News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला ब्लाइन्ड क्रिकेट टिमले पहिलो पटक आयोजित ब्लाइन्ड महिला टी-२० विश्वकपमा उपविजेता भएर ऐतिहासिक सफलता हासिल गर्यो ।
- एरिका गुरुङले वर्ष २०८२ मा कराते वान प्रिमियर लिगमा दुई रजत र मलेसियामा कराते वान सिरिज \'ए\' मा स्वर्ण पदक जितिन् ।
- चन्द्र थापा मगरले दुबईमा भएको आईबीए मेन्स विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका लागि पहिलो पटक कांस्य पदक जिते ।
३० चैत, काठमाडौं । वर्ष २०८२ ले बिट मार्ने क्रममा छ । यस वर्ष नेपाली खेलकुदमा धेरै उतारचढावहरू पनि आए । जसमा केही सफलता केही असफलताहरू पनि नेपाली खेलकुदले देख्यो ।
त्यसमा पनि व्यक्तिगत केही खेलाडीहरूको प्रदर्शन त्यस्तो रह्यो जसले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको झण्डा फहराउँदै नाम चिनाउन सफल भए ।
विशेषगरी व्यक्तिगत खेलका खेलाडीहरू यो सूचीमा हावी बन्दा मास गेममा क्रिकेटका खेलाडीहरु व्यक्तिगत प्रदर्शनले गर्दा केही चर्चामा रहे ।
यस लेखमा वर्ष २०८२ मा नेपाली खेलकुदमा चर्चामा रहेका अन्तर्राष्ट्रिय सफलता हात पारेका खेलाडीहरूलाई समेट्ने प्रयास गरिएको छ ।
जुन नयाँ आउने खेलाडीहरूका लागि मार्गदर्शक पनि बन्न सक्छ । महिला खेलाडीहरू धेरै चम्किएको यस वर्ष केही पुरुष खेलाडीहरूले पनि राम्रो उपलब्धिहरू हासिल गरे ।
एरिका गुरुङ, कराते स्टार

एरिका गुरुङ पछिल्लो समय नेपाली खेलकुदकी निर्विकल्प स्टार हुन् । नेपाली करातेमा एरिकाले पछिल्ला वर्षहरुमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै आएकी छिन् ।
वर्ष २०८२ पनि एरिकाका लागि विशेष बन्यो । यस वर्ष उनले सबैजसो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताहरुमा प्रतिस्पर्धा गरिन् । त्यसमा पनि एकाधलाई छाड्ने हो भने एरिकाले प्राय प्रतियोगितामा नेपालका लागि पदक जितेकी छिन् ।
उनले जितेको हरेक पदमा नेपाली करातेले इतिहास बनाएको छ । यस वर्ष उनले करातेको वर्ल्ड च्याम्पियनसिपदेखि कराते वान प्रिमियर लिग, कराते वान सिरिज ए जस्ता महत्वपूर्ण र ठूला प्रतियोगिताहरु खेलिन् । त्यसमा वर्ल्ड च्याम्पियनसिपमा पदक नजिक पुगेर पराजित भएपनि एरिकाले कराते वान प्रिमियर लिगमा ऐतिहासिक रजत जितिन् । त्यो पनि एक पटक होइन दुई पटक ।
एरिकाले वर्ष २०८२ मा एक होइन तीन कराते वान प्रिमियर लिगमा सहभागी भइन् । अंग्रेजी वर्ष फरक भएपनि नेपाली वर्षमा भने उनको प्रतियोगिता २०८२ मै परेको थियो ।
सुरुमा उनले २०८२ जेठमा मोरोक्कोमा भएको कराते वान प्रिमियर लिगमा कांस्य जितिन् । त्यो ऐतिहासिक कांस्य थियो । त्यसपछि उनले माघमा टर्कीएको इस्तानबुलमा भएको डब्लुकेएफ कराते वान प्रिमियर लिगमा ऐतिहासिक रजत जितिन् । उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेकी एरिकाले फाइनलमा चिरपरिचित कजाखस्तानकी सोफिया बेरुत्सेभासँग ४-२ ले पराजित भएपछि रजत जितेकी हुन् ।
