News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरी बलमा रिक्त ७ डीआईजी पदका दाबेदारहरूलाई कार्यसम्पादनको सूची पठाउन सर्कुलर जारी गरिएको छ।
- डीआईजी बढुवाका लागि गृह सचिवको नेतृत्वमा समिति बन्ने र दाबेदारहरूले पावर पोइन्ट प्रस्तुति दिनुपर्ने तयारी भइरहेको छ।
- हाल १३ एसएसपीले ७ डीआईजी पदका लागि प्रतिस्पर्धा गरिरहेका छन् र लामो समयदेखि बढुवा रोकिँदा वृत्ति विकासमा असर परेको छ।
२ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) मा रिक्त ७ डीआईजी (नायव महानिरीक्षक) बढुवाका दाबेदारहरूलाई आफूले गरेका कामको सूची पठाउन सर्कुलर जारी गरिएको छ ।
सशस्त्र प्रहरी हेडक्वार्टरले दाबेदार एसएसपीहरूलाई गरेका कामको सूची पठाउन निर्देशन दिएको हो । सशस्त्र प्रहरी हेडक्वार्टर स्रोतका अनुसार निर्देशनअनुरूप दाबेदारहरूले कार्यसम्पादनको सूची सूची पठाइसकेका छन् ।
‘मन्त्रालयको निर्देशनअनुसार आफूले सम्पादन गरेका कार्यहरूको विवरण पठाउन हामीले बढुवाका दाबेदारलाई भनेका थियौं । उहाँहरूले आफूले सम्पन्न गरेको कार्यसूचीको विवरण पठाइसक्नुभएको छ,’ सशस्त्र हेडक्वार्टर स्रोतले अनलाइनखबरसँग भन्यो ।
योसँगै प्रस्तुतिका लागि पनि तयारी अवस्थामा रहन हेडक्वार्टरले निर्देशन जारी गरेको छ । बढुवा दाबेदारहरूलाई आफूले गरेका कामबारे प्रस्तुति र भावी दिनको कार्ययोजनासहितको प्रस्तुतिका लागिसमेत तयार रहन भनिएको स्रोतले बतायो ।
यसअघिसम्म भने सशस्त्रको बढुवामा कार्यसम्पादनको सूची पठाउने र प्रस्तुति दिनुपर्ने थिएन । जेनजी आन्दोलनपछि सम्पन्न निर्वाचनबाट बनेको सरकारले भने कार्यक्षमताका आधारमा बढुवा गर्ने भन्दै त्यहीअनुसार तयारी गर्न सशस्त्र हेडक्वार्टर हल्चोकलाई निर्देशन दिएपछि हल्चोकले यसको तयारी गरेको स्रोतले बतायो ।
सोही तयारीअनुसार बढुवाका दाबेदारहरूलाई चार दिनअघि आफूले गरेका कामको सूची पठाउन भनिएको थियो । डीआईजी बढुवाका लागि गृह सचिवको नेतृत्वमा समिति बन्छ । जहाँ गृह सचिवसँगै सशस्त्र आईजीपी र एक एआईजी सदस्य सचिव रहने व्यवस्था छ ।
यो समितिले बढुवा दाबेदारहरूलाई पावर पोइन्ट प्रिजेन्टेसन गर्नसमेत लगाउने तयारी गरेको स्रोतले बतायो । यसका लागि तयारी अवस्थामा बस्न भनिए पनि अहिलेसम्म मिति तोकेर बोलावट नभएको डीआईजी बढुवाका एक दाबेदारले बताए ।

पछिल्लो चार महिनादेखि सशस्त्रमा डीआईजी पद रिक्त हुँदै आएको छ । लामो समय बढुवा रोकिँदा डीआईजीले कमान्ड गर्ने कार्यालयहरू एसएसपीको भरमा चल्नुपर्ने अवस्था छ ।
गत २ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रमा तीन डीआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको थियो । प्रशासनतर्फ दुई र प्राविधिकतर्फ कानुनमा एक गरी तीन दरबन्दी थप भएको थियो ।
