News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस क्लब आर्सनल लगातार दोस्रोपटक युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
- आर्सनलले दोस्रो लेगमा स्पोर्टिङ सीपीसँग गोलरहित बराबरी खेले पनि समग्रमा १–० को जितसहित अन्तिम चारमा पुगेको हो ।
- अब आर्सनलले फाइनल प्रवेशका लागि स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।
३ वैशाख, काठमाडौं । इंग्लिस क्लब आर्सनल लगातार दोस्रोपटक युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
दोस्रो लेगमा स्पोर्टिङ सीपीसँग गोलरहित बराबरी खेले पनि समग्रमा १–० को जितसहित आर्सनल अन्तिम चारमा पुगेको हो । पहिलो लेगमा काइ हाभेर्ट्जले गरेको निर्णायक गोल नै आर्सनलका लागि पर्याप्त बन्यो ।
एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले सुरुवात राम्रो गरे पनि पहिलो हाफमा स्पष्ट अवसर भने स्पोर्टिङले नै बनायो । फ्रान्सिस्को ट्रिन्काओ, पेड्रो गोन्काल्भ्स र गेनी कातामोले गोलका अवसर सिर्जना गरेका थिए । कातामोको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
दोस्रो हाफमा पनि स्पोर्टिङले दबाब बनाएको थियो । म्याक्सी अराउजोको अवसर नजिकैबाट बाहिरियो भने आर्सनलका लियान्द्रो ट्रोसार्डको हेडर पनि पोस्टमा लाग्यो ।
अन्त्यसम्म गोल हुन नसक्दा खेल गोलरहित बराबरीमा सकियो, तर पहिलो लेगको अग्रताले आर्सनललाई सेमिफाइनलमा पुर्यायो ।
आर्सनलले लगातार दोस्रोपटक च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको आफ्नो इतिहासमै पहिलोपटक हो । अब आर्सनलले फाइनल प्रवेशका लागि स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।
गत संस्करणको सेमिफाइनलमा आर्सनल पीएसजीसँग पराजित भएर बाहिरिएको थियो ।
प्रतिक्रिया 4