४ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद भरत बहादुर खड्का निर्विरोध निर्वाचित भएका छन् । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सभापति पदमा खड्काको मात्रै मनोनयन परेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ ।
कांग्रेस सांसद मोहन आचार्य प्रस्तावक र सांसद जनकराज गिरीको समर्थनमा खड्काले बिहीबार समिति सभापति पदमा मनोनयन दर्ता गराएका थिए ।
त्यसअघि रास्वपा संसदीय दलको बैठकले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको थियो भने अन्य विपक्षी दल नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेका थिए ।
निर्विरोध निर्वाचित भएपछि खड्काले देशमा आर्थिक अनुशासनको अनुभूति हुने गरि काम गर्ने बताए । उनले मुलुकको विकासका लागि संघदेखि स्थानीय तहसम्म र विभिन्न निकायहरूमा आर्थिक अनुशासन वित्तीय सुशासन कायम राख्नुको विकल्प नभएको पनि धारणा राखे ।
यस्तै अख्तियार, सतर्कता केन्द्र र लेखा समितिलाई देखाएर ढिलासुस्ती गर्ने प्रवृति अब दोहरिन नदिने पनि प्रस्ट पारे ।
प्रतिक्रिया 4