News Summary
Generated by OK AI. Editorially reviewed.- उच्च अदालत पाटनले एन्फा वरिष्ठ उपाध्यक्ष पदका दावा लामाको उम्मेदवारी स्थगनसम्बन्धी अन्तरिम आदेशलाई निरन्तरता दिएको छ।
- अदालतले सर्वोच्च अदालतबाट दावा लामासम्बन्धी लागूऔषध मुद्दाको थप विवरण माग गरी चैत १२ गते छलफल गर्ने निर्देशन दिएको छ।
- अन्तरिम आदेश जारी रहेकाले एन्फा निर्वाचन प्रक्रियामा उक्त विषयको प्रभाव कायम रहनेछ।
१० चैत, काठमाडौं । उच्च अदालत पाटनले एन्फा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका दावा लामाको उम्मेदवारी स्थगनसम्बन्धी दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।
दिपक खतिवडाले दायर गरेको रिट निवेदनमाथि संयुक्त इजलासमा सुनुवाइ गर्दै अदालतले थप अध्ययन आवश्यक देखिएको जनाएको हो । न्यायाधीशद्वय सूर्यप्रसाद पराजुली र वासुदेव न्यौपानेको इजलासले अन्तरिम आदेशबारे अन्तिम निर्णय लिनुअघि सर्वोच्च अदालतबाट थप विवरण झिकाउने आदेश दिएको छ ।
निवेदनमा एन्फा कार्यसमितिको उम्मेदवार दावा लामा यसअघि लागूऔषध मुद्दामा दोषी ठहर भएको भन्दै उनी उम्मेदवार हुन अयोग्य भएको दाबी गरिएको छ । तर, उक्त फैसलाविरुद्ध दावा लामाले सर्वोच्च अदालतमा रिट दायर गरेको अवस्था रहेको उल्लेख गरिएको छ ।
अदालतले सो मुद्दाको वर्तमान अवस्था के छ भन्ने स्पष्ट पार्न सर्वोच्च अदालतसँग सम्बन्धित कागजात र विवरण माग गरेको छ । साथै, उक्त विवरण प्राप्त भएपछि चैत १२ गते अन्तरिम आदेशसम्बन्धी थप छलफल गर्ने गरी पेश गर्न निर्देशन दिएको छ ।
त्यस अवधिसम्मका लागि अदालतले यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई यथावत राखेको छ, जसका कारण एन्फा निर्वाचन प्रक्रियामा उक्त विषयको प्रभाव कायम रहने देखिएको छ ।
प्रतिक्रिया 4