४ वैशाख, पाँचथर । एक्जिम बैंक अफ इन्डियाको ऋण लगानीमा कालोपत्रेको काम सुरु भएको आठ वर्ष पुग्दा पनि राँके-रवि-भेडेटार सडक कालोपत्रे गर्ने कामले पूर्णता पाएको छैन ।
पाँचथरको दक्षिणी, इलामको उत्तरी क्षेत्र र धनकुटाका बासिन्दालाई यातायात सुविधा प्रदान गर्ने सडकको कालोपत्रे गर्ने काम अनिश्चित बनेको छ ।
भारतीय निर्माण कम्पनीले काम गरिरहेको आयोजनाको काम ‘होल्ड’ हुँदा हरेक वर्षामा यो क्षेत्रका बासिन्दाले सास्ती भोग्नुपरेको छ । सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने गरेको छ ।
कालोपत्रे सडकमा यात्रा गर्ने सो क्षेत्रको बासिन्दाको अपेक्षा ‘अन्योल’ बन्दै गएको छ ।
कामको प्रगति ६७ प्रतिशत भएको आयोजना प्रमुख आशुतोष कर्णले जानकारी दिए । १०० किलोमिटर सडक खण्ड मध्ये दुई लेयर कालोपत्रे १४ किलोमिटरमा भएको छ । १० किलोमिटर सडकको कालोपत्रे एक लेयरमात्र रहेको कर्णले जानकारी दिए ।
‘डिजेल, विटुमेन र चैतमा वर्षा भएकाले काम सुस्त भएको छ । सातौँ पल्टको म्याद जेठ–१६ गते सकिँदै छ’, कर्णले भने, ‘थप दुई वर्षको म्याद निर्माण कम्पनीले मागे पनि कुनै निर्णय भएको छैन ।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुसमा पाँचथरको रवि बजारमा कालोपत्रेको शिलान्यास गरेका थिए । चालु आर्थिक वर्षमा खासै काम हुन् सकेको देखिँदैन । स्टक्चर र सबबेसको धेरै काम सकिएकाले मुख्य गरी कालोपत्रे गर्ने काम बाँकी रहेको कर्णले जानकारी दिए ।
पाँचथरका फाल्गुनन्द, मिक्लाजुङ, इलामका देउमाइ, फाकफोकथुम, माङ्सेबुङ र धनकुटाको चौबिसे र साँगुरीगढीका विभिन्न गाउँहरू यो सडकले छुन्छ । सडक निर्माण भएको निक्कै लामो समयपछि कालोपत्रेको ठेक्का लागेको थिए ।
‘आयोजनाको काममा ढिलाइ भएकाले समस्या सृजना भएको छ । यो सडकले धेरै क्षेत्र समेट्ने गर्छ’, फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वृजहाङ आङ्देम्बेले भने, ‘स्थानीय तहका जनप्रतिनिधि मिलेर दबाब सृजना गर्ने पहल गर्दै छौँ ।’
सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला भएको ऋण सम्झौतामा यो सडक कालोपत्रे गर्ने काम पनि परेको थियो ।
२ डिसेम्बर २०२१ मा काम सक्ने गरी १९ नोभेम्बर २०१८ मा भारतीय ठेकेदार कम्पनी एफको इन्फ्रा टेक प्रालिसँग ठेक्का ३ करोड २६ लाख १८ हजार ५४१ अमेरिकन डलरमा कालोपत्रेका लागी सम्झौता भएको थियो ।
३६ महिनामा सक्ने सम्झौता भएको काम पटक पटक म्याद थपिदा पनि सकिएको छैन । अझै कति वर्षमा कालोपत्रे भइसक्ने हो भन्ने अन्यौलता रहेको सप्तमी बजारका मिलन राईको भनाइ छ ।
प्रतिक्रिया 4