यस्तै वर्षको अन्तिममा एरिकाले चीनमा कराते वान प्रिमियर लिग खेलिन् । वर्षको दोस्रो अन्तिम दिन एरिका अर्को ऐतिहासिक उपलब्धि नजिक पुगेकी थिइन् । तर फाइनलमा पुरानै प्रतिद्वन्दी सोफिया बेरुत्सेभासँग २-१ को झिनो अन्तरले पराजित हुँदा यस पटक पनि एरिकाको भागमा रजत पदक नै आयो ।
फाइनलसम्म पुग्दा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्णको दाबेदार बनेकी एरिका अन्तिममा फेरि पराजित भइन् ।
यद्यपी एरिकाले एकै वर्षमा कराते वान प्रिमियर लिगमा जितेको दुई रजत पदक नेपाली करातेमा ऐतिहासिक उपलब्धि हो ।
यस्तै एरिकाले असोजमा मलेसियामा भएको कराते वान सिरिज ए मा यसै वर्ष ऐतिहासिक स्वर्ण पदक जितिन् ।
विश्व काराते महासंघको आयोजनामा असोज १७ देखि १९ सम्म मलेसियाको क्वालाम्पुरमा भएको डब्लुकेएफ कराते वान सिरिज ‘ए’मा एरिकाले ऐतिहासिक स्वर्ण जितेकी हुन् ।
त्यसअघि असारमा थाइल्यान्डमा भएको थाइल्याण्ड ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता पनि एरिकाले स्वर्ण जितिन् ।
यी उपलब्धिहरू पछि एरिकाले विश्व वरियतामा पनि फड्को मारिन् । टर्किएमा रकाते वान प्रिमियर लिगमा रजत जितेपछि उनी डब्लुकेएफको महिला ६८ केजीमाथिको वरियतामा फड्को मार्दै १३औं स्थानमा उक्लेकी थिइन् ।
एरिकाको वर्ल्ड च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेपनि पदक जित्न बाँकी छ । अब उनको लक्ष्य त्यही वर्ल्ड च्याम्पियनसिपमा पदक जित्नेछ ।
एरिकाको लगातार उत्कृष्ट प्रदर्शनले नेपाली करातेको स्तर अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न सक्षम भएको संकेत दिएको छ । साथै यसले खेलकुदमा उचित व्यवस्थापन भएमा पदक ल्याउन सकिन्छ भन्ने प्रमाणित पनि गरेको छ र नयाँ खेलाडीहरुमा लागि मोटिभेसन समेत बनेको छ ।
सुनमाया बुढा, ट्रेल रनर

सुनमाया बुढा पछिल्लो समय नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै चर्चित ट्रेल रनर हुन् । उनले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न रेसमा दौडँदै उपाधि जितिसकेकी छिन् ।
वर्ष २०८२ मा पनि उनले आफ्नो लय कायम राख्दै महत्वपूर्ण उपलब्धि हासिल गरिन् । यस वर्ष सुनमायाले मुख्य गरी दुई ठूला रेसमा ऐतिहासिक प्रदर्शन गरिन् ।
उनले असोजमा स्पेनमा भएको वर्ल्ड माउण्टेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिप २०२५ मा नेपालका लागि ऐतिहासिक रजत जितेकी हुन् । उनले महिलातर्फ लङ डिस्ट्यान्सको ८२ किमीमा रजत जितेकी हुन् ।
सुनमायाले जितेको पदक नेपालबाट कुने पनि खेलाडीले वर्ल्ड माउण्टेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिपमा जितेको पहिलो पटक हो । च्याम्पियनसिपमा सुनमायासँगै नेपालबाट सुमन कुलुङ राई, मनकुमार मगर र साङ्गे शेर्पाले सहभागिता जनाएका थिए ।
पुरुषतर्फ पनि नेपाली खेलाडीहरूको प्रदर्शन एसियन धावकहरूमध्ये उत्कृष्ट रहेपनि पोडियममा फिनिस गर्न भने सकेनन् ।
