News Summary
Generated by OK AI. Editorially reviewed.- एचजेएनबीएलमा टाइम्स इन्टरनेसनल क्लबले कीर्तिपुरलाई ८१-७९ ले पराजित गरेको छ।
- खेलमा टाइम्सका मनिष केसीले सर्वाधिक ३१ अंक बनाएर म्यान अफ दि म्याच घोषित भएका छन्।
- नेपाल बास्केटबल संघको आयोजनामा आठ टोली सहभागी दोस्रो संस्करणको लिगमा शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन्।
१० चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ अन्तर्गत मंगलबार भएको खेलमा टाइम्स इन्टरनेसनल क्लबले कीर्तिपुरमाथि रोमाञ्चक जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा टाइम्सले अन्तिम रिबाउण्डमा दुई अंक स्कोर गरेपछि कीर्तिपुरलाई ८१-७९ ले पराजित गरेको हो ।
खेलमा अधिकांश समयमा पछि परेको टाइम्सले अन्तिम समयमा बराबरी गर्न सफल भएको थियो । अन्तिममा एक पटक टाइम्सले अग्रता लिएपनि कीर्तिपुरले बराबरी गरेको थियो । तर अन्तिममा टाइम्सले पाएको मौकामा दुई अंक स्कोर गरेपछि खेल जित्न सफल भएको हो ।
१२ सेकेण्ड समय बाँकी रहँदा टाइम्सका कप्तान सदिश प्रधानले हानेको थ्री प्वाइन्टको प्रयास सफल हुन सकेन त्यसैको रिबाउण्डमा कमल थापाले दुई अंक स्कोर गर्दै टाइम्सलाई जित दिलाए ।
खेलमा कीर्तिपुरले पहिलो क्वाटर २०-१४ र दोस्रो क्वाटर २२-२० ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ४२-३४ को अग्रता बनाएको थियो । तेस्रो क्वाटर टाइम्सले २०-१६ ले आफ्नो पक्षमा पारेपनि चौथो तथा अन्तिम क्वाटरअघिसम्म कीर्तिपुर ५८-५४ ले अघि थियो ।
तर निर्णायक क्वाटरमा टाइम्सले उत्कृष्ट प्रदर्शन गर्दै २७-२१ ले अघि रह्यो । अन्तिम क्वाटरमा गरेको प्रदर्शन नै टाइम्सको जितमा निर्णायक बन्यो र दुई अंक अन्तरले खेल जितेको हो ।
टाइम्सका मनिष केसीले सर्वाधिक ३१ अंक स्कोर गरे । उनी म्यान अफ दि म्याच घोषित भए । लिगमा टाइम्सको यो लगातार सातौं जित हो । ८ खेलमा ७ जित र १ हारबाट १५ अंक जोडेर टाइम्स अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ ।
पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् ।
यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।
प्रतिक्रिया 4