तीन दरबन्दी थप भएको करिब डेढ महिनापछि २३ पुसमा तीन डीआईजीहरू अनिवार्य अवकाशमा गएका थिए । त्यतिबेला डीआईजीहरू शम्भु सुवेदी, कमल गिरी र कुलबहादुर नेम्वाङ अवकाशमा गए ।
उनीहरू अवकाशमा गएसँगै रिक्त डीआईजीको संख्या ६ पुग्यो । १ फागुनमा अर्का डीआईजी कुमार न्यौपाने पनि अवकाशमा गए । न्यौपाने अवकाशमा गएसँगै रिक्त डीआईजीको संख्या सात पुगेको छ । उनी अवकाशमा गएको दुई महिना बितिसकेको छ । चार महिनादेखि रिक्त हुन थालेको डीआईजी पदमा अहिलेसम्म बढुवा हुन सकेको छैन ।
लामो समयदेखि गृह मन्त्रालयले डीआईजी बढुवाको प्रक्रिया रोक्दा वृत्ति विकासमा असर परेको छ । सुशीला कार्की नेतृत्वको सरकारकै पालामा रिक्त डीआईजी बढुवाको प्रक्रिया अघि बढाइएको थियो ।
तर, त्यतिबेला निर्वाचन लगायतका कामहरू भन्दै बढुवा रोकिएको थियो । त्यसपछि गठन भएको बालेन शाह नेतृत्वको सरकारले भने अहिले दाबेदारहरूको प्रस्तुतीकरण हेरेर बढुवा गर्न लागेको गृह मन्त्रालयले बताएको छ ।
लामो समयसम्म डीआईजीमा बढुवा नहुँदा डीआईजीले कमान्ड गर्ने कार्यालयहरू अहिले एसएसपीले कमान्ड गरिरहेका छन् ।
डीआईजीले कमान्ड गर्ने महेश्वरी बाहिनी सुर्खेत, वैद्यनाथ बाहिनी कैलालीको कमान्ड अहिले एसएसपीले गरिरहेका छन् । त्यस्तै, सशस्त्र प्रहरीको स्टाफ कलेजलगायत डीआईजी कमान्ड हुने ठाउँमा पनि एसएसपीले कमान्ड गरेका छन् ।
१८ वैशाखमा हालका सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी अवकाशमा जाँदैछन् । उनी अवकाशमा गएको अवस्थामा फेरि एक डीआईजीको दरबन्दी रिक्त हुन्छ ।
एआईजी नारायणदत्त पौडेल, वंशी दाहाल र गणेश ठाडा मगरमध्ये एक जना आईजीपी बन्ने छन् । त्यसपछि रिक्त एक एआईजीमा एक डीआईजीको बढुवा हुँदा अर्को एक डीआईजी पद रिक्त हुन्छ । नयाँ आईजीपी नियुक्त भएसँगै डीआईजीको बढुवा गर्ने हो भने झनै लामो समयसम्म दरबन्दी रिक्त हुने र वृत्ति विकासमा असर पर्ने देखिन्छ ।
बढुवाका लागि १३ प्रतिस्पर्धी
७ डीआईजीका लागि १३ एसएसपीबीच प्रतिर्स्धा हुने भएको छ । जसमा नेपाल प्रहरीमा भर्ना भएर सशस्त्रमा स्थानान्तरण भएर आएका प्रवीण कँडेलसहित १३ जना प्रतिस्पर्धामा छन् ।
बाँकी १२ जना भने सि.सं. २ का ब्याचीहरू हुन् । यो ब्याचबाट दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट एक वर्षअघि २०८१ फागुनमा डीआईजी भएका थिए ।
यही ब्याचबाट दिग्विजय सुवेदी, भुपेन्द्र केसी, कमल तिउसिना, निरकृष्ण अधिकारी, सुदिरजंग थापा, किरण बस्नेत, माधवप्रसाद पौडेल, राजेन्द्र खड्का, उद्धव न्यौपाने, नरेन्द्र सेन, शंकर खनाल र किरण ढुंगाना प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया 4