यस्तै सुनमायाले यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाको केप टाउनमा आयोजना भएको अल्ट्रा ट्रेल १०० किमि रेसको उपाधि जित्दै वर्ल्ड ट्रेल मेजर्सको उपाधि पनि जितेकी थिइन् ।
चाइनिज कम्पनी कैलास फुगाले सुनमायाले प्रायोजन गर्दै आएको छ । जसले गर्दा उनले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउन सहज भएको छ । जुम्लाबाट उदाएकी सुनमाया अहिले विश्व ट्रेल रनिङको स्टारको रुपमा स्थापित हुँदै नेपालको नाम चर्चित बनाइरहेकी छिन् ।
दिदी सुनमाया जस्तै बहिनी राममाया बुढाले पनि अन्तर्राष्ट्रिय ट्रेल रनिङमा उत्कृष्ट प्रदर्शन गरिरहेकी छन् । वर्ष २०८२ मा राममायाले वर्ल्ड ट्रेल मेजर सर्ट डिस्ट्यान्समा समग्रमा दोस्रो स्थान हात पार्दा वर्षको अन्त्यमा चीनमा भएको चेन्दु ट्रेल रेसमा पहिलो स्थान हासिल गरिन् ।
प्रिया राई, ट्रेल रनिङ स्टार

नेपाली अल्ट्रा ट्रेल रनिङमा प्रिया राई अनसङ हिरोको रुपमा छिन् । पछिल्लो समय ट्रेल रनिङमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय सफलता हात पारिरहेका छन् ।
सुनमाया बुढा, राममाया बुढा, प्रिया राई, मनकुमार मगर, अर्जुन कुलुङ राई, सुमन कुलुङजस्ता खेलाडीहरूले विदेशमा राम्रो प्रदर्शन गरिरहेका छन् । त्यसमा तुलनात्मक रुपमा प्रियाको कम चर्चा भएको देखिन्छ ।
उनले एसिया ट्रेल मास्टर्सको लगातार दोस्रो पटक उपाधि जित्दै कीर्तिमान बनाइन् । उनी एसिया ट्रेल लगातार दुईपटक जित्ने पहिलो र एकमात्र महिला धावक समेत हुन् ।
सुनमाया बुढा जस्तै अन्तर्राष्ट्रिय ट्रेल रनिङमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी अर्की नेपाली धावक हुन प्रिया राई ।
प्रिया राईको लागि पनि वर्ष २०८२ विशेष रह्यो । उनले एसिया ट्रेल मास्टर (एटिएम) मा कीर्तिमान बनाइन् । यस वर्ष हङकङमा भएको एसिया ट्रेल मास्टरको उपाधि जित्दै प्रियाले लगातार दुई पटक यो प्रतियोगिता जित्ने कीर्तिमान बनाइन् ।
उनले यसअघिको संस्करण पनि जितेकी थिइन् । एटीएमको इतिहासमा लगातार दोस्रो पटक उपाधि जित्ने प्रिया पहिलो र एक मात्र महिला धावक हुन् । त्यो सौभाग्य नेपाली धावकले प्राप्त गर्नु नेपालको लागि पनि गौरवको विषय हो ।
यस्तै प्रियाले माघमा म्यानमारको कालावालमा कालाव अल्ट्रा ट्रेल रन अन्तर्गत ५० किमीमा स्वर्ण जितेकी थिइन् । प्रियाले निर्धारित दूरी ५ घण्टा ३८ मिनेट ३९ सेकेण्डमा पूरा गरेकी थिइन् । प्रियाले कोर्स रेकर्डसहित स्वर्ण जित्दै अर्को कीर्तिमान बनाएकी हुन् ।
चन्द्र थापा मगर, बक्सिङ

वर्ष २०८२ मा नेपाली बक्सिङले पनि ठूलो उपलब्धि हासिल गर्यो । त्यसमा मुक्केबाज चन्द्र थापा मगरले उत्कृष्ट प्रदर्शन गरे ।
नेपाली मुक्केबाज चन्द्रबहादुर थापाको लागि पनि यो वर्ष विशेष रह्यो । उनले वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा नेपालका लागि ऐतिहासिक कांस्य जिते ।
नेपाली बक्सर चन्द्र थापा मगरले युएईको दुबईमा भएको आईबीए मेन्स विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक जिते ।
उनले ५४ केजी तौल समूह (बान्टमवेइट) मा इरानी खेलाडी मेहदी काजेमीलाई युनानिमस डिसिजनका आधारमा ५-० ले पराजित गर्दै सेमिफाइनल पुगेपछि नै नेपालका लागि पदक पक्का गरेका थिए ।
चन्द्रले पहिलो खेलमा इन्डोनेसियाका खेलाडी योसुअ होली मासिहोरलाई पराजित गरेका थिए । यस्तै क्वाटरफाइनलमा उनले अर्मेनियाका खेलाडी डाभिट योगोर्यानलाई हराएका थिए ।
चन्द्र सेमिफाइनलमा भने काजकिस्तानका खेलाडी साकेन बिबोसिनोभसँग पराजित भएपछि फाइनल पुग्न असफल रहे ।
विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका खेलाडीले जितेको यो पहिलो पदक हो । कांस्य पदक जितेका चन्द्रले प्रतियोगिताको नियम अनुसार ७५ हजार अमेरिकी डलर पुरस्कार पनि पाएका थिए ।
सीमित प्रशिक्षण, थोरै सुविधा र अन्तर्राष्ट्रिय स्तरको अनुभवको कमीका बाबजुद चन्द्रको प्रदर्शन प्रेरणादायी छ र यसले नेपाली बक्सिङमा नयाँ पुस्तालाई उत्साहित गर्ने र यस क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता झन् स्पष्ट पारेको छ ।
यस पटक आईबीए मेन्स विश्व बक्सिङ च्याम्पियनसिपमा स्वर्ण जित्नेले नगद ३ लाख डलर, रजत जित्नेले १ लाख ५० हजार डलर र कांस्य जित्नेका लागि ७५ हजार डलर दिने प्रावधान थियो ।
च्याम्पियनसिपमा नेपालबाट चन्द्रसहित ५ खेलाडीले प्रतिस्पर्धा गर्दा उनले मात्र पदक जिते । लाल प्रसाद उप्रेती भने क्वाटरमा पराजित भएपछि पदक नजिक पुगेर पनि चुके ।
सन्तोषी श्रेष्ठ, एथ्लेटिक्स

यस वर्ष सन्तोषीको लागि विशेष रह्यो । उनले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा म्याराथन, हाफ म्याराथन र मिडल डिस्ट्यान्स रेसहरूमा नया नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् । यस्तै दक्षिण एसियाली एथ्लेटिक्समा उनले दुई पदक समेत जितिन् ।
उनले एकै वर्ष चार फरक विधामा दौडेर कूल पाँच कीर्तिमान बनाइन् । त्यसमा पनि म्याराथनमा एकै वर्ष दुई पटक कीर्तिमान बनाएकी हुन् ।
भारतमा भएको चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिप २०२५ मा सन्तोषीले महिलातर्फ १०००० र ५००० हजार दुवैमा नयाँ राष्ट्रिय कीर्तिमानसहित पदक जितिन् ।
राँचीमा भएको च्याम्पियनसिपमा उनले महिला १०००० मिटरमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै कांस्य जितिन् । सन्तोषीले निर्धारीत दूरी ३४ मिनेट ४७.७७ सेकेण्डमा पूरा गर्दै कान्छिमाया कोजुको नाममा रहेको १९ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी हुन् ।
कान्छिमाया कोजुले सन् २००६ मा कोलोम्बोमा भएको साउथ एसियन गेम्समा ३५ मिनेट ०३.४३ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
यस्तै ५००० मिटरमा पनि सन्तोषीले कान्छिमाया कोजुको नाममा रहेको १५ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्दै कांस्य जितेकी हुन् । उनले निर्धारित दूरी १६ मिनेट ३६:६१ सेकेण्डमा पूरा गर्दै कान्छिमायाले सन् २०१० मा चीनको ग्यान्झाउमा भएको एसियन गेम्समा बनाएको १६ मिनेट ४९:९८ सेकेण्डको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाइन् ।
यस्तै सन्तोषीले म्याराथनर हाफ म्याराथनहरूमा कीर्तिमान बनाइन् । असोजमा भारतको नयाँ दिल्लीमा भएको दिल्ली हाफ म्याराथनमा उनले १ घण्टा १५ मिनेट ०४ सेकेन्डमा दौड पूरा गर्दै आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकी हुन् ।
यसअघि उनले सन् २०२३ मा बंगलादेशको ढाकामा भएको बंगबन्धु हाफ म्याराथनमा १ घण्टा १५ मिनेट १६ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।
एआईएमएस प्रमाणित कोर्समा भएको दिल्ली हाफ म्याराथनमा सन्तोषीले इन्टरनेशनल इलिट क्याटोगोरीमा दौडदैँ विश्वका उत्कृष्ट धाविकाहरूसँग प्रतिस्पर्धा गरेकी थिइन् ।
त्यसपछि सन्तोषीले मंसिरमा स्पेनमा भएको भ्यालेन्सिया म्याराथन २०२५ मा नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् । उनले ४२.१९५ किमी म्याराथन २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकी हुन् ।
त्यसअघि यसै वर्ष बैशाखमा उनले लण्डन म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । त्यसपछि सन्तोषीले नै बंगलादेशमा भएको बंगबन्धु म्याराथनबाट म्याराथनमा डेब्यु गर्दै २ घन्टा ४६ मिनेट २६ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
राष्ट्रिय स्तरमा भने उनी लगातार उत्कृष्ट प्रदर्शन गरिन् । उनले लुम्बिनी पिस हाफ म्यारथनमा दोस्रो हुनु बाहेक सबैमा उपाधि जितिन् ।
गोल्डेन गर्लको रुपमा उदायकी सन्तोषी अहिले कीर्तिमानी गर्लको रुपमा चिनिन्छन् ।
सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला १०००० मिटरमा ऐतिहासिक स्वर्ण जित्दै सागमा इतिहासमा स्वर्ण जित्ने उनी पहिलो महिला नेपाली धावक बनेकी थिइन् ।
विभाग बाहिर सिभलको खेलाडी भएर पनि सन्तोषीले आफ्नै मिहिनेत र लगनका कारण लगातार उपलब्धि हासिल गर्दै आएकी छिन् ।
शिभाली गुरुङ, टेनिस

युवा टेनिस स्टार खेलाडी शिभाली गुरुङको लागि यस वर्ष निकै विशेष रह्यो । शिभालीको लागि मात्र नभएर यो नेपाली टेनिसकै लागि महत्वूर्ण क्षण बन्यो ।
नेपाली युवा टेनिस स्टार शिभाली गुरुङले माघमा मेलवर्नमा भएको अस्ट्रेलियन ओपन अन्तर्गत एसिया-प्यासिफिक एलिट-१४ एन्ड अन्डर ट्रफी प्रतियोगिता खेल्दै इतिहास रचिन् ।
अंग्रेजी क्यालेन्डर अनुसार वर्षको (२०२६) पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपनको दौरान यो प्रतियोगिता जनवरी २८ देखि ३० सम्म मेलवर्नमा भएको थियो ।
शिभाली यो लेभलमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी बनिन् ।
युवा खेलाडीको लागि आयोजना गरिने प्रतियोगिता एसिया-प्यासिफिक एलिट-१४ एन्ड अन्डर ट्रफीबाटै भविष्यका स्टार खेलाडीहरू जन्मिने गर्छन् ।
एसियन टेनिस फेडेरेसन र टेनिस अस्ट्रेलियाको सहकार्यमा शिभालीलाई यस इभेन्टमा छनोट गरिएको हो । जहाँ शिभाली जस्तै एसियामा युवा टेनिस स्टार खेलाडीहरू सहभागी थिए ।
यस पटक एसिया र प्यासिफिक क्षेत्रका उत्कृष्ट ८ ब्वाइजतर्फ र ८ गर्ल्स खेलाडी सहभागी थिए । यस प्रतियोगितामा शिभाली समग्रमा चौथो भइन् ।
