३० चैत, काठमाडौं । मधेश प्रदेशमा जारी प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेश पहिलोपटक फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले दुई विभागीयसहित आठ टोलीलाई पाखा लगाउँदै आठौं संस्करणको पीएम कप क्रिकेटको फाइनलमा स्थान पक्का गरेको हो ।
फाइनलमा पुग्ने सुदूरपश्चिम पहिलो प्रादेशिक टिम हो । सन् २०१७ बाट सुरु भएको पीएम कपमा हालसम्म कुनै पनि प्रादेशिक टोली फाइलनमा पुग्न सकेको थिएन । हालसम्मका संस्करणमा विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ)को वर्चश्व रहँदैआएको थियो ।
तर, यसपटक सुदूरपश्चिमले विभागीय टोलीलाई पन्छाउँदै फाइनल यात्रा तय गरेको छ । यसपटक सुदूरपश्चिम पीएम कपको सर्वाधिक सफल टिम पुलिस र २ पटकको विजेता एपीएफलाई पराजित गर्न सफल भयो ।
पीएम कपका लागि धेरै खेलाडी भारतमा गएर तयारी गरेका कारण सफल भएको सुदूरपश्चिमका कप्तान शेर मल्ल बताउँछन् । ‘खेलाडीहरूले प्रतियोगिताका लागि व्यक्तिगत रूपमा निकै मेहेनत गरेका छन्,’ उनले भने ।
सातौं संस्करणसम्म आर्मी ७ पटक नै फाइनलमा पुगेको छ । पुलिस ४ र एपीएफ ३ पटक फाइनल खेलेका छन् । पुलिसले ३, एपीएफले २ र आर्मीले एक पटक उपाधि जित्दा एक संस्करण फाइनल खेल रद्द भई आर्मी र पुलिस संयुक्त रूपमा विजेता भएका थिए ।
केही वर्षअघिसम्म विभागीय टोलीसँग निरीह बन्ने प्रादेशिक टोलीले यसपटक भने विभागीय टोलीलाई नै पन्छाएर अगाडि बढ्न सफल भएका छन् । सुदूरपश्चिम र लुम्बिनीले पुलिस र एपीएफलाई हराउँदा गण्डकीसँग एफीएफ स्तब्ध बनेको थियो ।
पहिले विभागीय र प्रादेशिक टोलीबीच ठूलो भिन्नता देखिए पनि अहिले एनपिएल र अन्य लिगका कारण प्रादेशिक खेलाडीको आत्मविश्वास बढेको र खेलको स्तर पनि सुध्रिएको शेरको अनुभव छ ।
सुदूरपश्चिम फाइनलमा पुग्दा कप्तान शेरसहित हेमन्त धामी, नारायण जोशीसहितका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । हेमन्त २५ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको सूचीको शीर्ष स्थानमा र शेर २२ विकेटसहित तेस्रो स्थानमा छन् ।
नारायण ९ खेलबाट ३०३ रन बनाउँदै सर्वाधिक रन बनाउनेको सूचीमा पाँचौं नम्बरमा छन् । अभिषेक पाल र अशोक धामीजस्ता खेलाडीले पनि सुदूरपश्चिमलाई सम्हालिरहेका छन् ।
उपाधिका लागि अब सुदूरपश्चिमले आर्मीसँग खेल्नेछ । आर्मी प्रतियोगिताको एकमात्र अपराजित टोली हो । आर्मी पीएम कपका सबै संस्करणमा फाइनल खेल्ने एकमात्र टोली पनि हो ।
सुदूरपश्चिम नेपाली क्रिकेटको लागि उर्वर भूमि मानिन्छ । विनोद भण्डारीदेखि हाल राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरी सम्म सुदूरपश्चिमकै हुन् ।
सुदूरपश्चिमका खेलाडीहरू तीनवटै विभागीय टिममा छन् । त्यसका बावजुद पनि सुदूरपश्चिममा क्रिकेट ट्यालेन्टको कुनै कमी छैन ।
‘दबाब लिन्नौं’
फाइनलमा आर्मीसँग खेल्दा कुनै दबाब नलिई खेल्ने सुदूरपश्चिमका कप्तान शेर मल्लले बताए । ‘हाम्रो लक्ष्य फाइनल पुग्नु थियो । हामीसँग गुमाउनु केही छैन । पाउनु धेरै छ,’ उनले भने, ‘हामीले निडर क्रिकेट खेलेर यहाँसम्म पुगेका छौं । फाइनलमा पनि सोही मनस्थितिले खेल्नेछौं । हामीले ब्याट र बलको गेम खेल्ने हो ।’
‘निजी लगानीमा प्रशिक्षण’
पीएम कपअघिसम्म सुदूरपश्चिमका अधिकांश खेलाडी भारतमा प्रशिक्षण गरिरहेका थिए । कप्तान शेर मल्लका अनुसार भारतको प्रशिक्षण अधिकांश खेलाडीले आफ्नै खर्चमा गरेका थिए । जसको नतिजा मैदानमा देखिएको उनको भनाइ छ ।
विभागीय टोलीका खेलाडीहरू भने मासिक तलबभत्ता तथा प्रशिक्षणको व्यवस्था छ । प्रदेशका खेलाडीलाई त्यस्तो खालको व्यवस्था छैन ।
‘१०/१२ जना मुख्य खेलाडीलाई मासिक १५ देखि २५ हजारसम्मको तलब वा भत्ताको व्यवस्था गरिदिए प्रदेशका खेलाडीले डाइट र अभ्यासका लागि सहज हुन्थ्यो,’ कप्तान मल्लले भने ।
प्रतिक्रिया 4