News Summary
Generated by OK AI. Editorially reviewed.- वैशाख ५ गते बुटवल खस्यौली बजारमा रैथाने सिप, कला तथा उत्पादनको पहिलो समुदायस्तरको प्रदर्शनी आयोजना हुने भएको छ।
- प्रदर्शनीमा ५० भन्दा बढी स्टल, रैथाने सिप, हस्तकला, काष्ठकला, मौलिक खाद्य परिकार र सांस्कृतिक प्रस्तुति रहने आयोजकले बताए।
- डा. मानबहादुर विकेले रैथाने कला, सिपलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाव दिए ।
२ वैशाख, बुटवल । रैथाने (पुराना) सिप, कला र उत्पादनको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौं बाहिर पहिलोपटक बुटवलमा समुदायस्तरको रैथाने सिप, कला तथा उत्पादन प्रदर्शनी हुने भएको छ ।
‘हाम्रो पुर्खाको ज्ञान, हाम्रो देशको शान रैथाने सिप र कलाको जर्गेना हाम्रो अभियान’ नारासहित वैशाख ५ गते बुटवल ट्राफिकचोकस्थित खस्यौली बजारमा प्रदर्शनी हुने भएको हो ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, रुपन्देही र रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा हुने एकदिने प्रदर्शनीमा ५० भन्दा बढी स्टल, रैथाने सिप, हस्तकला, काष्ठकलाको प्रत्यक्ष प्रदर्शनी, मौलिक खाद्य परिकार,विभिन्न आदिवासी जनजातिका सांस्कृतिक प्रस्तुति र झाँकी आकर्षणका रूपमा रहने आयोजकले बुधबार सम्मेलनमार्फत जानकारी गराएका छन् ।
प्रदर्शनी अन्तर्गत सम्पदा पदयात्रा पनि हुने र प्रदर्शनीमा सहभागी हुने स्टलहरू र अवलोकनकर्ताबाट कुनै शुल्क नलिइने आयोजकले बताए ।
रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालका अध्यक्ष डा. मानबहादुर विकेले विश्व सम्पदा दिवसको अवसर पारेर काठमाडौं बाहिर पहिलोपटक रैथाने कला, सिप र उत्पादन प्रदर्शनी आयोजना गरिएको बताए ।
प्रदर्शनीले लोपोन्मुख रैथाने कला र सिपको संरक्षण,व्यवसायीकरण, सांस्कृतिक सम्पदाप्रति जनचेतना अभिवृद्धि र रोजगारी तथा आर्यआर्जनमा टेवा पुर्याउनुका साथै रैथाने उत्पादनको बजार पहुँच विस्तार गर्ने डा. विकेले बताए ।
डा. विकेका अनुसार हाल देशको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा रैथाने उत्पादनको ५ प्रतिशत योगदान रहेको छ । बुद्धका उपदेश पनि रैथाने ज्ञान भएको उल्लेख गर्दै डा. विकेले अब रैथाने कला, सिपलाई विद्यालयको पाठ्यक्रममा समावेश गरेर शिक्षासँग पनि जोड्न आवश्यक रहेको सुझाए ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष रेवन्त विश्वकर्माले आधुनिकताको नाममा देशका मौलिक रैथाने सिप र कला हराउँदै गएकोले त्यसको संरक्षण गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको बताए ।
प्रदर्शनीमा नेपालको ग्रामीण जनजीवनमा प्रयोग हुँदै आएका तर हाल लोप हुने अवस्थामा पुगेका मौलिक र परम्परागत वस्तु, औजार, संस्कृति, परम्परा र खाद्य परिकार लगायतको प्रदर्शनी र बिक्री हुने विश्वकर्माले बताए ।
खस्यौली बजारका अध्यक्ष समुन्द्र घिमिरेले हरेक शनिबार खस्यौली बजार सञ्चालन हुँदै आएको ठाउंमा रैथाने कला सिप र उत्पादन प्रदर्शनी आयोजना गरी भविष्यमा यसलाई मौलिक ब्राण्डको बजारका रुपमा नियमित सञ्चालन गर्ने योजना रहेको बताए । पुराना सिप,कला र उत्पादन देशको मौलिकता र स्वास्थ्यसँग पनि जोडिएकाले यसलाई तीनै तहका सरकारले प्राथमिकतामा राख्नुपर्ने घिमिरेले बताए
पत्रकार सम्मेलनमा इन्द्रेणी सांस्कृतिक कला केन्द्रका अध्यक्ष कृष्ण कंडेलले देशको मौलिक कला र सिप नै राष्ट्रको पहिचान र सम्पदा भएकाले यिनलाई जोगाउन राज्य नै लाग्नुपर्ने बताए ।
प्रदर्शनीमा नेपाल आदिवासी जनजाति महासंघ रुपन्देही जिल्ला र बुटवल उपमहानगर समितिले सहकार्य गर्ने इन्द्र राईले बताए ।
प्रतिक्रिया 4