आफ्नो समूहमा तीन मध्ये दुई खेलमा जित र एक हारको नतिजासहित सेमिफाइनल पुगेकी शिभाली सेमिफाइनलमा घरेलु खेलाडी मुसेम्मा सिलेकसँग पराजित भइन् ।
समूह चरणमा शिभालीले चिनियाँ खेलाडी जिन्यु झाउ र अस्ट्रेलियन खेलाडी जसलिन केलाई पराजित गरेकी थिइन् भने भारतीय खेलाडी जेन्सी कनाबारसँग पराजित भएकी थिइन् ।
भविष्यमा अष्ट्रेलियन ओपन ग्राण्डस्लाम पुग्ने बाटोको रुपमा रहेको जुनियर च्याम्पियनसिपमा ऐतिहासिक सहभागिता र सेमिफाइनलमा प्रवेश गर्नु शिभालीको लागि विशेष रह्यो ।
१४ वर्षको टिनएज उमेरमै नेपाली टेनिस खेलाडी शिभालीले ऐतिहासिक उपलब्धी हात पारिन् । यस्तो उपलब्धी यसअघि कुनै नेपाली खेलाडीले पाएका थिएनन् ।
अब उनी मुख्य ग्राण्ड्सलाम खेल्ने लक्ष्यमा छिन् । युवा उमेरमै त्यो ठूलो प्ल्याटफर्ममा गएर खल्ने र विश्व स्टार खेलाडीको खेल हेर्ने अवसर पाएकी शिभाली नयाँ पुस्ताका नेपाली टेनिसमा स्टार खेलाडी हुन् ।
दीपेन्द्र ऐरी, क्रिकेट

दीपेन्द्र सिंह ऐरी नेपाली क्रिकेटका टाइगर र ३६० डिग्री प्लेअर हुन् । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी दीपेन्द्र यस पटक नेपालले भारतमा आईसीसी टी२० विश्वकप खेल्दा चर्चामा रहे ।
मुम्बई वानखेडे स्टेडियममा आप्नो समूहको चारै खेल खेलेको नेपालले पहिलो जित हात पार्न स्कटल्यान्ड विरुद्धको अन्तिम खेल सम्मै कुर्नुपर्यो ।
दीपेन्द्र सिंह ऐरीकै अर्धशतकमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै जितबाट विश्वकपको यात्रालाई बिट मारेको थियो । दीपेन्द्र सिंह ऐरीको आक्रमक अर्धशतकमा नेपालले स्कटल्यान्डले दिएको १७१ रनको लक्ष्य ४ बल अगावै ३ विकेट गुमाएर पूरा गरेको थियो ।
नेपालले लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकप खेलेको हो । यस पटक नेपालले सुपर एट पुग्ने लक्ष्य राखेपनि त्यो सफल हुन सकेन । तर दीपेन्द्रले भने सम्झनलायक प्रदर्शन गरे ।
यस पटक दीपेन्द्रले चार नम्बर पोजिसनमा खेल्दै आफूलाई प्रमाणित गरे ।
विश्वकपमा उनले चार खेल खेल्दा दुई अर्शशतक नै प्रहार गरे । उनले वेस्ट इन्डिज विरुद्ध ५८ र स्कटल्यान्ड विरुद्ध अविजित ५० रन बनाएका थिए । पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध पनि उनले नेपालको लागि व्यक्तिगत उच्च स्कोर ४४ रन बनाएका थिए । इटलीविरुद्ध भने उनी १७ रनमै आउट भएका थिए ।
वेस्ट इन्डिज विरुद्ध अर्धशतक बनाएपछि दीपेन्द्र १२ वर्षपछि टी-२० विश्वकपमा अर्धशतक बनाउने पहिलो खेलाडी पनि बने । सन् २०१४ मा नेपालले बंगलादेशमा टी-२० विश्वकपमा डेब्यू गर्दा सुवास खकुरेलले अफगानिस्तान विरुद्ध अर्धशतक बनाएका थिए ।
त्यो खेलमा जित हात पारेको नेपालले १२ वर्षपछि पहिलो जित हात पार्दा पनि दीपेन्द्रले नै स्कटल्यान्ड विरुद्ध अर्धशतक बनाएर जित दिलाए । उनी टी-२० विश्वकपमा लगातार दुई अर्धशतक प्रहार गर्ने पनि पहिलो नेपाली खेलाडी बने ।
