+
पीएम कप क्रिकेट :

पुलिसको जितमा दिनेशको अलराउन्ड प्रदर्शन, चलेन एपीएफको ब्याटिङ

२०८२ चैत  १० गते १९:२३ २०८२ चैत १० गते १९:२३

एनपीएलको पहिलो संस्करणपछि चर्चामा आएका दिनेशले पीएम कप पहिलोपटक खेलिरहेका हुन् । त्यसमाथि पनि विभागीय टोली पुलिसबाटै खेलेर यस संस्करणको पहिलो जित दिलाउन महत्वपूर्ण भूमिका खेले ।

पुलिसको जितमा दिनेशको अलराउन्ड प्रदर्शन, चलेन एपीएफको ब्याटिङ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पुलिस क्लबले पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफमाथि १८५ रनको एकपक्षीय जित हासिल गरेको छ।
  • पुलिसले ५० ओभरमा ९ विकेट गुमाएर ३५५ रनको कीर्तिमानी योगफल बनाएको छ जुन पीएम कपकै सर्वाधिक हो।
  • दिनेश खरेलले ब्याटिङमा ६० रन र बलिङमा २ विकेट लिएर 'प्लेयर अफ द म्याच' घोषित भएका छन्।

१० चैत, काठमाडौं । नेपाल पुलिस क्लबले पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पार्‍यो । पुलिसले अर्को विभागीय टोली एपीएफमाथि १८५ रनको एकपक्षीय जित हासिल गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले कीर्तिमानी योगफल खडा गर्दै ३५५ रनको विशाल स्कोर बनाएको थियो । पीएम कपकै सर्वाधिक योगफल बनाउने क्रममा पुलिसका चार ब्याटरले अर्धशतक समेत बनाए ।

जवाफी ब्याटिङमा एपीएफ सुरुवातदेखि नै दबाबमा परेको थियो । कुनैपनि समय एपीएफले खेलमा पकड जमाउन सकेन र ‘विभागीय डर्बी’ खेलमा फराकिलो अन्तरको हार बेहोर्न बाध्य भयो ।

पुलिसको जितमा दिनेश खरेलले अलराउन्ड प्रदर्शन गरे । ब्याटिङमा ६० रन बनाएका दिनेशले बलिङमा २ विकेट लिए, जसमध्ये एक विकेट विपक्षी कप्तान रोहित पौडेलको थियो ।

यस्तै फिल्डिङमा ३ क्याच समेत लिए । तीनवटै पक्षमा योगदान दिएका उनको यही प्रदर्शनका कारण ‘प्लेयर अफ द म्याच’ समेत घोषित भए ।

एनपीएलको पहिलो संस्करणपछि चर्चामा आएका दिनेशले पीएम कप पहिलोपटक खेलिरहेका हुन् । भरपर्दा बाँयाहाते ब्याटरका रूपमा चिनिएका दिनेशले पुलिसलाई यस संस्करणको पहिलो जित दिलाउन महत्वपूर्ण भूमिका खेले । खरेलले टिमको जितमा योगदान दिन पाउँदा धेरै खुसी लागेको बताए ।

‘पहिलो खेलमा राम्रो हुन सकेको थिएन । यति चाँडो टर्नअराउन्ड हुन्छ भनेर सोचेको थिइनँ । तीनवटै पक्षमा योगदान दिन पाउँदा धेरै खुसी छु’ दिनेशले खेलपछि भने ।

पुलिसले पावरप्लेको राम्रो सदुपयोग गरेको दिनेशको भनाइ थियो । ‘अघिल्लो खेलमा हामीले सुरुवाती १० ओभरलाई राम्ररी सदुपयोग गर्न सकेका थिएनौं । आज चाहिँ पावरप्लेमा फाइदा लिन खोज्यौं, आजको मुख्य योजना नै त्यही थियो’ दिनेशले थपे ।

दिनेशले पुलिसका ओपनिङ ब्याटर कुशल भुर्तेल आफ्ना लागि मेन्टरजस्तै रहेको प्रतिक्रिया समेत दिए । उनले टिम म्यानेजमेन्टबाट आफ्नै तरिकाको खेल खेल्न स्वतन्त्रता पाएको बताए । ‘कुशल दाई मेरो लागि मेन्टर नै हो । उहाँको ब्याटिङलाई रोल मोडल बनाएर खेल्छु’ दिनेशले भने, ‘टिम म्यानेजमेन्टबाट पनि मेरो लागि फ्रीडम नै थियो । टिममेटबाट पनि सपोर्ट पाएँ त्यसैले धेरै नै इन्जोए गरिरहेको छु।’

चलेन एपीएफको ब्याटिङ

३५६ रनको विशाल योगफल पछ्याउन जवाफी ब्याटिङमा उत्रिएको एपीएफ सुरुवातदेखि दबाबमा आएको थियो । दिपक बोहरालाई ४ रनमै गुमाएको एपीएफका लागि पहिलो खेलमा यहीँ शतक बनाएका आसिफ शेख पनि १८ रनमै आउट भएपछि २२-२ को अवस्थामा पुगेको थियो ।

