News Summary
Generated by OK AI. Editorially reviewed.- निर्माण तयारीमा रहेको फिल्म ‘महाराजधिराज’ मा पुरुषतर्फ पुष्प खड्का र महिलातर्फ केकी अधिकारी शीर्ष भूमिकामा अनुबन्धित भएका छन्।
- फिल्मको छायांकन वैशाख दोस्रो सातादेखि सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ र काठमाडौं, भक्तपुर, कीर्तिपुरमा पनि खिचिनेछ।
- निर्देशक परिच्छेद सेनको फिल्ममा नीर शाह, आर्यन सिग्देल, रमेश उप्रेती लगायतका सह–कलाकार रहेका छन् र छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा बन्न लागेको छ।
काठमाडौं । निर्माण तयारीमा रहेको फिल्म ‘महाराजधिराज’ ले धमाधम ‘कास्टिङ लाइनअप’ घोषणा गरिरहेको छ । पुरुषतर्फको शीर्ष भूमिकामा पुष्प खड्का यसअघि अनुबन्धित भैसकेका छन् ।
महिलातर्फको शीर्ष भूमिकामा पनि फिल्मले कलाकार पाइसकेको छ । शीर्ष भूमिका ‘महारानी’को रोलमा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएकी छन् । प्रेषित विवरणमा निर्माता विराज विष्टले यसबारे बताएका छन् ।
‘महाराजधिराज कि महारानीलाई सु-स्वागतम् ! यहाँको उपस्थिति र हौसलाका निम्ति म हृदयदेखि नै कृतज्ञ छु’ निर्माता विष्टले उल्लेख गरेका छन् ।
२०८३ साल केकीको लागि ब्यस्तताको वर्ष हुने छनक यसबाट मिल्छ । नयाँवर्षकै पहिलो दिन केकीले आफ्नो ब्यानरमा फिल्म ‘स्टेसन’ निर्माणको घोषणा गरेकी थिइन् । यसैवर्ष उनको होमप्रोडक्सन फिल्म ‘पेट्रोल पम्प’ पनि बन्दैछ ।
‘महाराजधिराज’ मा यसअघि पल शाह अनुबन्धित थिए । उनले बाहिरिएपछि निर्माताले खड्कालाई भित्राएका हुन् ।
‘महाराजधिराज’को पोस्टरले थ्रिलर वा ‘पिरियड ड्रामाको झल्को दिएको छ । वैशाख दोस्रो सातादेखि यो फिल्मको छायांकन हुने बुझिएको छ ।
परिच्छेद सेनले निर्देशन गर्ने फिल्ममा नीर शाह, आर्यन सिग्देल, रमेश उप्रेती, वर्षा राउत, उषा रजक, हिउँवाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेलजस्ता सह–कलाकार पनि छन् ।
छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ । त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानमा चलचित्र खिचिनेछ । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा फिल्म बन्न लागेको हो ।
निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट छन् ।
प्रतिक्रिया 4