यसअघि केही वर्ष दीपेन्द्रले लोअर अर्डरमा फिनिसिरको भूमिकामा खेल्दै आएका थिए । ओमानमा नोभेम्बरमा भएको टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा पनि दीपेन्द्रले विभिन्न पिजसनमा ब्याटिङ गरेका थिए । त्यसबेला उनले टोलीको आवश्यकता अनुसार ६ नम्बर ५ नम्बर र ४ नम्बरमा ब्याटिङ गरेका थिए र सामोआ विरुद्ध वान डाउनमा ब्याटिङ गरेका थिए ।
घरेलु क्रिकेटमा नेपाल पुलिस क्ललबाट खेल्दै आएका उनले पुलिस क्लब छाडे । नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोएल्सका पक्तान रहेका उनले टिमलाई लगातार दोस्रो पटक फाइनल पुर्याए तर उपाधि जित्न भने सकेन ।
आशिष भारती, मोटरस्पोर्ट्स

आशष भारती खासै धेरै सुनिएको नाम पनि होइन । उनी चर्चित खेलाडी पनि होइन् । तर मेनस्ट्रिम स्पोर्ट्स भन्दा अली फरक मोटरस्पोर्ट्स एथ्लेटले २०८२ मा ऐतिहासिक सफलता हात पारे ।
मोटरस्पोर्ट्सले नेपालमा त्यति चर्चा पाइसकेको छैन । तर यही खेलका खेलाडी आशिष भारतीले (रोनी) वर्ष २०८२ मै नेपाली मोटरस्पोर्ट्सको इतिहासमा अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक स्वर्ण जिते ।
उनले दशैंको समयमा श्रीलंकाको कोलोम्बोमा भएको एसिया पेसिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिपमा मोटर स्पोर्टसको अटो जिमखना विधामा स्वर्ण जितेका हुन् ।
उनले एसिया अटो जिमखाना च्याम्पियनसिप (एएजीसी) र एसिया प्यासिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिप (एपीएमसी) मा प्रतिस्पर्धा गरेका थिए भने एकमा स्वर्ण जिते ।
अन्तर्राष्ट्रिय मोटरस्पोर्टस्को अफिसियल इभेन्टमा कुनै पनि नेपाली खेलाडीले स्वर्ण जितेको यो पहिलो पटक हो । त्यसैले पनि एसिया प्यासिफिक मोटरस्पोर्टस् च्याम्पियनसिप २०२५ नेपालका लागि उपलब्धिमूलक बन्यो ।
सेप्टेम्बर २६–२८ मा श्रीलंकाको कोलम्बोस्थित श्रीलंका कार्टिङ सर्किटमा भएको च्याम्पियनसिपमा १८ राष्ट्रका २०४ खेलाडीहरू सहभागी थिए । नेपालका आशिष भारती ‘रोनी’ले अटो जिमखाना (पुरुष एकल) विधामा स्वर्ण पदक जितेर नेपालको नाम अन्तर्राष्ट्रिय मोटरस्पोर्टस्मा सुनौलो अक्षरमा लेखेका छन् । नेपालबाट विभिन्न इभेन्टमा गरी कूल ६ खेलाडी सहभागि भएकोमा आशिषले स्वर्ण जितेका हुन् ।
डेढ दशक देखि यो खेलमा लागेका आशिषले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर नेपालको झण्डा फहराउँदा गर्वको लागेको बताएका थिए ।
यस उपलब्धिले नेपालमा पनि मोटर स्पोर्ट्स हुन्छ भनेर धेरैलाई थाहा भएको थियो ।
नेपालमा मोटरस्पोर्ट्सको हेर्न नेपाल अटोमोबिल एसोसिएसन (नासा) राष्ट्रिय खेलकुद परिषद (राखेप) मा खेल संघकै रुपमा दर्ता छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतियोगिता सहभागी हुँदै आएपनि यो खेलको चर्चा अझै धेरै हुन सकेको छैन ।
सुमित्रा रेग्मी, भलिबल

सुमित्रा रेग्मी नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मिडल ब्लकर हुन् । भलिबल खेल्न थालेको छोटो समयमै सुमित्राले ठूलो छलाङ मारिसकेकी छिन् ।