त्यसपछि कप्तान रोहित पौडेल र सन्दीप जोरा मिलेर २५ रनको साझेदारी बनाएको भएपनि पार्ट टाइम बलर दिनेश खरेलले आफ्नो पहिलो ओभरमै कप्तान रोहितलाई आउट गरिदिए । त्यसपछि एपीएफ सम्हालिन सकेन र त्यहाँबाट २४ रन जोड्दा थप ४ विकेट गुमाएर ७१-७ को अवस्थामा पुग्यो ।

यसक्रममा एपीएफको मिडल अर्डर धराशायी बन्यो । ब्याटिङ अर्डरमा माथि पठाइएका युवराज खत्री १, अमरसिंह राउटेला पनि १ र लोकेश बम २ रनमा आउट भए ।

अन्त्यतिर कमलसिंह ऐरी र नन्दन यादवले केही राम्रा शटहरू खेल्दै हारको अन्तर घटाए । कमल र नन्दल मिलेर नवौं विकेटका लागि ४९ रनको साझेदारी गरे । नन्दन ४४ रनमा अविजित रहँदा कमलले ३५ रन बनाए ।

पहिलो खेलमा बागमती प्रदेशविरुद्ध यही पिचमा राम्रो ब्याटिङ गर्दै २७१ रनको योगफल बनाएको एपीएफ पुलिसविरुद्ध भने ब्याटिङमा चुक्यो । एपीएफका ब्याटर आसिफले पहिलो खेलमा शतक बनाएपछि प्रतिक्रिया दिँदै पिच पहिलेभन्दा धेरै राम्रो भएको र ब्याटिङ गर्न राम्रो भएको बताएका थिए । तर त्यही पिचमा आज भने एपीएफको ब्याटिङ चल्न सकेन ।

एपीएफलाई धराशायी पार्न दिनेशको २ विकेटसँगै ललित राजवंशीले ३ विकेट लिए भने पेस बलर करण केसी र राशिद खानले पनि २-२ विकेट लिए ।

पुलिसका दिनेश खरेलले प्लान अनुसार ब्याटरहरूले प्रदर्शन गर्दा राम्रो योगफल सम्भव भएको बताए । ‘हामी ब्याटिङ गर्दा सेट भएपछि बल्ल ठूला शटहरूका लागि गयौं । ब्याटरहरूले प्लान अनुसार खेल्दा यो सम्भव भयो’ उनले भने ।

एपीएफका ब्याटरहरू भने साझेदारी बनाएर पिचमा टिक्न नसक्दा लगातार विकेट गुमाउन पुगे र पुलिससँग फराकिलो अन्तरको हार बेहोर्न बाध्य भए ।

पुलिसको कीर्तिमान

एपीएफविरुद्ध जित निकाल्दा पुलिसले कीर्तिमान समेत बनायो । पुलिसले पीएम कपकै कीर्तिमानी योगफल बनाउने क्रममा ५० ओभरमा ९ विकेट गुमाएर ३५५ रन बनाएको थियो ।

पीएम कपमा आठ वर्षपछि सर्वाधिक योगफलको कीर्तिमान तोडिएको हो । यसअघि सन् २०१८ को पीएम कपमा एपीएफ क्लबले मधेश प्रदेशविरुद्ध ३३९ रनको योगफल बनाएको थियो ।

पुलिसका लागि चारजना ब्याटरले अर्धशतक बनाएका थिए । शंकर रानाले सर्वाधिक ६१ रन, दिनेश खरेलले ६० र कप्तान आरिफले ५० रन बनाए । दिल्साद अली ५१ रनमा अविजित रहे । राशिद खानले ४४ रन बनाए । यो बलियो ब्याटिङको मद्दतमा पुलिसले कीर्तिमानी योगफल खडा गर्‍यो ।

संयोगवश एपीएफको उक्त कीर्तिमान एपीएफविरुद्ध नै तोडियो । पुलिस सबैभन्दा ठूलो अन्तरको जित निकाल्ने आफ्नै कीर्तिमान तोड्नबाट भने थोरै रनले चुक्यो ।

सन् २०२४ संस्करणको पीएम कपमा पुलिसले कर्णाली प्रदेशविरुद्ध १९३ रनको जित हासिल गरेको थियो । सर्वाधिक रन अन्तरको जितमा शीर्ष ३ कीर्तिमान नै पुलिसको नाममा छ ।

पुलिसले मधेशविरुद्ध गत संस्करण (२०२५) मा १९२ रनको, कोशीविरुद्ध सन् २०२४ मा १९१ रनको जित हासिल गरेको छ ।

दिनेश खरेल नेपाल पुलिस क्लब पीएम कप क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय