाना हुन सक्छ ।
खेलाडीहरूले पोस्ट–म्याच प्रस्तुतीकरणका क्रममा निर्धारित ड्रेस कोड पालना गर्नुपर्नेछ, जहाँ छोटो बाहुला भएका जर्सी वा चप्पल प्रयोग गर्न निषेध गरिएको छ । साथै, ओरेन्ज क्याप र पर्पल लगाउने सम्बन्धी नियम कडाइका साथ लागू गरिनेछ ।
जर्सी नम्बर परिवर्तन सम्बन्धी नियम पनि स्पष्ट गरिएको छ । कुनै खेलाडीले आफ्नो जर्सी नम्बर परिवर्तन गर्न चाहेमा कम्तीमा २४ घण्टा अगाडि जानकारी गराउनुपर्नेछ ।
प्रतिक्रिया 4