राष्ट्रिय टिममा खेल्न थालेको छोटो समयमै उनी टिमको महत्वपूर्ण हिस्सा बनिसकेकी हुन् । राष्ट्रिय टिमसँगै सुमित्राले न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबबाट घरेलु भलिबल खेल्दै आएकी छिन् ।
उचाइले पनि साथ दिएकाले सुमित्राले सोही अनुसार कोर्टमा प्रदर्शन देखाउँदै आएकी छिन् । नेपाली राष्ट्रिय टिमको मिडल ब्लक पोजिसनमा सुमित्रा अहिले महत्वपूर्ण खेलाडीको रूपमा छिन् ।
यस वर्ष भने सुमित्राको लागि विशेष रह्यो । उनले फ्रेन्चाइज भलिबलमा कर्णाली यशविसको कप्तानी गर्दै लगातार दोस्रो पटक आफ्नो टिमलाई च्याम्पियन बनाइन् ।
कर्णाली यशविसले एभरेष्ट महिला भलिबल लिगमा लगातार दोस्रो पटक अपराजित रहेर उपाधि जित्दा सुमित्रा नै कप्तान थिइन् । अझ दोस्रो संस्करणमा टिम च्याम्पियन बन्दा सुमित्रा नै लिगको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् ।
यस बाहेक नेपालले माल्दिभ्समा भएको काभा महिला क्लब भलिबलमा नेपाल पुलिस क्लबको टिमबाट खेलेकी थिइन् । गत वर्ष नेपाल पुलिस क्लब च्याम्पियन हुँदा पनि खेलेकी सुमित्राले लगातार दोस्रो पटक पुलिस क्लबबाट अन्तर्राष्ट्रिय क्लब प्रतियोगिता खेलिन् । यस पटक भने पुलिस तेस्रो स्थानमै सीमित हुँदा सुमित्राले कांस्य पदक जितिन् ।
ब्लाइन्ड महिला क्रिकेट टिम

नेपाली महिला ब्लाइन्ड क्रिकेट टिमले वर्ष २०८२ मा ऐतिहासिक सफलता हात पार्यो । यसमा कुनै एक खेलाडी मात्र नभएर समग्र टिम नै स्टारको रुपमा रह्यो । अर्थात यस वर्षको स्टार टिम नै महिला ब्लाइन्ड क्रिकेट टिम रह्यो ।
पहिलो पटक भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना भएको ब्लाइन्ड महिला टी-२० विश्वकपमा नेपालले ऐतिहासिक प्रदर्शन गर्दै उपविजेता बन्यो ।
सुरुमा भारतसँगै नेपालले प्रतियोगिता आयोजना गर्ने भनिएपनि जेनजी आन्दोलनपछि नेपालले आयोजना गर्ने अवसर गुमायो । तर विश्वकपमा भने नेपालको प्रदर्शन उत्कृष्ट रह्यो ।
नेपालको पुरुष ब्लाइन्ड क्रिकेट टिमले यसअघि एकदिवसीय र टी-२० विश्वकप खेल्दै आएपनि महिला ब्लाइन्ड क्रिकेटको भने पहिलो पटक टी-२० विश्वकप आयोजना भएको हो । जसमा नेपाली महिला ब्लाइन्ड क्रिकेट टोलीले पनि विश्वकप खेल्दै इतिहास रच्यो ।
गीता पौडेलको कप्तानीमा रहेको नेपालले अस्ट्रेलिया, श्रीलंका, पाकिस्तानजस्ता टिमलाई हरायो । लिग चरणमा भारतसँग पराजित भएको नेपाल फाइनलमा पनि भारतसँग नै पराजित हुँदा उपविजेता बन्यो ।
भारतले ब्लाइन्ड क्रिकेटमा लगानी र प्रशिक्षण बढाउँदा नेपालमा भने ब्लाइन्ड क्रिकेटका लागि सीमित स्रोत र साधानकै भरमा खेल्नुपर्ने अवस्था छ ।
पूर्वाधार देखि बजेट लगानी धेरै कुरामा समस्याका बावजुद पनि नेपाली ब्लाइन्ड महिला क्रिकेटरले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई उपलब्धि दिलाएका हुन् ।
ब्लाइन्ड क्रिकेट जस्तै नेपालका अन्य पारा स्पोर्ट्सले पनि विभिन्न अन्तर्राष्ट्रिय सफलता दिलाउँदै आएका छन् ।
प्रतिक्रिया 4